जाडोमा किन आवश्यक छ योग ?   

 


-बिन्दा आचार्य


योग जाडो महिनामा मात्र होईन, हर मौसममा आवश्यक छ । सधै योग गर्दा निरन्तर यसको लाभ प्राप्त भैरहन्छ । चिसो मौसम वा जाडो महिनामा योग झन अपरिहार्य नै छ, जसबारे यो आलेखमा चर्चा गरिनेछ । योग भन्नाले शरीर स्वस्थ्य बनाउन गरिने योगाभ्यास, मनोभाव संन्तुलित बनाउन गरिने प्राणायाम र आत्मानन्दको लागि गरिने ध्यानको समग्र प्याकेज हो ।  योग विज्ञानले बताए बमोजिमको जीवनशैली अपनाउनेलाई योगी भनिन्छ । 


बल गरेर कसैलाई भोगी वा रोगी बनाउन सकिन्छ तर योगी वा जोगी बनाउन सकिन्न । जोगी बनेर घरबार छोडेर योगको मार्गमा हिड भन्नु मुर्खता हुनसक्छ । बरु मानिस जुन मार्गमा हिडीरहेको छ, त्यसमै योग अपनाउन प्रेरित गर्नुपर्छ । बाहिरको भोक नमेटिई भित्रको योग कहाँ ? 


मान्छेले आखा चिम्लेर स्वयं भित्र हेर्ने हो भने संसारमा आफ्नो भोक के के मा छ,  तुरुन्तै थाहापाईहाल्छ, जे जे भित्र छ त्यै त्यै फन्फनी फन्फनी घुमिरहेको हुन्छ । योग जातपात, धर्म, संम्प्रदाय, बर्ग, उमेर, भौगोलिक सिमाको संकिर्ण घेरा भन्दा माथी छ । योग सबैलाई काम लाग्ने सार्वभौम र सनातन विषय हो । 


शरीर सबैसँग हुन्छ, सबै स्वस्थ्य बन्न चाहन्छन् । श्वास सबैले फेर्छन् । श्वासको आयाम बढाउँदा सबैलाई फाईदा पुग्छ । भावना सबैसँग हुन्छ । भावसन्तुलनमा राख्नु सबैको लागि राम्रो कुरा हो। योग गर्न समय, उमेर,लिङ्ग, बर्गआदि केही कुराले छेक्न सक्तैन । आधुनिक चिकित्साले रोगको उपचार गर्छ, रोगको बारेमा परामर्श दिन्छ तर योगले स्वास्थ्यको परामर्श दिन्छ, विकार निस्कासन गर्छ, रोग नै लाग्न नदिने वातावरण तयार गर्दछ । 


जाडोमा योगको महत्व

manisha koirala 2

हिउद महिनामा जाडोका कारण शरीर निस्कृय हुन्छ । यसले शरीरमा आलस्य बढ्दै जान्छ ।  जसले गर्दा शरीरको तौल बढछ र शरीरमा बोसो बढन थाल्छ । परिश्रम कम हुँदा पसिना कम निस्किन्छ । हुस्सु कुहिरो, घाम ढिलो लाग्ने र चिसो सिरेटोका कारण मानिसहरु घर भित्रै बस्छन् । घरको काम नगर्ने यस्ता शहरीया विलासी ओछ्यान समेत छोड्दैनन् । शरीरका रक्तसंचार, श्वासप्रश्वास र स्नायुतन्त्रमा शिथिलता आउँछ । हातखुट्टा चिसा हुन्छन् । शरीर बाहिर निस्केका अंगहरु नाक, कान चिसा हुन्छन् । 


त्रिविकारमध्ये बाथ र कफको समस्या बढ्दछ । रगत बाक्लो हुन्छ । मुटु सम्बन्धी रोगले च्याप्छ । जाडो मौसममा ह्यदयघात,साईनस, कफ, टन्सील, रुघाखोकी,दम र निमोनिया हुने संभावना हुन्छ । अस्पतालमा यसप्रकारका विरामीको चाप बढ्छ । खासगरी किशोर किशोरी ओछ्यान वा सोफामा ब्लांकेट ओढेर डिजीटल डिभाईसमा झुमेका हुन्छन् । शारीरिक निष्कृयताले उनीहरुका हातखुट्टा चिसा हुन्छन् । स्वस्थ्य मानिसको लक्षणका सम्बन्धमा हिन्दीमा एउटा भनाई छ, हातपाँउ गरम, पेट नरम र शिर ठंडा हुनुपर्दछ । राम्रोसँग रक्तसंचार नभएकाले शरीरको केन्द्रबाट टाढा रहेको हात र खुट्टामा पर्याप्त प्राणशक्ति नपुगेका कारण यो चिसो हुने हो । 


