चिनियाँ नागरिकसँग घुस लिएको मुद्धामा चिदम्बरमको घरमा छापा

दिल्ली। चिनियाँ नागरिकसँग मोटो रकम असुल गरेर भिसा उपलब्ध गराएको आरोपमा भारतको केन्द्रिय अनुसन्धान ब्युरोले पूर्व अर्थमन्त्री पी. चिदम्बरमका छोरा कार्ति चिदम्बरमको घरलगायत अफिसमा छापा हानेको छ। 

उनीमाथि २ सय ५० चिनियाँ नागरिकलाई भिसा उपलब्ध गराउने नाममा ५० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। ब्युरो अधिकारीले आइएनएक्स मिडिया काण्डको छानवीन गर्ने क्रममा यसको जानकारी प्राप्त भएको बताएका छन्। 

कांग्रेसका वरिष्ठ नेता पी. चिदम्बरमले आफू पावरमा हुँदा पञ्जाबस्थित तलवण्डी साबो लिमिटेडको प्रोजेक्टका लागि चिनियाँ मजदुरहरूलाई भिजा उपलब्ध गराएका थिए। 

कार्तिले आफूविरूद्ध भएको कार्यवाहीलाई पूर्वाग्रह भनेका छन्। उनले ब्युरोले आफ्नो ठाउँमा गरेको छापामारीको संख्या बिर्सिसकेको पनि बताए। ब्युरोले तमिलनाडुमा तीन, मुम्बईमा तीन, पञ्जाबमा एक, कर्नाटकमा एक र ओडिसामा एक गरि ९ स्थानमा खानतलासी गरेको भारतीय मिडियाले बताएका छन्।  

मनि लाउन्ड्रिङको मुद्धामा पी चिदम्बरमको छोराविरूद्ध थुप्रै मुद्धा दर्ता छ। यही मुद्धामा सन् २०१९ मा चिदम्बरमलाई जेल सजाय भएको थियो। उनी १०६ दिन तिहाड जेल बसेर निस्किएका थिए। 
 

प्रतिक्रिया