स्वतन्त्रले जितेपछि टिकट बाँड्ने नेतामाथि प्रश्न खडा

ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १ का स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले भारी मतले विजय प्राप्त गरेपछि नेपाली कांग्रेसका कार्यकर्ताहरूले टिकट बाँड्ने जिल्ला सभापतिमाथि प्रश्न तेस्र्याएका छन् । 

निर्मल यहाँका मतदाताबीच पहिलेदेखि नै लोकप्रिय थिए। उनले गत चुनावमा नेपाली कांग्रेसबाट लोकप्रिय मत ल्याएर जितेका थिए। यसपालि जिल्ला सभापति जितेन्द्र श्रेष्ठले निर्मलको नाम काटेर ध्रुव तण्डुकारलाई टिकट दिलाएका थिए। 

आफू निर्वाचित भएपछि निर्मल तण्डुकारका समर्थकहरू नेपाली कांग्रेसकै चार तारे झण्डा बोकेर विजयी जुलुसमा निस्किएका छन्। निर्मलले पुतली चिन्हमा चुनाव लडेका थिए। उनले १७ सय २६ मत खसेको वडा–१ मा ६ सय ६१ मत प्राप्त गरेका थिए। गत चुनावमा उनी ६ सय ९० मत ल्याएर विजयी भएका थिए। 

कांग्रेसी प्रतिद्वन्द्वी ध्रुवराजलाई यसपालि उनले २ सय १६ मतले पराजित गरेका हुन्। जितपछि दृश्यटिभीसँग कुरा गर्दै निर्मलले भने, ‘मैले स्वतन्त्र उम्मेदवारी दिँदा पनि यहाँका जनताले मलाई पत्याउनुको कारण अघिल्लो कार्यकालमा राम्रो काम गरे भन्ने आत्मसन्तुटि भएको छ।’

उनले यहाँको नेतृत्वले काम गर्ने व्यक्तिलाई भन्दा आफ्नो व्यक्ति च्यापेको बताए। ‘हामी सबै कांग्रेसी थियौं। उहाँहरूले संगठनभन्दा पनि नातावाद कृपावादलाई अगाडि बढाउन खोज्नु भयो। यसको विरोधस्वरुप स्वतन्त्र उम्मेदवारी दिएको हुँ। जनता नै जनार्दन हुन्छन्। पार्टीका नेताले नपत्याए पनि जनताले पत्याए। मेरो लागि यो मिठो उपहार हो।’
 

प्रतिक्रिया