काठमाडौं । प्रोफेसर अर्नोल्ड डिक्स अस्ट्रेलियाका प्रसिद्ध भूगर्भशास्त्री, इन्जिनियर, वकिल तथा भूमिगत संरचनारसुरुङ सुरक्षा विशेषज्ञ हुन्। उनी अहिले नेपालमा भइरहेको सुरुङ उद्धारमा पनि संलग्न छन्।
किन चर्चित छन्?
सिल्क्यारा उद्धारका नायक, २०२३ मा भारतको उत्तराखण्डस्थित सिल्क्यारा सुरुङमा ४१ जना मजदुर १७ दिनसम्म फसेका थिए। उनी उद्धार टोलीका प्रमुख अन्तर्राष्ट्रिय सुरुङ विशेषज्ञमध्ये थिए। जोखिमपूर्ण अवस्थामा उनले सुरक्षित उद्धार रणनीति बनाउन महत्वपूर्ण भूमिका खेले र अन्ततः ४१ जनै जीवित उद्धार भए।
केवल इन्जिनियर होइनन्
डिक्सको विशेषता उनको बहुआयामिक पृष्ठभूमि हो। उनी भूगर्भशास्त्र पढेका वैज्ञानिक, इन्जिनियर र अस्ट्रेलियाको उच्च अदालतकाका बारिस्टर समेत हुन्। उनी भूमिगत पूर्वाधार, सुरुङ निर्माण, जोखिम र सुरक्षा विषयका अन्तर्राष्ट्रिय विज्ञ हुन्।
अन्तर्राष्ट्रिय सुरुङ संस्थाको नेतृत्व
उनी अन्तर्राष्ट्रिय टनेल र भूमिगत स्पेस एशोशिएशनकाका पूर्व अध्यक्ष हुन्। भूमिगत संरचनाको सुरक्षा र जोखिम व्यवस्थापनमा उनलाई विश्वका अग्रणी विशेषज्ञमध्ये मानिन्छ।
अहिले नेपालमा किन छन्?
नेपालमा भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा मानिसहरू फसेको आशंकापछि डिक्सले नेपाली उद्धार टोलीलाई प्राविधिक सहयोग गरिरहेका छन्।
त्यसपछि उनी नेपाल आएर चिलिमे जलविद्युत् सुरुङको उद्धार अभियानमा नेपाली तथा भारतीय टोलीसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
विशेष कुरा के भने, नेपालमा दुई जना मजदुरलाई त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएपछि डिक्सले त्यसलाई मानवता र उद्धार क्षमताको असाधारण उपलब्धिका रूपमा प्रशंसा गरेका छन्।
उनको मूल दर्शन निकै सरल छ—सुरुङभित्र सम्पर्क नहुनु भनेको मानिस मरिसकेको प्रमाण होइन।
उनले नेपालबारे लेख्दै सुरुङलाई बाहिरको विनाशबाट केही हदसम्म सुरक्षित रहने इन्जिनियर इन्भायरेन्मेन्टका रूपमा व्याख्या गरेका छन्, जहाँ पर्याप्त हावा, तापक्रम र आश्रयका कारण मानिस लामो समयसम्म जीवित रहन सक्ने सम्भावना हुन सक्छ।
नेपालमा उनले के सिके?
उनले फेसबुकमा लेखेको अनुभवको अनुवाद यस्तो छ-
'अहिले नेपालमा हामी यस्तो परिस्थितिको सामना गरिरहेका छौँ, जुन मैले यसअघि कहिल्यै भोगेको थिइनँ।
एउटा उद्धार मात्र होइन—एकै समयमा, फरक–फरक स्थानमा भइरहेका सम्भावित उद्धारका अनेक प्रयास। प्रत्येक घटनासँग आफ्नै जोखिम छन्, आफ्नै अनिश्चितता छन्, र अझै पनि बचाउन सकिने जीवनहरू छन्।
यसले मलाई सिल्क्यारा सम्झाएको छ।
त्यहाँ ४१ जना मानिस भूमिगत थिए र हामीसामु एउटा असम्भवजस्तै देखिने काम थियो—उनीहरूलाई जीवितै घर फर्काउनु।
हामीले त्यो परीक्षा सामूहिक रूपमा पार गर्यौँ।
तर सायद एउटा ठूलो परीक्षा पार गर्दैमा परीक्षा सकिँदैन।
सायद, कहिलेकाहीँ एउटा ठूलो परीक्षा पार गर्नु भनेको हामीलाई अझ ठूलो जिम्मेवारी सुम्पिनु हो।
पश्चिमी परम्पराले यसलाई ‘कर्तव्य’ भन्न सक्छ- सफलता निश्चित नभए पनि, सही काम गर्नु हाम्रो जिम्मेवारी भएकाले हामी त्यसो गर्छौँ।
एसियाली परम्पराले यसलाई अझ शक्तिशाली एउटा अवधारणासँग जोड्छ—‘धर्म’। परीक्षा केवल हामी सफल भयौँ कि भएनौँ भन्ने होइन। परीक्षा त त्यतिबेला हुन्छ, जब बाटो झन् कठिन बन्छ, जिम्मेवारीहरू बढ्दै जान्छन् र परिणाम के हुन्छ भन्ने थाहा हुँदैन—त्यस्तो अवस्थामा पनि हामी सही काम गरिरहन्छौँ कि रहँदैनौँ।
सिल्क्याराले मलाई एउटा कुरा सिकायो- ‘असम्भावित’ र ‘असम्भव’लाई कहिल्यै एउटै नठान्नु।
नेपालले अहिले मलाई त्योभन्दा पनि ठूलो कुरा सिकाइरहेको छ—जब एकैपटक धेरै जीवनहरू हामीमाथि निर्भर हुन सक्छन्, तब आशा अनुशासनमा बदलिनुपर्छ, करुणा कर्ममा परिणत हुनुपर्छ र कर्तव्य सफलताको निश्चिततामा निर्भर हुनु हुँदैन।
पूर्व होस् वा पश्चिम, सिद्धान्त एउटै जस्तो लाग्छ।
हामीले बचाएका जीवनहरूले मात्र हाम्रो मूल्याङ्कन हुँदैनस हामीले त्याग्न अस्वीकार गरेका जीवनहरूले पनि हाम्रो मूल्याङ्कन गर्छन्।'
प्रतिक्रिया