हार्दिक पटेलले पनि कांग्रेस छोड्न सक्ने

दिल्ली। भारतको प्रतिपक्षी दल भारतीय कांग्रेसको नेतृत्वसँग असन्तुष्ट गुजरात कांग्रेसका कार्यकारी अध्यक्ष हार्दिक पटेलले पदबाट राजीनामा गरेका छन्। 

गुजरात राज्यमा आउँदो ६ महिनामा विधानसभाको चुनाव हुदैछ। यस्तो अवस्थामा हार्दिकको राजीनामाले पार्टीभित्र भूइँचालो गएको छ। हार्दिक विगत एक महिनादेखि पार्टीको शीर्ष नेताको व्यवहारप्रति असन्तुष्ट थिए। उनी कांग्रेसले आयोजना गरेको चिन्तन शिविरमा पनि उपस्थित भएनन्। 

उनले पार्टी नेता सोनिया गान्धीलाई चिट्ठी लेखेर आफ्नो असन्तुष्टी बताएका छन्। चिट्ठीमा उनले कांग्रेसको शीर्ष नेताहरू पार्टीभित्रको मुद्धालाई ध्यानपूर्वक सुन्नेभन्दा पनि उनीहरूको ध्यान चिकेन स्याड्वीच र मोबाइल फोनमा हुने गरेको उल्लेख गरेका छन्। उनले राजस्थानमा जुन अवस्था सचिन पाइलटको भएको थियो, त्यस्तै खराब अवस्था गुजरातमा आउन सक्नेतर्फ पार्टीलाई अवगत गराएका छन्। 

हार्दिकले राम मन्दिर निर्माण र आर्टिकल ३७० को मुद्धामा भारतीय जनता पार्टी (भाजपा) को तारिफ गरेका थिए। अहिले कांग्रेसबाट असन्तुष्ट उनी भाजपामा समावेश हुने हल्ला पनि चलेको छ। 

हार्दिकले पार्टी नेता राहुल गान्धीले आफ्नो म्यासेजको उत्तर पनि नदिएको भन्दै असन्तुष्टी जाहेर गरेका थिए। उनले केही दिनअघि नै ट्वीटर, इन्स्टाग्राम र टेलिग्राम जस्ता सोसल मिडयामा भएको आफ्नो संक्षिप्त परिचयबाट कांग्रेसको नाम हटाइसकेका छन्। 

हार्दिक सन् २०१९ मा कांग्रेसमा आवद्ध भएका थिए। उनी पाटीदार आन्दोलनबाट जन्मिएका नेता हुन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीविरूद्ध गुृजरातमा विरोधको स्वरलाई तिखो बनाएका थिए। 
 

प्रतिक्रिया