आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०८२ पुस मसान्तसम्ममा १५औं महाधिवेशन गरेर निर्वाचनको तयारीमा लाग्नुपर्ने प्रस्ताव गरेका छन् ।

शुक्रबार काठमाडौमा उपलब्ध जिल्ला सभापति तथा पूर्व सभापतिहरुसँगको अनौपचारिक छलफलमा आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गरी नयाँ र ताजा नेतृत्वमा चुनावमा जानुपर्ने धारणा राखेका हुन् । ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन २०८२ मंसिर मसान्तभित्रै सम्पन्न गर्नुपर्ने बिषयमा धेरै पहिलेदेखि नै भन्दै आएको छु । अहिले समयको चाप, अवस्था आदिका कारण यदि ०८२ मंसिर मसान्तमा गर्न सकिएन भने कुनै पनि हालतमा २०८२ पुस मसान्तसम्म गरिसक्नुपर्छ,’ उनले भने । 

०८२ पुस मसान्तसम्मको तालिका बनाँउदा निर्वाचन आयोगको निर्वाचनले प्रकाशित गरेको तालिकासँग नबाझिने गरी बनाउने पर्ने उनको धारणा छ । ‘कांग्रेस अहिले एकतावद्ध, गम्भिर, जिम्मेवार, संयम भएर अघि बढ्नुपर्छ र पार्टीसँग सम्बद्ध सबैले राष्ट्र, जनता र लोकतन्त्रलाई प्राथमिकतामा राख्नुपर्छ विगतमा पार्टीले थुप्रै आरोहअवरोह ब्यहोरेकोले आगामी दिनमा एकता नै बल हो भन्ने भावनानुसार एक हुनैपर्छ र कसैले पनि मेरो गोरुको बाह्रै टक्का भन्ने सोच राख्नु हुँदैन्, डा. कोइरालाले भने ।

डा. कोइरालाले पार्टीमा एकता, मेलमिलाप चाहेको उल्लेख गर्दै  गुट, उपगुट र फु्टको अन्त्य गर्न आग्रह गरे । देशभरका इमान्दार, निष्ठावान् र निरन्तर क्रियाशील रहेका कार्यकर्ताहरुले पार्टीलाई बचाइरहेकाले सबैजना कांग्रेसको निर्णयको पर्खाइमा रहेकाले पार्टीले तत्कालै नयाँ निर्णय गर्नुपर्ने उनको जोड थियो ।

 

प्रतिक्रिया