महाशक्ति कूटनीतिको केन्द्रमा बेइजिङ

ट्रम्प र पुटिनको लगातारको भ्रमण: एउटै रातो कार्पेट, दुई फरक सन्देश

बेइजिङ। एक क्षणका लागि, यो दृश्य पहिले नै देखिसके जस्तो लागेको थियो।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग गरेको भेटघाटको केही दिनपछि नै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि बुधबार (मे २०) ग्रेट हल अफ द पिपुल बाहिर २१ तोपको सलामी, झण्डा हल्लाउँदै गरेका बालबालिकाका लहर र 'न्यानो स्वागत' का नारासहित त्यस्तै भव्यता र समारोहका साथ स्वागत गरियो।

तर विश्लेषकहरू भन्छन्, समानता त्यहीँ सकियोस् ट्रम्पको भ्रमण विश्वकै सबैभन्दा महत्त्वपूर्ण प्रतिस्पर्धामा रहेका दुई देशबीचको तनाव व्यवस्थापन गर्ने विषयमा केन्द्रित थियो भने, यसको विपरीत पुटिनको भ्रमण चीनको सबैभन्दा महत्त्वपूर्ण रणनीतिक साझेदारीलाई पुनस् पुष्टि गर्ने बारेमा थियो। र ट्रम्पको भ्रमणको विपरीत, पुटिनको यात्राको समापन केही दिन अघि स्पष्ट रूपमा अनुपस्थित रहेको कुरासँग भयो: एक औपचारिक हस्ताक्षर समारोह र संयुक्त वक्तव्य।

जबकी यो समय पूर्ण रूपमा बेइजिङको योजना अनुसार नभएको हुन सक्छ, तर यसको दृश्य प्रभावलाई नजरअन्दाज गर्न गाह्रो थियोस् विश्वका दुई सबैभन्दा बढी ध्यान खिचिएका नेताहरू केही दिनको अन्तरालमा चीन आइपुग्नु।

यसको परिणाम एउटा यस्तो दुर्लभ कूटनीतिक दोहोरो भूमिकाका रूपमा देखियो, जसले बेइजिङलाई वासिङ्टन र मस्को दुवैले सहकार्य गर्नुपर्ने आधार भएको शक्तिका रूपमा उभ्याए।

'अमेरिकी र रुसी नेताहरूलाई लगभग एकै समयमा आतिथ्य सत्कार गर्दा यसको खुद प्रभावले सम्भवतः सीको छवि बढाउँछ,' डिकिन युनिभर्सिटीको सेन्टर फर फ्युचर डिफेन्स एन्ड नेशनल सेक्युरिटीका सह-प्राध्यापक माइकल क्लार्कले भने।

'यसले चीनलाई एउटा यस्तो शक्तिको रूपमा प्रस्तुत गर्दछ, जसलाई व्यवस्थाका अन्य महाशक्तिहरूले आफ्नो पक्षमा पार्न, सहयोग गर्न वा सम्झौता गर्न खोज्छन्,' क्लार्कले भने।

एउटै रातो कार्पेट, दुई फरक सन्देश

विश्लेषकहरूका अनुसार यो समय संयोग मात्र हुन सक्छ, तर ट्रम्प र पुटिनको लगातारको भ्रमणको दृश्य प्रभाव निकै उल्लेखनीय थियो।

भूराजनीतिक जोखिम सल्लाहकार फर्म 'ग्रास्प' का संस्थापक फिलिप इभानोभले पुटिनको भ्रमण चीन-रुस भद्र-छिमेकीपन र मैत्रीपूर्ण सहयोग सन्धिको २५औं वार्षिकोत्सवसँग जोडिएको बताए, जस अन्तर्गत दुवै पक्षले आफ्नो ४,३०० किलोमिटरको सीमानामा क्षेत्रीय दाबीहरू त्यागेका थिए, जसले पछिल्लो वार्ताको बाटो खोलेको थियो र घनिष्ठ सम्बन्धको जग बसालेको थियो।

