भ्रष्टाचारीको ‘बुई’ चढेर सुशासनको नारा! 

विश्व फुटबल महासंघ (फिफा) ले भ्रष्टाचारी घोषित गरेको गणेश थापा आजभन्दा ४ वर्षअघि, २०७५ सालमा अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन हुँदै गर्दा आफ्नो साला मणि कुँवरलाई जिताउने उद्देश्यले नेकपा एमालेका अध्यक्ष केपी ओली कहाँ आर्शिवाद लिन पुगेका थिए।  

ओली निकट नेताहरू अहिले पनि भन्ने गर्छन्– पूर्व प्रधानमन्त्री ओली आफू कहाँ आउने व्यक्तिलाई सकभर खाली हात पठाउन चाहनुहुन्न। 

त्यसैले हुनुपर्छ, ओलीले मणिलाई अध्यक्ष बनाउने उद्देश्यले आफ्नै जिल्लाका पूर्व स्टार स्ट्राइकर हरि खड्कासँग संवाद गरेका थिए। तर, हरिले २२ वर्ष एउटा व्यक्तिलाई झेल्दा नेपाली फुटबलले भोग्नु परेको पीडा बयान गरे। लामो समय एउटै व्यक्ति पदमा रहँदा अन्तर्राष्ट्रिय फुटबलमा नेपालको बदनामी भएको, भ्रष्टाचारदेखि ‘म्याच फिक्सिङ’ सम्मको दाग बोक्नु परेको अवगत गराए।  

उनले पूर्व प्रधानमन्त्री ओलीलाई भनेका थिए– ‘हाम्रो अविभावक सोचेर र पूर्व फुटबल खेलाडी भएको नाताले हामीले गणेश थापालाई उहाँको प्रतिकूल अवस्थामा पनि सहयोग गर्यौं। तर, अब उहाँको छोरा–नाति र सालासाली बोकेर हिँड्ने पक्षमा छैनौं।’

हरिको धारणा बुझेपछि ओलीलाई यो ठम्याउन गाह्रो भएन, अब नेपाली फुटबल पुस्तान्तरणको चरणमा छ। यो वंशवादको दलदलबाट माथि उठ्न चाहन्छ। हरिको पूर्व प्रधानमन्त्रीसँगको यो संवाद धेरैका लागि अनौंठो र रोचक लाग्न सक्ला। तर, त्योभन्दा पनि रोचक एन्फाको असार ६ गते हुन लागेको चुनाव बन्दै छ। 

कारण, कुनै बेला थापाको नजिक मानिएका हरि खड्का जस्ता सुपरस्टार फुटबलमा पुस्तान्तरणको पक्षमा छन्। उनी भविष्यमा आफू र आफू जस्ता खेलाडीले व्यवस्थापनको अनुभव हासिल गरेर फुटबललाई नयाँ दिशा दिने अभियानमा छन्। तर, यसको ठिक उल्टो, कुनै बेला आफैंले भ्रष्टाचारी भन्दै अख्तियारमा मुद्धा दायर गर्न हिँडेका पंकज नेम्वाङ अहिले गणेश थापाको ‘बुई’ चढेर आगामी अध्यक्ष पदका लागि कर्मा छिरिङ शेर्पालाई चुनौती दिँदैछन्। उनी फेरि वंशवादको राजनीतिलाई नेपाली फुटबलमा हावी गराउने अभियानमा देखिएका छन्।  

२०३० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालीन सदस्य–सचिव कुमार खड्ग विक्रम शाहले २००८ सालमा स्थापना भएको नेपाल फुटबल संघ (नेफूसं) विघटन गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) गठन गरेका थिए। 

अदालतमा यसविरूद्ध केही समय मुद्दा पनि चलेको थियो। जसमा नेफूसंले मुद्दा जिते पनि तत्कालीन राखेप नेतृत्वले अदालतको फैसलाको मानमर्दन गर्दै एन्फालाई नै अगाडि बढायो। त्यसयता नेपाली फुटबल थापा परिवारको वरिपरी घुमिरहेको छ। २०३४ सालमा कमल थापालाई पहिलो पल्ट एन्फा अध्यक्ष नियुक्त गरिएको थियो। उनले २०४६ सालमा प्रजातन्त्र स्थापना नहुँदासम्म १२ वर्ष एन्फा अध्यक्षको कार्यभार सम्हाले। बीचको ५ वर्षको अवधिलाई छोडेर कुरा गर्ने हो भने २०५१ सालदेखि कमल थापाकै भाइ गणेश थापाले २२ वर्ष फुटबलमा एक्लौटी ‘राज’ गरे। 

