पाकिस्तानी प्रधानमन्त्रीलाई १६ अर्बको ‘मनि लाउन्ड्रिङ’ मुद्धामा राहत

इस्लामाबाद। १६ अर्ब रुपैयाँको ‘मनि लाउन्ड्रिङ’ मुद्धामा पाकिस्तानका प्रधानमन्त्री शहबान शरीफ र उनका छोरा हमजा शरीफले केही राहत प्राप्त गरेका छन्। विशेष अदालतले दुवैको जमानत स्विकार गरेको छ। र, २८ मेसम्म कुनै सुनुवाई नगर्न भनेको छ। 

प्रधानमन्त्री शहबाजका छोरा हमजा पञ्जाबका मुख्यमन्त्री हुन्। उनले आफूविरूद्धको आरोपलाई राजनीतिक प्रेरित बताउँदै आइरहेका छन्। तर, पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआइए) ले यी दुवैलाई भगौडा घोषित गरेको छ भने उनीहरूलाई जमानत नदिन आग्रह गरेको छ। 

पाकिस्तानको सर्वोच्च अदालतले शाहबाज र हमजाको विषयमा चलिरहेको मुद्धामा संलग्न अनुसन्धान अधिकारीलाई अन्यत्र सरुवा नगर्न र नयाँ अनुसन्धानकर्तालाई यो मुद्धामा संलग्न नगराउन स्पष्ट निर्देशन दिएको छ। 

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीले आरोप लगाउँदै आइरहेको छ, मुद्धालाई प्रभावित बनाउन आफू अनुकूलको अधिकारी नियुक्त गर्न सरकार लागेको छ। 
‘मनि लाउन्ड्रिङ’ मुद्धामा प्रधानमन्त्री शहबाजको २३ वटा सम्पत्तिमा रोक लगाइएको छ। उनी बेलमा बाहिर छन्। 

शहबाज शरीफ लाहोरको विशेष अदालतसमक्ष प्रस्तुत हुँदा उनलाई कडा सुरक्षा प्रदान गरिएको थियो। प्रधानमन्त्रीको सुरक्षा तामझाम देखेर न्यायाधीस एजाज हसनले भने, ‘पिएम साहब, यो कस्तो सुरक्षा हो। वकिल र न्यायाधीसलाई पनि अदालत प्रवेश गर्नबाट रोकिरहेका थिए।’ उनले सरकारको यो कार्य गलत भएको बताए। 

उनको प्रतिउत्तरमा प्रधानमन्त्री शहबाजले पनि आफूलाई अदालत प्रवेश गर्नबाट रोकेको बताए। तर न्यायाधीसले शहबाजलाई उनी प्रधानमन्त्री भएको स्मरण गराउँदै अनुसन्धानको आदेश दिन आग्रह गरेका थिए। ‘मनि लाउन्ड्रिङ’ कै मुद्धामा शहबाजका दाजु पूर्व प्रधानमन्त्री नवाज शरीफले सत्ता गुमाउनु परेको थियो। उपचारको बहाना बनाउँदै हाल उनी बेलायतमा बसोबास गरिरहेका छन्।  
 

प्रतिक्रिया