यसको विपरीत, ट्रम्पको बेइजिङ भ्रमण इरान युद्धका कारण ढिलो भएको उनले उल्लेख गरे।

इभानोभले भने, 'यसले चीनको केन्द्रीयता र महत्त्वको दृष्टिकोणलाई केही हदसम्म सुदृढ बनाउँछ,' र थपे कि वर्तमान उच्च भूराजनीतिक प्रतिस्पर्धाको वातावरणमा बेइजिङले 'आफ्नो कूटनीतिक तास धेरै राम्रोसँग खेलेको छ।'

विश्लेषकहरूले औंल्याए अनुसार यी दुई भ्रमणले बेइजिङलाई धेरै फरक प्रकारका कूटनीतिक फाइदाहरू दिएका छन्। चिनियाँ र रुसी विवरणहरूका अनुसार, चीन र रुसले रणनीतिक समन्वयलाई गहिरो बनाउने विषयमा संयुक्त विज्ञप्ति जारी गरे। यसको प्रतीकात्मकता अझ गहिरो थियोस् यस वर्ष बेइजिङ र मस्कोले आफ्नो रणनीतिक साझेदारी स्थापना गरेको ३० वर्ष पुगेको छ।

दुवै पक्षले सहयोग सम्बन्धी सम्झौताहरूको थुप्रोमा हस्ताक्षर पनि गरे, जसमा रुसी राज्य नियन्त्रित सञ्चारमाध्यम स्पुतनिकले यसको संख्या ४२ रहेको बताएको छ। यसमा व्यापार, प्रविधि, सञ्चारमाध्यम र ऊर्जा जस्ता क्षेत्रहरू समेटिएका थिए।

ऊर्जा मुख्य केन्द्रविन्दु थियो। रुसी अधिकारीहरूले मस्को र बेइजिङ लामो समयदेखि चर्चामा रहेको 'पावर अफ साइबेरिया २' ग्यास पाइपलाइनको कार्यान्वयनलाई गति दिन सहमत भएको बताए, जसले मंगोलिया हुँदै पश्चिमी साइबेरियाबाट चीनमा रुसी ग्यास पुर्‍याउनेछ।

तर यो परियोजना अझै पनि अन्तिम व्यावसायिक सम्झौता हुन बाँकी देखिएको छ, जसमा मूल्य निर्धारण जस्ता मुख्य विवरणहरू तय हुन बाँकी छ। चिनियाँ विवरणहरूले 'पावर अफ साइबेरिया २' को सिधा नाम उल्लेख गरेनन्। रुसी प्रतिनिधिमण्डलको आकारले पनि मस्कोले यस भ्रमणलाई कति व्यावहारिक वजन दिएको थियो भन्ने कुरा संकेत गर्थ्यो।

रुसी अधिकारीहरूले पुटिनको साथमा पाँच उपप्रधानमन्त्रीहरू- डेनिस मान्तुरोभ, तातियाना गोलिकोभा, अलेक्ज्याण्डर नोभाक, युरी ट्रुटनेभ र दिमित्री चेर्निसेन्को- का साथै विदेश मन्त्री सेर्गेई लाभरोभ, अर्थमन्त्री एन्टोन सिलुआनोभ र आर्थिक विकास मन्त्री म्याक्सिम रेसेतनिकोभ लगायतका वरिष्ठ अधिकारी र मन्त्रीहरू सम्मिलित टोली रहेको बताए।

डिकिन युनिभर्सिटीका क्लार्कले चिनियाँ कभरेजमा प्रयोग गरिएको 'पुराना साथीहरू' को भाषा, चिया कूटनीति, फोटो खिचाउने अवसरहरू र हस्ताक्षरित सम्झौताहरूलाई औंल्याउँदै पुटिनको भ्रमण बढी घनिष्ठ र परिणाममुखी देखिएको बताए।

यसको विपरीत, भूराजनीतिक जोखिम परामर्शदाता ग्रास्पका इभानोभले नोट गरे अनुसार ट्रम्पको भ्रमण बेइजिङले धेरै महत्त्वपूर्ण र धेरै उतारचढावपूर्ण मान्ने सम्बन्धलाई स्थिर बनाउने बारेमा थियो, विशेष गरी व्यापार, निर्यात नियन्त्रण र ताइवानको मुद्दामा।