जस्तोसुकै जाडोमा पनि शरीरको गर्मी बनाईराख्न योग भन्दा अर्को उत्तम विकल्प छैन । बाक्ला लुगा लगाउनु, सिरक ब्लांकेट ओढ्नु, पटक पटक तातोपानी चिया कफी पिउनु, आगो ताप्नु, हिटर र एयरकन्डिसनको तातोमा भर पर्नु सबै बाहिरबाट न्यानो प्राप्त गर्ने प्रकृया हुन् । शरीरको आफ्नै तापबल नभए पछि बाहिरका सुविधा जतिसुकै थोपरे पनि जाडो भई नै रहन्छ । भित्रबाट शरीरको तापक्रम बढाउन योग गर्नु अति आवश्यक छ।योग अन्तर्गत गरिने शक्ति संचालन, योगासन, प्राणायाम र ध्यानको अभ्यासबाट शरीरमा तापबल प्राप्त हुन्छ । योग गर्दागर्दै योग अभ्यासीले यो कुरा अनुभव गर्न सक्छन् । 


योगका सिद्ध पुरुषहरुले कम भन्दा कम कपडा लगाउने कारण यही नै हो । शरीर कति मजबुत भएको हुन्छ भने जाडो र गर्मीबाट उनीहरु अप्रभावित रहन्छ । सबैभन्दा प्राकृतिक र निःशुल्क उपाय भनेको घाम ताप्ने र योग गर्नु नै हो । सूर्यकिरण ताप्नु । योगबलबाट शरीरमा न्यानोपन कायम राख्नु बढी लाभदायक छ । शरीरमा न्यानोपनको सन्तुलन सूर्य नाडीले गर्दछ । सूर्यभेदी प्राणायामले सूर्य नाडी सक्रिय बनाउँछ । कपालभाती प्राणायामले पेटको अग्नी जठराग्नी सक्रिय बनाउँछ ।

भस्त्रिका प्राणायाम र नमस्कार प्राणायामले पुरै शरीरमा तापमान प्रशारित गर्दछ । शरीरमा भित्रैबाट तापमान सन्तुलित भएमा चिसोको एलर्जी, श्वासप्रश्वासको संक्रमण, गलाको खोकी, सर्दीज्वरो, रुघा, पिनास आदिबाट मुक्ति मिल्छ । योगले शरीर सुगठित बनाउने मात्र होईन प्राणशक्ति सुदृढ हुन्छ । आन्तरिक अङ्गहरु सबल बन्छन् । अन्तष्करणमा दृढता प्राप्त हुन्छ । मनोभाव सन्तुलित हुन्छ । स्नायुतन्त्र, नाडीतन्त्र, श्वासतन्त्र, रक्तसंचार लगायत शरीरका सबै प्रणालीलाई सक्रिय र सन्तुलित बनाउँछ । 


जाडो मौसममा बाहिर हुस्सु कुहिरो लाग्छ । श्वासमार्फत फोक्सो र मस्तिष्कमा चिसो पस्छ । हिड्ने सुरक्षित पेटि नभएकोले मर्निङ्ग वाकमा निस्कनु ठिक मानिएको छैन् । वायु प्रदुषणका कारण शहरिया क्षेत्रमा बाहिर हिड्न उपर्युक्त नभएको मेडिकल चिकित्सकले अनुरोध गरिरहेका छन् । चिकित्सकले बरु घरमै बसेर योगध्यान गर्नुस् भनेर योग केन्द्रहरुमा रिफर गरेका ब्यक्तिहरु जीवन विज्ञान प्रतिष्ठानद्धारा संचालित योगध्यान प्रयोगशालामा जोडिन आएका छन् । 


