संसदेश्वर महादेव र पूर्व सभामुखको व्यंगवाण

काठमाडौं। ‘मौसम पूर्वानुमान ठ्याक्कै मिल्न थालेको छ’ संविधान सभाका स्थायी अध्यक्ष सुवास नेम्वाङ्ग भन्छन्– ‘तर राजनीति र न्यायालयका बारेमा यसै हो भन्न सकिँदैन।’

पञ्चायतकालमा मौसमी समाचारमा रेडियो नेपाल हास्यको पात्र थियो। बिहान सात बजेको समाचार पछि रेडियोले मौसमको जे पूर्वानुमान गथ्र्यो, त्यो ठीक उल्टो हुन्थ्यो। आज पानी पर्छ भनेको छ भने दिनभर टन्टलापुर घाम लाग्थ्यो। मौसम सफा रहने छ भनेको दिन दर्के झरीले आँखा उघार्दैनथ्यो। 

Naach ghar

यतिबेला नेकपा एमाले संसदीय दलका उपनेता रहेका नेम्वाङ्गलाई पञ्चायतकालको त्यो मौसमी समाचारको खुब याद आउने गर्छ। उनी सम्झन्छन्– ‘हामी त्यतिबेला रेडियोको मौसमी खबरलाई ठट्टा रमाईलोको बिषय बनाउँथ्यौं। कसैलाई पनि मौसम पूर्वानुमानमाथि विश्वास हुँदैनथ्यो।’

समकालीन राजनीतिबारे चर्चा गर्दैगर्दा नेम्वाङ्गले व्यंग कसे– ‘आजको न्यायालय र राजनीति त्यस्तै भएको छ, जे होला भन्यो, हुन्छ ठीक त्यसको उल्टो।’

 सोमबार सुन्सान संसदीय दलको कार्यालयमा एक्लै आफ्नो चेम्बरमा बसिरहेका नेम्वाङ्गसँग समय नलिई नै पसेको सम्वाददातासँग उनले केही उध्दरण गर्न मिल्ने केही सुन्न मात्र मिल्ने बिषयमा चर्चा गरे। 

मौसमकै उदाहरणमा रमाउँदै नेता नेम्वाङ्गले समकालिन राजनीति र सरकारको सेरोफेरोमा चर्चा गरे। 

‘हेर्नोस्न’ पूर्वेली ठेट शैलीमा उनले भने– इथिक्स नै छैन, अनि इथिक्सले काम नगरेपछि त जे होला भनेको त्यो नहुँदो रहेछ नि!’ उनी मध्यरातमा बजेट चलाउन अपरिचित मान्छेलाई अर्थ मन्त्रालय छिराउने अर्थमन्त्री जनार्दन शर्मा र वर्तमान सरकारलाई

Deuba ko office

परमादेशको आधार दिने सर्बोच्च अदालतलाई तछार्दै थिए। 

‘हामी त राजीनामा आउला भनेर बाटो हेरिरहेका थियौं, उहाँ (अर्थमन्त्री शर्मा) बजेट पेश गर्न प्रतिनिधिसभामा आउनु भयो’ प्रतिनिधिसभाका पूर्व सभामुख नेम्वाङ्गले भने– ‘यस किसिमको अनैतिक काम मन्त्रीले गर्ने अनि प्रधानमन्त्री उसको संरक्षण गर्ने प्रवृत्ति भएपछि के होला, के नहोला भनेर कसरी अनुमान गर्ने, विश्वास कसरी गर्ने?’

अरु बिषयमा संसदको वैठक महिनौंसम्म अवरुध्द गर्ने तपाईंको पार्टीले नक्कली मान्छेले हस्तक्षेप गरेको बजेट चैं किन रोक्न नसकेको नि?

