काठमाडौं। झापाको धुलबारीमा रहेको पाँचतारे होटल मेची क्राउनले भोटेकोशी बाढीबाट प्रभावित मानिसहरुको उद्धार, राहत तथा पुनःस्थापनामा योगदान गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २६ लाख रुपैयाँ सहयोग गरेको छ।
होटलका अध्यक्ष बलराम साकोटाले पर्यटन मन्त्री खड्क प्रसाद पौडेल ‘गणेश’लाई भेटेर सहयोग रकमको २६ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने उद्देश्यले होटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ।
विपद्को यस कठिन घडीमा पीडित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै गरिएको सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने अपेक्षा गरिएको अध्यक्ष सापकोटाको भनाई छ।
मेची क्राउन कोशी प्रदेशकै उच्च गुणस्तरीय सुविधा रहेको होटल मानिन्छ। यो होटल भारतीय पर्यटकमाझ विवाह र अन्य जमघटका लागि निकै लोकप्रिय मानिएको छ।
प्रतिक्रिया