एन्फा गठन भएको इतिहास कोट्याउने हो भने थापा परिवारले मात्र नेपाली फुटबलमा ३४ वर्ष ‘राज’ गरेका छन्। त्यसैले यो परिवारलाई ‘आफ्नै कारण’ फुटबलबाट बाहिरिनु परेको पीडा नेम्वाङभन्दा बढी थाहा हुनु जायज हो। यही कारण यसपालिको चुनावमा गणेश थापाले आफ्नो परिवारभन्दा बाहिरबाट आफैंलाई अख्तियारमा मुद्दा हाल्ने व्यक्तिमार्फत् फुटबलमा ‘जुवा’ खेल्न खोजेका छन्।  

तर, के उनी सफल होलान्? हिजो आफूलाई फुटबलको ‘डिक्टेटर’ बनाउन सहयोग गर्ने केही एन्फा पदाधिकारीलाई गोलबद्द गरेर उनी पंकज नेम्वाङको चुनावी अभियानमा उत्रिएका छन्। यसका लागि उनले फिफाले बारम्बार दिएको चेतावनीलाई समेत वास्ता गरेका छैनन्। 

फिफाको चेतावनीलाई थापाले मात्र होइन, नेम्वाङले पनि वास्ता गरेको देखिदैन। ६ महिनाअघि नेम्वाङ फिफाको निर्णयको बर्खिलाप गर्दै भद्रपुर विमानस्थलमा थापालाई स्वागत गर्न स्वयम् उपस्थित भएका थिए। चुनावी हत्कण्डाका लागि नेम्वाङलाई यो कार्य यतिबेला प्रिय लागेको छ। तर, के उनी फिफाको निर्णयको बर्खिलाप गएर नेपाली फुटबल सञ्चालन गर्न सफल होलान? 

चुनावमा हार र जित सामान्य प्रक्रिया हो। तर, युनाइटेड नेशन (युएन) भन्दा बलियो संस्थाले भ्रष्टाचारको मुद्दामा कार्यवाही गरेको व्यक्तिको ‘बुई’ चढेर सुशासनको कुरा गर्दा नेम्वाङलाई पटक्कै सुहाएको छैन। र, उनको सुशासनको नारा अमूर्त मात्र होइन, भद्दा गाली जस्तै देखिएको छ। 

किनभने गणेश थापालाई फिफाले फुटबल विकासका लागि आउने अनुदान दुरुपयोग गरेकै कारण कार्यवाही गरेको हो। फेरि उनले एन्फा पदाधिकारीको विश्वास नलागेर ९ करोड रुपैयाँ आफ्नै व्यक्तिगत खातामा राखेको बयान मिडियामार्फत् दिएका थिए। के नेम्वाङ, त्यही युगलाई पुनः फर्काउने अभियानमा लागेका हुन्? 

पछिल्लो समय गणेश थापासँग उनको बढेको हिमचिम, विशेषगरी फुटबलको सम्बन्धमा के हो? उनले नेपाली फुटबल समर्थकलाई, अझ उनको समर्थनमा भएका एन्फा पदाधिकारीलाई दिनु जरूरी छ। किनभने एन्फा अध्यक्ष पदका लागि चुनाव लड्दै गर्दा उनले थापासँग गोप्य सम्झौता गरेको कुरा बाहिर आएको छ। के हो, त्यो गोप्य सम्झौता? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता भएको मुद्दा फिर्ता लिने सम्झौता हो भने त्यो असम्भव छ। थापाको मुद्दा अहिले मुलतवीमा राखिएको छ। यो अब फुटबलको मात्र कुरा रहेन, यो जनचासोको विषय बनिसकेको छ। 

यसबाहेक अर्को सम्झौता थापाको छोराहरू मध्ये कसैलाई पदाधिकारी बनाएर नेपाली फुटबलमा प्रवेश गराउने हो भने नेम्वाङले अहिले नै सार्वजनिक गर्न सक्नुपर्छ। किनभने नेपालको एकमात्र अन्तर्राष्ट्रिय भ्रष्टाचारी गणेश थापा हुन्, उनको छोराहरू होइनन्। यदि नेम्वाङले यही विषयमा सम्झौता गरेकै हुन् भने उनले भन्न सक्नुपर्छ– गणेश थापाका छोराहरूले आफ्नो सामर्थ्यतासिद्द गर्न पाउनुपर्छ। 

किनभने यतिबेला हरि खड्का र पंकज नेम्वाङबीच देखिएको फरक भनेकै दृष्टीकोण हो। हरि वंशवादको दलदलबाट नेपाली फुटबललाई नयाँ दिशातर्फ डोर्याउन चाहन्छन्। त्यसैले कर्मा छिरिङ शेर्पापछि नेपाली फुटबल हाँक्न सयौं हरिहरू तयार भएर बसेका छन्। नेम्वाङको के हो मुद्दा? पुनः वंशवादतर्फ मोडिने कि, हरि जस्ता युवाहरूलाई पुस्तान्तरण गर्न पुलको काम गर्ने?  

प्रतिक्रिया