समाचार टिप्पणी

ट्रम्प–सी वार्ताले के हिंसाको चक्र तोडिएला?

काठमाडौँ। विश्व राजनीतिमा हिजोआज असाधारण र नाटकीय दृश्यहरू देखिन थालेका छन्। एकातिर इजरायल, इरान र अमेरिका संलग्न मध्यपूर्वको युद्ध चर्किँदै गएर विश्व अर्थतन्त्र र सुरक्षामा नै गम्भीर धक्का पुगिरहेको छ, भने अर्कोतिर यही युद्धकै राप र तापका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भब्य र मैत्रीपूर्ण शिखर वार्ता सम्पन्न भएको छ।

जुन दुई शक्ति राष्ट्रहरू आर्थिक र रणनीतिक रूपमा पानी-बाराबारको स्थितिमा थिए, उनीहरूका शीर्ष नेताहरूले बेइजिङमा एकअर्कालाई 'असल मित्र' भन्दै अङ्कमाल गर्नु आफैँमा एउटा ठूलो भूराजनीतिक मोड हो। ट्रम्पको यो दोस्रो चीन भ्रमणले एउटा आशलाग्दो ढोका त खोलेको छ, तर प्रश्न उठ्छ, के यो मित्रताले मध्यपूर्वको आगो निभाउन सक्लारु के इजरायल यसमा सहमत होला?

हर्मुज संकट र ट्रम्प–सी 'डिल' को अन्तर्य

युद्धका कारण तेल आपूर्तिको लाइफलाइन मानिने हर्मुज बन्दरगाह बन्द प्रायः हुँदा विश्वभर ऊर्जा संकट चुलिएको छ र तेलको मूल्य आकाशिएको छ। चीन आफ्नो ऊर्जा आवश्यकताको ठूलो हिस्सा मध्यपूर्वबाटै आयात गर्छ, त्यसैले यो संकट टार्नु बेइजिङको बाध्यता हो। अर्कोतर्फ, ट्रम्प आफ्नै देशमा बढ्दो महँगी र युद्धको बोझबाट अमेरिकी अर्थतन्त्रलाई जोगाउन चाहन्छन्।

यही साझा स्वार्थका कारण बेइजिङ वार्तामा दुई नेताबीच महत्वपूर्ण समझदारी बनेको छ।

इरानमाथि चीनको दबाबस् चीनको इरानसँग बलियो आर्थिक र राजनीतिक सम्बन्ध छ। बेइजिङले इरानलाई आणविक हतियार उत्पादन नगर्न र हर्मुज जलमार्ग खुला गर्न राजी गराउने जिम्मा लिएको छ, जसको बदलामा अमेरिकाले चीनसँगका केही व्यापारिक मुद्दामा लचकता अपनाउने संकेत गरेको छ।

ह्वाइट हाउसको निम्तोस् ट्रम्पले आगामी सेप्टेम्बरमा सी जिनपिङलाई ह्वाइट हाउसमा स्वागत गर्ने घोषणा गरेर यो सम्बन्धलाई केवल क्षणिक युद्ध-व्यवस्थापनमा मात्र सीमित नराखी दीर्घकालीन रणनीतिक साझेदारीमा बदल्न खोजेको सन्देश दिएका छन्।

के मध्यपूर्वमा हिंसात्मक गतिविधि अन्त्य होला?

बेइजिङको यो सहमतिले तत्कालका लागि युद्ध थप फैलिन नदिने आशा जगाएको त पक्कै हो, तर स्थायी शान्ति भइहाल्छ भन्नु अलि हतारो हुनेछ।

इरानको दोधारे नीति: इरानले चिनियाँ दबाबका कारण हर्मुज जलमार्गबाट केही जहाजहरूलाई जान दिएर सकारात्मक संकेत त देखाएको छ, तर उसले आफ्ना क्षेत्रीय साझेदारहरू (हिजबुल्लाह, हमास, हुथी) लाई पूर्ण रूपमा रोक्छ भन्ने ग्यारेन्टी छैन।

इरानको आन्तरिक राजनीतिक दबाब: इरानभित्रै चरमपन्थी र संस्थापन पक्षबीच आन्तरिक कलह चर्किएको छ। यस्तो अवस्थामा इरानका नेताहरूले ट्रम्पको दबाबमा पूर्ण रूपमा आत्मसमर्पण गरेको सन्देश आफ्ना जनतामा जान दिन चाहँदैनन्।

मुख्य तगारो: के इजरायल सहमत होला?

यो सम्पूर्ण समीकरणको सबैभन्दा चुनौतीपूर्ण पाटो इजरायल हो। ट्रम्प र सी जिनपिङले बेइजिङमा बसेर खाका कोर्दैमा इजरायलले त्यसलाई जस्ताको तस्तै स्वीकार गर्छ भन्ने सोच्नु भ्रम मात्र हुन सक्छ।

अस्तित्वको लडाइँ र बेन्जामिन नेतान्याहुको अडान: इजरायलले इरानको आणविक कार्यक्रमलाई आफ्नो अस्तित्वमाथिको सिधा खतरा मान्दछ। चीन र अमेरिकाले इरानलाई आणविक हतियार नबनाउन राजी गराउने कुरा गरे पनि इजरायल इरानको आणविक क्षमतालाई पूर्ण रूपमा नष्ट गर्न चाहन्छ, केवल कागजी सम्झौतामा मात्र सीमित राख्न चाहँदैन।

ट्रम्पको इसारामा इजरायल कति चल्छ?: डोनाल्ड ट्रम्प इजरायलका कट्टर समर्थक हुन्, तर ट्रम्पको अमेरिका फस्ट नीतिले गर्दा उनी अमेरिकालाई अर्को लामो युद्धमा होम्न चाहँदैनन्। इजरायलले ट्रम्पको कुरा धेरै हदसम्म काट्न सक्दैन, तर यदि आफ्नो सुरक्षामा थोरै मात्र खतरा देख्यो भने इजरायलले अमेरिकी योजनालाई बेवास्ता गर्दै इरानमाथि सैन्य हमला जारी राख्न सक्छ।

आशाको त्यान्द्रो

ट्रम्प र सी जिनपिङको बेइजिङ संवादले विश्वलाई महाशक्ति राष्ट्रहरू मिलेर समस्या समाधान गर्न सक्छन् भन्ने एउटा सकारात्मक सन्देश त दिएको छ। सेप्टेम्बरमा सीको ह्वाइट हाउस भ्रमणको घोषणाले यसलाई थप बल पुर्‍याउने अपेशक्षा गरिएको छ।

तर, मध्यपूर्वको भूराजनीति यति जटिल छ कि त्यहाँका युद्धरत पक्षहरू (इजरायल र इरान) का आफ्नै एजेन्डाहरू छन्। त्यसैले, बेइजिङमा भएको ट्रम्प-सीको गर्मजोशीले मध्यपूर्वको शितलहर ल्याउन सक्छ कि सक्दैन भन्ने कुरा आगामी दिनमा इरानले हर्मुज बन्दरगाहमा देखाउने व्यवहार र इजरायलले चाल्ने सैन्य कदममा भर पर्नेछ। तत्कालका लागि हिंसा थोरै मत्थर हुने आशा गर्न सकिए पनि स्थायी शान्तिको बाटो अझै निकै कठिन र चुनौतीपूर्ण छ।

प्रतिक्रिया