चितवन मेडिकल कलेजको प्रयोगशालालाई आइएसओ मान्यता

चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पतालको प्रयोगशाला (सिएमसी ल्याब)ले अन्तर्राष्ट्रियस्तरको आइएसओ मान्यता प्राप्त गरेको छ । गुणस्तरीय सेवा प्रवाह गरेवापत प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको मान्यता प्राप्त भएको अस्पतालले जनाएको छ ।

अस्पतालका क्वालिटी म्यानेजर एण्ड एक्कुडेशन को–अर्डिनेटर राप्रसाद शर्माका अनुसार प्रयोगशालाले आइएसओ १५१८९ः२०१२ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय ल्याब्रोटेरी मानकीकरण निगम मान्यता शिक्षा अनुसन्धान र वैज्ञानिक सेवा केन्द्र (एइआरएसएससी)ले तोकेका मापदण्ड अस्पतालको प्रयोगशालाले पूरा गरेकाले सो मान्यता पाएको उनले जानकारी दिए ।

नेपालमा यसअघि छवटा प्रयोगशालाले यो मान्यता प्राप्त गरिसकेको जनाउँदै उनले भने, “मेडिकल कलेजहरूमा र उपत्यका बाहिर हामीले पहिलोपटक यो मान्यता प्राप्त गरेका हौँ ।”

प्रयोगशालाका निर्देशक डा सञ्जय यादवले भारतको भेलोरमा रहेको क्रिस्टियन मेडिकल कलेज (सिएमसी)मा प्रयोग हुने उपकरण, जनशक्ति र रिएजेन्ड नै यस कलेजले प्रयोग गर्दै आएको बताए ।

यसको प्रमाणपत्र नं ‘एमएलएस–००५’ रहेको छ । डा यादवले अस्पताल र प्रयोगशाला टिमको सबै सदस्यको लामो समयको मेहेनत र परिश्रमले आइएसओ प्राप्त गरेको बताए । प्रमाणपत्र पाउनका लागि अस्पतालले २५८ प्रकारका कागजात तयार पारेको थियो । अहिले ल्याब्रोटेरी मेडिसिन विभागअन्तर्गत अस्पतालमा साना–ठूला १२ वटा एकाइ सञ्चालनमा छन् ।

अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले अस्पतालले प्राप्त गरेको यो अन्तर्राष्ट्रिय मान्यतालाई सधैँ कायमै राख्ने बताए । उनले भने, “प्रयोगशालाबाट प्राप्त रिपोर्ट सधैँ गुणस्तरीय रहन्छ । त्यसमा कुनै पनि चिन्ता लिनु पर्दैन ।”

चितवनमा स्तरीय प्रयोगशाला सेवा भएसँगै अब राजधानी काठमाडौँ र विदेश पठाउनु नपर्ने उनको भनाइ छ । उनले भने, “अब यहाँको नमूना चर्काे शुल्क र लामो समय लगाएर विदेश परीक्षण गराउन पठाउनु पर्दैन ।”

प्रतिक्रिया