धोका दिएको भन्दै दार्चुलामा कांग्रेस र माओवादी कार्यकर्ताबीच हातपात

दार्चुला। सत्ता साक्षेंदार दल नेकपा माओवादी केन्द्रले धोका दिएको भन्दै नेपाली कांग्रेसका मेयर पदका उम्मेदवारल माओवादी कार्यकर्तामाथि हातपात गरेका छन्। 

यो घटना सुदूरपश्चिमको अन्तिम जिल्ला दार्चुलामा भएको हो। यसअघि आफ्नो बलबुतामा दुई वटा नगरपालिका जितेको कांग्रेसले यसपालि एउटा पनि नगरपालिका जित्न सकेन। शैल्यशिखर नगरपालिकाका निवर्तमान मेयर अमरसिंह धामी यसपालि पनि मेयरको प्रत्यासी थिए। उनी गठबन्धनका साझा उम्मेदवार थिए। तर, उनी नेकपा एमालेका विजयसिंह धामीसँग पराजित हुन पुगेपछि झगडा सुरु भएको हो। 

गठबन्धनका उम्मेदवारलाई चुनावमा असहयोग गरेको भन्दै अमरसिंहले मंगलबार साँझ माओवादीका मोहन साउदमाथि हातपात गरेका थिए। साउदको नाकमा चोट लागेको स्थानीय प्रहरीले बताएको छ। यसको विरोधमा गोकुलेश्वर सडक बन्द भएको थियो। ‘चुनावको विषयमा सामान्य विवाद भएको हो। साउदको नाकमा चोट लागेको छ,’ दार्चुला प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक धुब्र विष्टले भने। 

गठबन्धनका कारण यहाँ नेपाली कांग्रेसले ठूलो क्षति बेहोर्नु परेको छ। दार्चुलाको ९ स्थानीय तहमध्ये दुई नगरपालिकासहित ५ स्थानमा एमाले विजयी भएको छ भने बाँकीको ४ गाउँपालिका माओवादीले जितेको छ। कांग्रेसले यसपालि कुनै नतिजा निकाल्न सकेन। 

नेपाली कांग्रेसले यसअघिको निर्वाचनमा महाकाली र शैलेश्वरी गरी दुवै नगरपालिकामा विजय हात पारेको थियो। बाँकी ७ गाउँपालिकामध्ये पनि ब्यास, दुहु र मल्लीकार्जुनमा पनि जित निकालेको थियो। तर, यसपालि गठबन्धन गर्दा सबै क्षेत्रमा पराजित भएको छ। 

माओवादीले यसअघि मार्मा गाउँपालिका मात्र जितेको थियो। गठबन्धन गर्दा एमालेले जितेको स्थानमा माओवादीलाई कांग्रेसले सघाउने र कांग्रेसले जितेको ठाउँमा माओवादीले थप सघाउने सहमति बनेको थियो। तर, कांग्रेस सबै ठाउँमा पराजित हुनु र माओवादीले ४ गाउँपालिका जित्नुले द्धन्द्ध बढाएको हो। 
 

प्रतिक्रिया