रूस, भारत र चीनको बन्दै गरेको वैश्विक त्रिकोण

एक वर्षमा तेस्रो पटक भेट्दै रूस, भारत र चीनका राष्ट्रप्रमुखहरु

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै महिना चीनको भ्रमण गरे। उनी फर्के लगत्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिन चीन पुगेका छन्। 

पश्चिम एसिया संकटका बीच यी भ्रमणले विश्वभको नजर खिचेको थियो। ट्र्म्पको भ्रमणमा केही ठूला दूरगामी महत्वका कुनै सम्झौता सहमति भएनभएको सार्वजनिक जानकारीमा आईसकेको छैन।

यसपछि पुटिनको चीन भ्रमणले उसैगरी विश्व जनमतको ध्यान खिचेको छ। तीन शक्तिशाली देशका शीर्ष नेताहरुको हाई-प्रोफाइल भ्रमण र बैठकहरूको चर्चाले भूराजनीति तातेको छ। चीन यी दुवै भ्रमणको आतिथेय राष्ट्र भएकाले राष्ट्रपति सी जिनपिङ विश्व समाचारको शीर्षक बनिरहेका छन्।

अर्कोतिर आगामी सेप्टेम्बरमा ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन रूसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत जाने कार्यक्रम रहेको छ। यस बैठकमा सहभागी हुनका लागि चीनका राष्ट्रपति सी जिनपिङ नयाँदिल्ली पुग्ने नै छन्। भारत अहिले ब्रिक्सको अध्यक्ष राष्ट्र हो।

रूसी अधिकारीहरूले यस कुराको पुष्टि गरेका छन्, ब्रिक्स समिटका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन १२-१३ सेप्टेम्बर, २०२६ मा नयाँ दिल्लीमा रहनेछन्। चीनका राष्ट्रपति सी जिनपिङ पनि ब्रिक्स शिखर सम्मेलनका लागि नयाँ दिल्ली आउनेछन्। अक्टोबर २०१९ पछि उनको यो पहिलो भारत भ्रमण हुनेछ। त्यतिबेला उनी चेन्नई नजिकैको ममल्लापुरममा भारत-चीन अनौपचारिक द्विपक्षीय शिखर सम्मेलनका लागि आएका थिए।

ब्रिक्स समिटभन्दा ठीक अघि ३१ अगस्टदेखि १ सेप्टेम्बर, २०२६ को बीचमा किर्गिस्तानको बिश्केकमा साङ्घाई सहयोग संगठन शिखर सम्मेलन हुन गइरहेको छ। यहाँ पनि सी जिनपिङ र भ्लादिमिर पुटिन पुग्ने सम्भावना छ। यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि एससीओ शिखर सम्मेलनमा सहभागी हुन सक्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसरी यी तीन विश्व नेताहरूको एक वर्षमा यो तेस्रो भेटघाट हुनेछ। सेप्टेम्बर, २०२५ मा पनि चीनको तियानजिनमा भएको एससीओ शिखर सम्मेलनमा पीएम मोदी, जिनपिङ र पुटिनबीच भेट भइसकेको छ। एससीओ शिखर सम्मेलनमा भेट्नुअघि आज बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिन बेइजिङमा सी जिनपिङसँग द्विपक्षीय र अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफलमा छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण लगत्तै पुटिनको यस भ्रमणको आफ्नै विशेष महत्त्व छ।

पश्चिम एसिया संकटका कारण यस समयमा जसरी सम्पूर्ण भूराजनीतिमा उथलपुथल मच्चिएको छ, त्यसलाई हेर्दा रूस, भारत र चीन यसरी बारम्बार एउटा वैश्विक मञ्चमा आउनु निकै महत्त्वपूर्ण छ। अमेरिका र चीनबीचको हालैको कुराकानीलाई विश्वका दुई ठूला अर्थतन्त्रहरूबीच एक सम्भावित रणनीतिक स्थिरताको पहलको प्रयासका रूपमा हेरिएको छ।

तर, रूस, भारत र चीनको ब्रिक्स र एससीओमा त्रिकोणात्मक गठबन्धन 'ग्लोबल साउथका लागि निकै ठूलो संकेत हो। आरआईसी त्रिकोणको अर्थ पश्चिमा विरोधी ब्लकको निर्माण गर्नु होइन, बरु ग्लोबल साउथको एक 'रणनीतिक स्वायत्तता' स्थापित गर्नु र बहुध्रुवीय विश्व व्यवस्था तयार गर्नु हो भनिएको छ।

यसले बदलिँदो भूराजनीतिमा कूटनीतिक लचकता ल्याउने सम्भावना छ। ग्लोबल साउथका देशहरू अमेरिकासँग आफ्नो द्विपक्षीय व्यापार र सुरक्षा सम्बन्ध कायम राख्दै, वैकल्पिक वैश्विक आर्थिक ढाँचा तयार गर्न चाहन्छन्, जो पश्चिमा देशहरूमाथिको निर्भरताभन्दा बाहिर होस्। रूस, भारत र चीन यसरी सँगै आउनाले उनीहरूको यही आशालाई बल मिल्न सक्ने कुटनीतिज्ञहरुको बुझाई छ।

प्रतिक्रिया