भारतीय कप्तान मितालीले लिइन् अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास 

दिल्ली। भारतीय राष्ट्रिय क्रिकेट टोलीकी कप्तान मिताली राजले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएकी छन्। उनले ट्वीटरमा एक ट्वीट गर्दै टेस्ट तथा एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेकी हुन्।

३९ वर्षीया मितालीले लेखेकी छन्, ‘मेरो करिअर समाप्त गर्ने सही समय हो भन्ने मलाई लाग्छ। टोलीको नेतृत्व प्रतिभाशाली युवा खेलाडीहरूले गरेको छ र भारतीय क्रिकेटको भविष्य उज्ज्वल छ।’

करिअरमा मितालीले १२ टेस्ट, २३२ एकदिवसीय र ८९ टी–२० अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गरिन्। उनले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल यस वर्षको सुरुमा भएको विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध खेलेकी थिइन्। तर, भारत तीन विकेटले पराजित भएपछि विश्वकपबाट बाहिरिएको थियो।

उक्त खेलमा मितालीले ८४ बलमा ६८ रन बनाएकी थिइन्, जुन उनको एकदिवसीय क्रिकेटमा ६३ औं अर्धशतक थियो। 

मितालीले यस फर्म्याटमा ७ शतकको मद्दतमा ५०.६८ को औसतमा ७ हजार ८०५ रन बनाएकी छन्। टेस्ट क्रिकेटमा उनले एक शतक र ४ अर्धशतकसहित ६९९ रन जोडेकी छन्।

‘प्रतिभाशाली युवा खेलाडी’ बनेर टी–२० क्रिकेटमा एक कदम पछि हटेकी मितालीले ३७।५२ को औसतमा २ हजार ३६४ रन बनाएकी छन्। यस अवधिमा उनले टी–२० अन्तर्राष्ट्रिय खेलमा १७ अर्धशतक बनाएकी छन्।

मिताली महिला अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १० हजार ८६८ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडी बनेकी छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि उनको नाममा छ। उनी महिला एकदिवसीयमा लगातार ७ अर्धशतक बनाउने पहिलो खेलाडीसमेत हुन्।
 

प्रतिक्रिया