सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो

विराटनगर । झापाको शिवशताक्षी नगरपालिका–१० का ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण रहस्यमय हुँदै गएको छ ।

प्रारम्भिक अनुसन्धानका आधारमा सुन कारोबारको प्रलोभन देखाएर योजनाबद्ध रूपमा हत्या गरिएको खुलेको छ । प्रहरीले घटनामा संलग्न दुई जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ ।

पहिलो भेट र योजना

काठमाडौंमा बस्दै आएका सरोज शर्माको चिनजान झापाका २७ वर्षीय सुनिल साहसँग भएको थियो । शर्माले सस्तोमा सुन पाइने र आफैंले पनि किन्ने, साथै काठमाडौंमा चिनेजानेकालाई पनि किनिदिने भन्दै कुरा गर्ने गरेका थिए । यही कुराबाट लोभिएर सुनिल र उनका भान्जा २३ वर्षीय राहुल साहले शर्मासँग भएको पैसा लुट्ने योजना तयार पारेको बताइएको छ । 

सुन देखाउने बहानामा अपहरण

गत कात्तिक ९ गते सुनिलले सरोज शर्मालाई फोन गरी भारतबाट ल्याएको सुन देखाउने बहानामा बोलाए । त्यसपछि उनीहरू अर्जुनधारा नगरपालिका–४ अन्तर्गत दहिझोडा सामुदायिक वनतर्फ गए । प्रहरीका अनुसार यही ठाउँमा तीनैजना पुगेपछि सुन देखाउने बहानामा विवाद भएको र त्यही बेला सुनिल र राहुलले योजनाबद्ध रूपमा शर्मामाथि हमला गरेका थिए ।

हत्याको क्रूर मोड

प्रहरी अनुसन्धानअनुसार, उनीहरूले हातमा रहेको हथौडाले सरोजको टाउकोमा प्रहार गरि हत्या गरे । त्यसपछि शवलाई लुकाउनका लागि उनीहरूले शर्माकै सवारी साधन बा.प्र.०१–३० च ७१९४ नम्बरको गाडीमा राखेर झापा गाउँपालिका–५, हुलाकी मार्गस्थित बिरिङ खोलाको पुलमुनि गाडेको प्रहरीको अनुमान छ । 

शव लुकाउने र गाडी जलाउने प्रयास

हत्या लुकाउनका लागि अपराधीहरूले शर्माको गाडी मेचीनगर–१३, निचाझोडा सिमसार क्षेत्रमा लगेर जलाएका थिए । प्रहरीले जनाएको अनुसार, उनीहरूले हत्या भएको पाँच दिनपछि अर्थात् कात्तिक १३ गते राति गाडी जलाएका थिए ।

शर्मा हराएपछि खोजतलास

कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका सरोज शर्माबारे परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजतलास सुरु भएको थियो । अनुसन्धानका क्रममा प्रहरीले कात्तिक १३ गते शर्माको गाडी जलिरहेको अवस्थामा फेला पा¥यो । त्यसपछि प्रहरीले सो क्षेत्र र सम्भावित ठेगानामा खोजी विस्तार गरेको थियो । 

शव फेला र घटनाको खुलासा

अन्तत: कात्तिक १५ गते राति १ बजे बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा शर्माको शव फेला पर्यो । त्यसपछि प्रहरीले शकको आधारमा सुनिल र राहुललाई नियन्त्रणमा लियो । प्रारम्भिक सोधपुछका क्रममा दुवैले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । पक्राउ र थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, घटनामा संलग्न अर्का एक जना भारतीय नागरिक अझै फरार छन् र उनको खोजी भइरहेको छ ।

पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया