'पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जान प्रधानमन्त्री सकारात्मक'

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको राजनीति माओवादी केन्द्रको वरिपरी नै रहेको बताएका छन् । सोमबार बिहान पूर्वी चितवनको टाँडीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशको राजनीति माओवादीको वरिपरी नै रहेको बताएका हुन् ।

उनले माओवादी कमजोर भयो भने देश कमजोर हुने भएकाले पार्टीका नेता कार्यकर्तालाई पार्टी सृदृढीकरण अभियानमा होमिन निर्देशन दिए । उनले भने, ‘प्रधानमन्त्री र राष्ट्रपति जो भएपनि देशको राजनीति माओवादीको वरिपरि नै रहेको छ । पार्टी निर्माणमा ढिलाई गर्यौं भने देश दुर्घटनामा पर्छ । माओवादी कमजोर भएमा देश दुर्घटनामा जान्छ । परिवर्तनका एजेण्डा स्थापित हुँदैनन् । हामी नरहे सिष्टम मात्र फेल हुने होइन, माओवादी पार्टी फेल भए राष्ट्र कमजोर हुन्छ । टुटफुट विभाजनमा लागेर पार्टीलाई कमजोर बनाउन छुट छैन । त्यो त अपराध हुनेछ ।’ माओवादी अघि बढ्ने अहिले परिस्थिति बनेकाले नेता कार्यकर्तालाई उत्साहकासाथ लाग्न आग्रह गरे ।

उनले भने,‘प्रतिगमन त ढाल्यौं । अहिले परिस्थिति राम्रो बनेको छ । मौका परे खर्चिलो निर्वाचन प्रणालीबाट हटाएर समानुपातिक निर्वाचनमा जान सकिन्छ । यो कुरा प्रधानमन्त्रीसँग पनि गरेको छु । उहाँले सहमति गरौं म त तयार छु भन्नु भएको छ । त्यहाँ पुर्याउन सक्छौं कहाँबाट कहाँ त पुर्यायौं भने त्यो त सकिन्छ । एक दुई महिना जुलुस लिएर सडकमा आयौं भने त्यो पनि पूरा हुन्छ । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गइयो भने निर्वाचनमा जाँदा पैसा लाग्दैन । सबै समुदायको सही प्रतिनिधित्व हुन्छ ।’

उनले देशभित्रकै केही व्यक्तिहरू आफूलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन भनेर हिंडिरहेको तर आफूलाई पुरस्कार नचाहिने बताए । उनलेभने, ‘केही देशभित्रका साथीहरूले जनयुद्ध र शान्ति सम्झौतामा हस्ताक्षर गर्ने गिरिजा र प्रचण्डलाई अन्तर्राष्ट्रिय पुरस्कार दिलाउँछौं भनेर हिंडेका छन् । मैले भनेको छु अन्तर्राष्ट्रिय पुरस्कार दिलाउन हिंड्नेहरूलाई धन्यवाद, मलाई अन्तर्राष्ट्रिय पुरस्कार चाहिएको छैन ।’

प्रतिक्रिया