चीनको विवरणमा, सी र ट्रम्प 'रचनात्मक रणनीतिक स्थिरता' मा आधारित सम्बन्ध निर्माण गर्न सहमत भए, जुन ढाँचाले आगामी तीन वर्ष र त्यसपछिको सम्बन्धलाई मार्गदर्शन गर्ने बेइजिङले बताएको छ।

अमेरिकी पक्षले भने ठोस परिणामहरूमा बढी ध्यान दियो। ट्रम्पले व्यापार र व्यावसायिक परिणामहरूको प्रशंसा गरे, जबकि अमेरिकी अधिकारीहरूले दुवै नेता स्ट्रेट अफ हर्मुज खुला रहनुपर्ने र इरानले आणविक हतियार प्राप्त गर्नु हुँदैन भन्ने कुरामा सहमत भएको बताए।

'महाशक्ति थिएटर'

बेइजिङका लागि, यी दुई भ्रमणले एउटा व्यापक सन्देश पनि बोकेका थिए: चीनले मस्कोसँगको आफ्नो रणनीतिक निकटतालाई खुकुलो नबनाई वासिङ्टनसँग उच्च स्तरमा संलग्न हुन सक्छ।

इभानोभले ट्रम्पसँगको बैठक तनाव कम गर्ने उद्देश्यले गरिएको र चीन र अमेरिकालाई समान रूपमा प्रस्तुत गर्ने ूएक निकै गम्भीर र महत्त्वपूर्ण कूटनीतिक मामिलाू भएको बताए। तर विश्लेषकहरूले दुई भ्रमण पछाडिको तर्क निकै फरक रहेको बताए। 'सी र बेइजिङसँगको सम्बन्धमा ट्रम्प र पुटिनका उद्देश्यहरू निकै फरक छन्,' क्लार्कले भने।

ट्रम्पका लागि, यो भ्रमण मुख्य रूपमा व्यापार र आर्थिक उद्देश्यहरूद्वारा सञ्चालित थियो, जसलाई क्लार्कले ूमहाशक्ति थिएटरू र प्रतीकात्मकता-जसमा औपचारिक रातो कार्पेट स्वागत, राष्ट्रपतीय प्रतिष्ठाको सम्मान र सम्भावित अमेरिका-चीन 'जी२' च्यानलको सङ्केतहरू समावेश थिए- मा बेरिएको थियो।

पुटिनका लागि भने, यो सापेक्षिक अन्तर्राष्ट्रिय अलगावका बीच कूटनीतिक ओत र चिनियाँ बजार तथा प्रविधिमा पहुँचका लागि रुसको आवश्यकता थियो। इभानोभले भने कि रुस एक महत्त्वपूर्ण रणनीतिक साझेदारको रूपमा रहेता पनि अमेरिकासँगको चीनको सम्बन्ध 'धेरै बढी परिणाममुखी र धेरै महत्त्वपूर्ण' रहिरहन्छ।

यस त्रिकोणमा रुस दिनानुदिन सानो खेलाडी बन्दै गइरहेको छ, उनले भने, जबकि अमेरिका-चीन सम्बन्धले विश्वव्यापी राजनीति र अर्थतन्त्रको मुख्य रूपरेखालाई आकार दिइरहेको छ।

त्यस अर्थमा, पुटिनको भ्रमण बेइजिङका लागि बढी नियमित जस्तो थियो, इभानोभले थपे, रुसी नेता चीनको बारम्बार भ्रमण गर्ने व्यक्ति हुन्।

सन् २००० मा पहिलो पटक सत्तामा आएदेखि पुटिनको यो २५औं चीन भ्रमण थियो, जसमा उनको रुसी राष्ट्रपति र प्रधानमन्त्री दुवैको कार्यकाल समावेश छ। उनको अघिल्लो भ्रमण गत वर्षको सेप्टेम्बरमा भएको थियो, जब उनले साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको अन्त्यको ८०औं वार्षिकोत्सवको अवसरमा आयोजित सैन्य परेडमा भाग लिएका थिए। तर नियमित हुनुको अर्थ महत्त्वहीन हुनु होइन, विश्लेषकहरूले भने।