उपनेता नेम्वाङ्ग ‘नसके’को कुरा स्वीकार्न तयार भएनन्। भने– ‘आज मंगलबार त हामीले अर्थमन्त्री बहिष्कार नै गर्यों नि!’ सरकारका गलत क्रियाकलापलाई आफ्नो पार्टीले त्यत्तिकै नछाडेको उनको दावी छ।

राणाकालिन नाचघरमा २०४८ सालपछि केही वर्ष प्रतिनिधिसभाको वैठक बस्यो। त्यसअवधिमा राजनीतिले अनेक रुप र रंग देख्यो। प्रतिनिधिसभा बिघठनको होडबाजी नै चल्यो, सर्बोच्च अदालतले पनि कहिले सदर गरिदियो कहिले बदर। अहिले पनि राष्ट्रिय सभा भने त्यही पुरानो नाचघर र संसदेश्वर महादेवको मन्दिर उत्तरतर्फ चालु छ। संसद सचिवालयका तत्कालिन महासचिव जीवनलाल सत्यालले संसदेश्वर महादेवको मन्दिर स्थापना गराएका हुन्। एकपटक यिनै महादेवको दर्शन गरेर राष्ट्रिय सभाको अध्यक्ष हुन दौरासुरुवालमा ठाँटिएर आएका रमेशनाथ पाण्डे ओईलाएको फूलको गुच्छा र शुष्क ओठ लिएर

Oli ko rato vitta

विशालनगर फर्किएको घटना सम्झन्छन् संसद सचिवालयका राष्ट्रसेवक। 

संसदेश्वर महादेवको दर्शन गर्ने सत्ताकांक्षीको आवतजावत निकै पातलो भएको छ मन्दिर हातामा। मर्यादापालक र सेल्फीप्रेमीले आक्कलझुक्कल टेक्ने गर्छन् मन्दिरको मूलद्वार!

दमननाथ ढुंगानाले रोचक शैलीमा सञ्चालन गरेको प्रतिनिधिसभामा सत्ता र विपक्षको होडबाजी सादा शैलीमा हुँदैनथ्यो। कहिलेकाहीँ त पाखुरा सुर्कासुर्की नै चल्थ्यो भने कुनै कुनै सांसद बेञ्चमै चढेर सत्तापक्षलाई धम्क्याउँथे, एमालेका तत्कालिन सांसद कृष्णगोपाल श्रेष्ठको क्रान्तिकारिता प्रतिनिधिसभाका फर्निचरले राम्रैसँग चिन्न पाएका थिए भनेर सम्झन्छन् सचिवालयका कर्मचारी।

संसद सचिवालय परिसरमा अनेक सन्देशहरु छिपेका छन्, तिनलाई कोट्याउँदै गएमा रोचक घोचक कथाहरु जुर्मुराएर उठ्नेछन्।

कुनैबेला घुर्चाघुर्ची चल्ने संसदीय दलका कार्यालयहरु यतिबेला सुनसान छन्। नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा बालुवाटारबाटै राज्य सञ्चालन गरिरहेका छन्। राजकाज चलाउन उनलाई सिंहदरबार जान परेको छैन भने दलको कार्यालयमा झुण्डिएको उनको नेमप्लेटमा माकुराले घरजम गरिसकेको छ। 

विपक्षी दलका नेता केपीशर्मा ओलीलाई पनि दलको कार्यालय भन्दा बालकोटको बार्दली नै शोभायमान भैरहेको छ। माओवादी केन्द्रको दलको कार्यालयले नेता पुष्पकमल दाहालको पदचाप नसुनेको कति भयो भन्ने कुनै अभिलेख छैन। अरु ससाना दलका नेता शक्ति सन्तुलनको तराजु बोकेर कहिले बालुवाटार त कहिले बालकोट र खुमलटारको म्याराथुनमै रमाईरहेका देखिन्छन्। दलहरुको यस्तो प्रवृत्तिले संसदीय दलको कार्यालयको महत्व खल्लो हुँदै गएको देखिन्छ।

नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा कुनैबेलाका मुख्य सचेतक आनन्द प्रसाद ढुंगाना पुराना मित्र समीर घिमिरेसँग अतितप्रेमको चर्चा गरेर रमाईरहेका थिए। 

‘नेताजी के छ खबर?’ चल्तीको भाषामा उनको जवाफ थियो– ‘के हुनु र, जे छ देशको हालखबर त्यही छ हाम्रो पनि खबर!’ 


   
 

प्रतिक्रिया