जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान

डोटी । जिल्ला अस्पताल डोटीमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले उक्त अक्सिजन प्लान्टको एक कार्यक्रमबीच उद्घाटन गरेका छन् ।

प्लान्ट उद्घाटनका अवसरमा राज्यमन्त्री रैकाले अक्सिजनका लागि यहाँका नागरिकले भोग्दै आएका समस्या अब सधैँका लागि समाधान भएको बताए । उनले भने, “मानिसको जीवनमा अक्सिजन नभई नहुने भएकाले अक्सिजन नहुँदा डोटीमा निकै समस्या भएको थियो, अब अस्पतालमै अक्सिजन प्लान्ट जडान भएको छ । बिरामीलाई सहज हुने छ ।”

उनले जिल्ला अस्पतालको स्तरोन्नतिसहित आवश्यक वृत्ति विकासका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताए । गत आर्थिक वर्षमै जडान हुनुपर्ने भए पनि काम ढिलो भएका कारण हाल आएर प्लान्ट जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेश सरकारबाट अक्सिजन प्लान्ट जडानका लागि ८० लाख बजेट छुट्याइएको भए पनि ठेक्कामार्फत ६५ लाख २५ हजारमा जडान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजन प्लान्ट स्थापनासँगै अब अस्पतालमै अक्सिजन उत्पादन हुने छ । उक्त प्लान्ट २४ घण्टामा १४ किलोका १० वटा सिलिण्डर भर्न सक्ने क्षमताको रहेको अस्पतालका सूचना अधिकारी अमरसिंह भाटले जानकारी दिए । उनका अनुसार केही दिनभित्रमै अस्पतालका २५ बेडमा सिधा अक्सिजन आपूर्ति गरिने छ ।

विगतमा अक्सिजन अभावका कारण महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण जिल्लामा दर्जनौँले ज्यान गुमाएका थिए । आउने दिनमा कोरोनाजस्ता घातक रोगको प्रकोप देखिएमा बिरामीको उपचारमा सहजता होस् भन्ने उद्देश्यका साथ उक्त अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामै अक्सिजन प्लान्ट सञ्चालनमा आउनु खुसीको कुरा भएको स्थानीयवासी अमरबहादुर साउदले बताए ।

अक्सिजन प्लान्ट स्थापनासँगै अब जिल्ला अस्पताल डोटीले यहाँका धनगढी, नेपालगञ्जलगायतका सहरमा गएर अक्सिजन खरिद गर्नुपर्ने बाध्यता हटेको छ । जसका कारण अस्पतालले खरिददेखि ढुवानीसम्मको अक्सिजनमा गर्दै आएको खर्चमासमेत बचत अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट नीराजन श्रेष्ठले बताए ।

अस्पतालले ७०० रुपैयाँदेखि लिएर एक हजारसम्मका दरले सिलिण्डर खरिद गर्ने गर्दै आएको थियो । खरिद गरिसकेपछि पनि ढुवानी गर्दा त्यत्तिकै रकम खर्च लाग्ने समस्या पनि समाधान भएको छ ।

प्रतिक्रिया