मस्कोका लागि, यो भ्रमणले चीनको बजार र राजनीतिक समर्थनमा पहुँचलाई पुनस् पुष्टि गर्‍यो। बेइजिङका लागि, यसले ऊर्जा आपूर्तिलाई विविधीकरण गर्न र अमेरिकी दबाबलाई सन्तुलनमा राख्न मद्दत गर्ने साझेदारीलाई सुदृढ बनायो।

यी भ्रमणहरूले 'चाहे संयोगले होस् वा योजनाबद्ध रूपमा' चीनसँग विकल्पहरू छन् र यसले वासिङ्टन र मस्को दुवैसँग राम्रो सम्बन्ध कायम राख्न सक्छ भन्ने देखाएको छ, नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीको स्कूल अफ सोशल साइन्सेजका सह-प्राध्यापक डिलन लोहले भने।

'तिनीहरू परस्पर विरोधी छैनन्,' उनले भने।

त्रिकोणीय वा बहुध्रुवीय व्यवस्था

ट्रम्प र पुटिन बाहेक, विशेष गरी युरोपका धेरै नेताहरूले पनि बेइजिङको भ्रमण गरेका छन्, जसले गर्दा धेरै देशहरूले चीनसँग सम्बन्ध बढाउन खोजिरहेको दृश्य प्रभाव सिर्जना भएको छ, लोहले थपे। इभानोभका लागि, यी भ्रमणहरूले चीनलाई एक प्रमुख शक्तिको रूपमा प्रस्तुत गर्‍यो, जसको साथ प्रतिद्वन्द्वी, साझेदार र सन्तुलन खोज्ने देशहरू सबैले सहकार्य गर्न चाहन्छन्।

वासिङ्टनका लागि सन्देश यो थियो कि बेइजिङसँग अन्य रणनीतिक विकल्पहरू छन् मस्कोका लागि यो सन्देश थियो कि चीनको व्यापक कूटनीतिक संरचनामा रुस अझै पनि केन्द्रीय स्थानमा छ, उनले भने।

चीन र रुसले उक्त सन्देशलाई व्यापक वैचारिक रूपमा प्रस्तुत गर्ने प्रयास पनि गरे। पुटिनको भ्रमणका क्रममा जारी गरिएको संयुक्त वक्तव्यमा दुवै पक्षले थप बहुध्रुवीय विश्व व्यवस्थाको आह्वान गरे र उनीहरूले एकपक्षीयता र गुटबन्दीय टकरावको रूपमा चित्रण गरेको कुराको आलोचना गरे।

त्यो भाषा बेइजिङ र मस्कोको लामो समयदेखिको प्रयास अनुकूल नै थियो, जस अन्तर्गत उनीहरूले आफूलाई अमेरिका र उसका सहयोगीहरूको कम प्रभुत्व भएको विश्व व्यवस्थाको संरक्षकका रूपमा प्रस्तुत गर्न चाहन्छन्।

विश्लेषकहरूले दाबी गरे कि बेइजिङ अमेरिका-चीन 'जी२' मा बाँधिन चाहँदैन, भले नै ट्रम्प विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको नेता-स्तरको सम्झौतामा आकर्षित भएको देखिए पनि।

'मलाई लाग्दैन कि चीनले जी२ को अवधारणालाई धेरै वजन दिन्छ,' लोहले भने। ू'उनीहरूको घोषित नीति सधैं बहुध्रुवीय व्यवस्थाकै रहेको छ, उनले थपे।

एस राजारत्नम स्कूल अफ इन्टरनेशनल स्टडिजमा अन्तर्राष्ट्रिय सम्बन्धमा विशेषज्ञता राख्ने अनुसन्धान सहायक लि याकीले यो चित्र साधारण हो वा होइन भन्नु भन्दा बढी जटिल रहेको बताए।

'एउटा संस्थागत जी२—जहाँ अमेरिका र चीनले वित्तीय स्थिरता, जलवायु, महामारी र सार्वजनिक हितका मुद्दाहरूमा विश्वव्यापी शासनको समन्वय गर्छन्- त्यस्तो कुरा उदाइरहेको छैन,' उनले भने।

