योगी सरकारको आर्थिक बजेट ६,१५,५१८.९७ करोड

लखनउ। भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेश (युपी) को बजेट १ ट्रिलियन डलर पुर्याउने लक्ष्य योगी सरकारले राखेको छ। दोस्रो पल्ट प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि योगी सरकारले बजेट सार्वजनिक गरेको हो।  

बिहीबार अर्थमन्त्री सुरेश खन्नाले६.१५,५१८.९७ करोड  रुपैयाँको बजेट सार्वजनिक गरे। ९० मिनेटमा सम्पन्न बजेट भाषण पेपरलेस थियो। यसलाई एप्पल कम्प्युटरबाट पढेर सुनाएका थिए। याेगी सरकारले प्रस्तुत गरेकाे हालको बजेट अखिलेश यादवको सन् २०१६–१७ काे बजेट भन्दा दुइ गुणा बढी हो। अखिलेशले त्यतिबेला ३ लाख ४६ हजार ९ सय ३५ करोडको बजेट प्रस्तुत गरेका थिए। 

बजेट भाषणमा १० हजार नयाँ पदमा नर्सको भर्ति खोल्ने जानकारी गराइयो। यस्तै सूचना तथा टेक्नोलोजी क्षेत्रमा ४० हजार करोड रुपैयाँ निवेशको लक्ष्य राखिएको छ। यसमार्फत ४ लाख युवालाई रोजगारी दिने घोषणा सरकारले गरेको छ। 

मुख्यमन्त्री ग्राम रोजगार योजनाअन्तर्गत १६ हजार मानिसलाई रोजगारी, माध्यमिक शिक्षामा शिक्षक चयनका लागि ४० हजार ४ सय २ शिक्षक भर्ति गर्ने बताएको छ। 

प्रदेशका युवावर्गलाई सक्षम बनाउन ५ सालमा २ करोड स्मार्ट फोन र ट्याबलेट बाँड्ने योजना रहेको छ। वाराणसीमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थापनाका लागि ९५ करोड रुपैयाँको व्यवस्था र मेरठमा मेजर ध्यानचन्द खेल विश्वविधालय स्थापनाका लागि ५० करोड रुपैयाँको व्यवस्था गरिएको छ। 

यस्तै, किसानका लागि फ्रि सिचाई, धानको न्युनतम समर्थन मुल्य १९४० रुपैया र गहुँको २०१५ रुपैयाँ प्रति कुइन्टल तोकिने बताएको छ। किसानको दुर्घटनामा निधन वा अंगभंग भएमा परिवारलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने सरकारी घोषणा भएको छ। सिचाईका लागि गाउँमा यही आर्थिक वर्ष १५ हजार सोलर पम्प फिट गरिने बताइएको छ। 
 

प्रतिक्रिया