जाडोमा हात, खुट्टा, कान, नाक चिसो हुने र रातो हुने गर्छ । योग गर्ने मान्छेका हातखुट्टा ताता हुन्छन् । शरीर चिसो हुने समस्या झेल्नु पर्दैन । योगाभ्यास गर्नु अगाडि शरीर तताउँन्, जीवन उर्जा उर्ध्वगमन गराउन योगिङ जगिङ गरिन्छ, यसलाई शक्तिसंचालन भनिन्छ । जस्तोसुकै जाडोमा पनि यो क्रिया गर्दागर्दै पुरै शरीर तातेर आउँछ । अनुहार तापको रापले धपक्क हुन्छ । 


जाडो महिनामा योग नै किन बढी महत्वपूर्ण छ भन्ने तथ्य वायु प्रदुषणका केही आकडाले प्रष्ट पारेको छ । चिसो मौसममा वायु प्रदुषण बढ्न थाल्छ । सामान्यतया वायु गुणस्तर मापन १०० वा सो भन्दा कम हुनुपर्नेमा वायु प्रदुषण मापन केन्द्रले भने अनुसार काठमाडौं उपत्यकालगायत अन्य प्रमुख शहरी क्षेत्रमा १५०– २०० को हाराहारी छ । हावामा मिसिने धुलोको कण नाप्ने सूचक पिएम १० को मात्रा ११३ र कार्वन मनोअक्साईड सल्फर नाईट्रोजन अक्साईड जस्ता हानिकारक ग्यासको मात्रा मापन गर्ने पिएम २.५ को मात्रा १०६.९ माईक्रोग्राम (क्युविक मिटर) मापन गरिएको छ । 


जाडो मौसममा हावा चिसो हुन्छ, चिसो हावाको घनत्व बढी हुन्छ । तातो हावाजस्तो सहजै उडेर जान सक्दैन् । चिसोले रक्तनलीलाई खुम्च्याउँछ । यसले गर्दा रक्तचाप बढ्ने संभावना हुन्छ । रक्तचापमा बृद्धिले हृदयघातको संभावना रहन्छ । यस्तो प्रदुषणले एलर्जी, हृदयघात, मधुमेह जस्ता समस्या हुने गर्छ । ग्लोवल एयर रिपोर्ट, २०२० ले प्रत्येक बर्ष नेपालमा ४२ हजार १०० जनाको प्रदुषणको कारण मुत्यु हुन्छ भनेको छ । प्रदुषणको कारणले हुने मुटुरोग लाग्ने कारणमा २४ प्रतिशत र फोक्सोको रोगलाग्ने कारणमा ६६ प्रतिशत वायु प्रदुषणको हात हुन्छ । अतः धेरै जनालाई एकोहोरो हिडिरहने मर्निङ्ग वाक सजिलो लागे पनि वायु प्रदुषण भएको ठाँउमा मर्निङ्ग वाक गर्नु उपयुक्त छैन । 


धेरैलाई शारीरिक र मानसिक रुपमा सक्रिय र स्वस्थ्य बन्न योग गर्नुपर्छ भन्ने थाहा छ । कोठाभित्र बसेर गर्न सकिने विधि भए पनि योग गर्दा विभिन्न क्रिया गर्न झन्झट लाग्छ ।  बरु एकहोरो हिड्न सजिलो हुन्छ भन्ने कुरा ब्यक्त गरेको पाईन्छ । मर्निङ वाकमा हिड्दा शरीर त हिडिरहेको हुन्छ, मन भने बाहिरका कुरामा केन्द्रित हुन्छ ।  अनि यसबाट पाउनुपर्ने जती लाभ प्राप्त हुँदैन । योग गर्दा मन, शरीर र चेतनालाई एकत्रित गराउने प्रयास गरिन्छ । मन, शरीर र चेतना एक भई कुनै कर्म गर्दा त्यसको कर्मफल पूर्णतामा उपलब्ध हुन् । योगले तनोवल, मनोवल, भाववल, चित्तवल र आत्मावल बढाउँछ । रोग प्रतिरोधी क्षमता बढाउँछ । 
(लेखक जीवन विज्ञानमा योगध्यान साधक तथा प्रशिक्षक हुन् ) 
 

प्रतिक्रिया