संसारको सबैभन्दा सानो देश कुन हो ? धेरैजसो मानिसको उत्तर हुन्छ – भ्याटिकन सिटी। र त्यो उत्तर सही पनि हो। तर बेलायतको समुद्री तटभन्दा केही किलोमिटर टाढा उत्तर समुद्रको बीचमा एउटा यस्तो ठाउँ छ, जसले आफूलाई स्वतन्त्र र सार्वभौम राष्ट्र दाबी गर्छ। संसारका कुनै पनि देशले त्यसलाई औपचारिक मान्यता दिएका छैनन्, तर यदि दिएको भए – त्यो नै संसारको सबैभन्दा सानो देश बन्ने थियो।
त्यो अनौठो “देश” हो – Principality of Sealand। अचम्मको कुरा के भने, यो देश जमिनमा छैन। समुद्रको बीचमा दुई विशाल फलामे खम्बामाथि उभिएको एउटा पुरानो युद्धकालीन प्लेटफर्म नै यसको “भूमि” हो।
युद्धका लागि बनेको फलामे किल्ला
कथा सुरु हुन्छ दोस्रो विश्वयुद्धको समयमा। जर्मन हवाई आक्रमणबाट बेलायतलाई बचाउन समुद्रमा विशेष किल्लाहरू निर्माण गरिएका थिए। तीमध्ये एउटा थियो “एचएम फोर्ट रोग्स” – समुद्रको बीचमा बनाइएको हवाई प्रतिरोधी तोपसहितको किल्ला। दुई विशाल खम्बामाथि टिकेको यो संरचना समुद्रको छालामाथि कुनै विज्ञान–कथाको संसारजस्तै देखिन्थ्यो। युद्ध सकिएपछि पनि केही वर्षसम्म बेलायती नौसेना त्यहाँ बस्यो। तर सन् १९५४ मा सैनिकहरू त्यहाँबाट हटेपछि त्यो संरचना सुनसान बन्यो। समुद्रको बीचमा उभिएको त्यो फलामे किल्ला विस्तारै रहस्यमय स्थानमा बदलिन थाल्यो।
अवैध रेडियोबाट सुरु भयो नयाँ सपना
सन् १९६५ मा Jack Moore र उनकी छोरीले उक्त संरचनामा कब्जा जमाए। त्यहाँबाट उनीहरूले “रेडियो क्यारोलाइन” नामक पाइरेट रेडियो सञ्चालन गर्न थाले। त्यो समय बेलायतमा निजी रेडियोमाथि कडा नियन्त्रण थियो। त्यसैले समुद्रको बीचमा बसेर रेडियो चलाउनु कानुनबाट बच्ने उपाय बनेको थियो। तर वास्तविक इतिहास मोडियो सन् १९६७ मा। त्यो वर्ष पूर्व बेलायती सैनिक Paddy Roy Bates ले फोर्ट रोग्स आफ्नो नियन्त्रणमा लिए। सुरुमा उनले पनि अवैध रेडियो चलाउने योजना बनाएका थिए। तर परिस्थिति अचानक बदलियो। जब बेलायती कामदारहरू उक्त संरचना हटाउन आए, बेट्सका छोरा Michael Bates ले बन्दुक पड्काएर उनीहरूलाई त्यहाँबाट धपाए। त्यही क्षण शायद बेट्सको दिमागमा एउटा अनौठो विचार जन्मियो – किन यसलाई एउटा स्वतन्त्र देश घोषणा नगर्ने ?
समुद्रमा जन्मियो नयाँ “राष्ट्र”
त्यसपछि उनले संविधान बनाए। राष्ट्रगान तयार गरियो। झण्डा डिजाइन गरियो। मुद्रा छापियो। राहदानी जारी गरियो। र फोर्ट रोग्सलाई नयाँ नाम दिइयो – “सिल्याण्ड”। बेट्सले आफूलाई “प्रिन्स रोय” घोषणा गरे। त्यसपछि समुद्रको बीचमा उभिएको त्यो फलामे संरचना संसारकै अनौठो माइक्रोनेशन बन्यो। यद्यपि United Kingdom ले त्यसलाई देश मान्न अस्वीकार गर्यो। तर एउटा समस्या थियो – त्यो संरचना त्यतिबेला अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पर्थ्यो। त्यसैले बेलायतले सजिलै नियन्त्रण लिन सकेन।
जब सिल्याण्डमाथि भयो आक्रमण
सन् १९६८ मा रेडियो क्यारोलाइनसँग सम्बन्धित समूहले सिल्याण्डमाथि आक्रमण गर्यो। बेट्स र उनका समर्थकहरूले पेट्रोल बम र हवाई फायर गर्दै आक्रमणकारीलाई पराजित गरे। तर सबैभन्दा नाटकीय घटना सन् १९७८ मा भयो।त्यसबेला सिल्याण्डका स्वयंघोषित प्रधानमन्त्री बनेका जर्मन नागरिकले केही जर्मन र डच भाडाका लडाकु जम्मा पारे। राजकुमार रोय बेट्स बेलायतमा रहेका बेला उनीहरूले सिल्याण्ड कब्जा गरे।माइकल बेट्सलाई बन्दी बनाइयो। तर कथा फिल्मभन्दा कम थिएन।
माइकलले अवसर पाएपछि प्रतिकार गरे। अन्तत: उनले आक्रमणकारीहरूलाई आत्मसमर्पण गर्न बाध्य पारे। अशेनबाखलाई “देशद्रोह” को आरोप लगाइयो र ठूलो जरिवाना तिराइयो। समुद्रको बीचमा रहेको त्यो सानो प्लेटफर्ममा भएको घटना संसारकै सबैभन्दा सानो “सैनिक कू” मानिन्छ।
प्रतिक्रिया