सशस्त्र द्वन्द्वमा कमीकमजोरी भएको प्रचण्डद्वारा स्वीकार

काठमाडौं । नेकपा माअवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका छन् ।

विस्तृत शान्ति सम्झौता सम्पन्न भएको १५ औं वर्षका अवसरमा आइतबार विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्वका कमीकमजोरीको सत्यतथ्य सार्वजनिक गर्न प्रतिवद्ध रहेको बताएका हुन् ।

प्रचण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘युद्धलाई शान्तिमा रुपान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न भएपनि सो अवधिमा घटेका घटनाको सत्य तथ्य छानविन गरी सार्वजनिक गर्न, पीडितहरुलाई परिपुरण र संक्रमणकालिन न्यायको मान्यतामा आधारित छानविनको प्रकृयाबाट टुङ्गोमा पुराई समाजमा मेलमिलाप कायम गर्ने कार्यभार बाँकी छ । आजसम्मका राजनैतिक उपलव्धीहरुप्रति गर्व गर्दै सो क्रममा भएका कमीकमजोरीहरुको छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न हामी प्रतिवद्ध छौं । यो मामला सरकारको मात्र मामला नभै राज्यको मामला हो यसर्थ यस विषयमा आजका दिनसम्म सत्ता पक्ष र प्रतिपक्ष एकमत छौं र बाँकी काम सम्पन्न गर्न पनि प्रतिवद्ध र एकतावद्ध हुने कुरामा कुनै द्विविधा छैन भन्ने हामी सम्वद्ध सबै पक्षलाई  विश्वास दिलाउन चाहन्छौ ।’

प्रचण्डले सहिद तथा वेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न बताएका छन् । 
 

प्रतिक्रिया