पोखरा स्पोटर्स अवार्डको मनोनयन सार्वजनिक

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजनामा यही असार १८ गते पोखरामा हुन लागेको छैटौँ संस्करणको ‘पोखरा स्पोटर्स अवार्ड–२०७८’ को मनोनयन सार्वजनिक गरिएको छ ।

मञ्चले शनिबार चार विधाका उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरेको हो । खेलाडी तथा खेल क्षेत्रको विकासका लागि खेलाडीले गरेको प्रदर्शनका आधारमा मञ्चले अवार्ड वितरण गर्दै आएको छ । पछिल्लो एक वर्षका अवधिमा आफ्नो प्रतिभा प्रदर्शनका आधारमा विभिन्न विधामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए। 

सार्वजनिक गरिएको मनोनयनअनुसार वर्ष खेलाडी पुरुषमा ब्याडमिन्टनका विधान अधिकारी, करातेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का उत्कृष्ट तीनमा पर्न सफल भएका छन्। वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र करातेका सरगम कुमाल उत्कृष्ट तीनमा परेका छन्।

उदियमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू उत्कृष्ट तीनमा छानिए। उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोकी रेकमाया गुरुङ र टेनिसका नीरज थापा उत्कृष्ट तीनमा पर्न सफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए।

पोखरा स्पोर्टस् अवार्डमा प्रतिभा छनोट गर्न मञ्चले प्रतिभा छनोट उपसमिति गठन गरेको थियो । मञ्चका पूर्वअध्यक्ष विनोद लामिछानेको संयोजकत्वमा गठित समितिको सहसंयोजकमा सन्देश श्रेष्ठ र सदस्यमा विजय नेपाल रहेका थिए।

समितिले छनोट गरेकामध्ये वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षक विधामा उत्कृष्ट तीन मनोनयन सूची सार्वजनिक गरिएको हो । कूल सात विधामा अवार्ड वितरण गरिनेमा लाइफ टाइम अचिभमेन्ट अवार्ड, उत्कृष्ट खेलसङ्घ र उत्कृष्ट पत्रकारिता विधाको अवार्डको घोषणा पछि सार्वजनिक गर्ने महासचिव पौडेलले बताए।

पोखरा स्पोर्टस् अर्वाडअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कारस्वरुप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारको साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ । यसैगरी लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन विभिन्न समिति तथा उपसमितिमार्फत कामलाई तीव्रता दिइएको मञ्चले जनाएको छ । मञ्चले विसं २०७२ देखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ ।रासस

प्रतिक्रिया