'ट्रम्पलाई जी२ को भाषा मनपर्छ किनभने यसले उनलाई सम्झौता गर्ने लचकता र व्यक्तिगत नियन्त्रण दिन्छ,' उनले भने। तथापि, बेइजिङले यो शव्दावलीलाई अस्वीकार गर्छ किनभने ऊ वासिङ्टनसँग महाशक्ति गठबन्धनमा प्रवेश गरेको रूपमा देखिन चाहँदैन, लीले थपे। त्यसो गर्दा चीनले विश्वव्यापी व्यवस्था व्यवस्थापनको भार बाँड्नुपर्छ भन्ने अपेक्षाहरू सिर्जना हुने जोखिम हुन्छ, र यसले ग्लोबल साउथ (विकासोन्मुख देशहरू) लाई पनि सशङ्कित बनाउन सक्छ।

लीका अनुसार, नेता स्तरको सम्झौता, छनोटपूर्ण संकट व्यवस्थापन र केही क्षेत्रमा सीमित संयमको वरिपरि बनेको जी२ को एउटा पातलो, बढी लेनदेनमुखी स्वरूप बढी सम्भावित देखिन्छ।

इभानोभले भने कि चीन जी२ को सार्वजनिक रूपरेखासँग असहज छ किनभने यसको आफ्नै रणनीतिक भाषा बहुध्रुवीयताको वरिपरि निर्मित छ। तर व्यावहारिक रूपमा, बेइजिङ अन्य अधिकांश देशहरूको तुलनामा अमेरिकासँगै एक उच्च स्थान पाउन ूनिकै सहजू महसुस गर्छ, उनले भने।

'यस त्रिकोणमा रुस एक सानो खेलाडी हो,' इभानोभले भने। 'वास्तवमै अमेरिका र चीनको सम्बन्ध हो जसले आधुनिक भूराजनीतिलाई आकार दिन्छ।'

अष्ट्रेलियाको बन्ड युनिभर्सिटीका सह-प्राध्यापक जोनाथन पिङले जी२ को रूपरेखा यथार्थ भन्दा बढी वक्तव्यबाजी मात्र रहेको बताए। त्यस प्रकारको कुनै पनि औपचारिक व्यवस्था उब्जिने सम्भावना छैन, उनले भने, भले नै केही व्यावहारिक तत्वहरू विद्यमान छन् किनभने अमेरिका र चीन उनीहरूको विश्वव्यापी वजन र आपसी निर्भरताका कारण द्विपक्षीय रूपमा संकटहरू व्यवस्थापन गर्न बाध्य छन्।

नेशनल युनिभर्सिटी अफ सिंगापुरका सह-प्राध्यापक चोङ जा इयानले भनेस् 'धेरै कुरा युरोपेली युनियन, भारत, जापान र अन्य जस्ता प्रमुख खेलाडीहरूले के गर्ने विचार गर्छन् भन्ने कुरामा निर्भर गर्दछ।'

यदि ती खेलाडीहरूले आफ्नो भूमिका छोडिदिए भने, वासिङ्टन र बेइजिङको प्रमुखता बढ्न सक्छ, चोङले भने। तर उनले थपे कि, दुवै पक्षले व्यापार, लगानी र प्रविधिमा जोखिम कम गर्ने र अलग हुने प्रक्रिया अघि बढाउँदा अझ बढी खण्डीकरण हुने जोखिम रहन्छ।

त्यस अर्थमा, यी लगातारका भ्रमणहरूले स्पष्ट रूपमा अमेरिका-चीनको एकाधिकार तर्फ सङ्केत गरेनन्।

यसको सट्टा, विश्लेषकहरूले भने, यसले बेइजिङले एकै पटक दुईवटा बाटोहरू समात्न खोजिरहेको देखाएको छस् सबैभन्दा बढी मायने राख्ने प्रतिस्पर्धालाई व्यवस्थापन गर्ने, र आफूलाई अघि बढ्ने ठाउँ दिने साझेदारीलाई जोगाएर राख्ने।

चोङले भने जस्तै, अमेरिका र चीन 'अत्यन्तै परिणाममुखी' छन्, तर 'तिनीहरूले एक्लै वा एकअर्कासँगको सहकार्यमा विश्वलाई निर्देशित गर्न सक्दैनन्—कमसेकम अहिले नै त सक्दैनन्।' (सिएनएमा लि जिम सियोंगको विश्लेषण)

प्रतिक्रिया