प्रचण्ड सिद्धियो भन्ने भ्रममा नपर्दा हुन्छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी जनताको अधिकारको लडाइँका लागि लड्ने पार्टी माओवादी मात्रै भएको पुष्टि भएको दबी गरेका छन् ।

रौतहटको कटहरियामा शनिबार पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले महन्थ ठाकुर र राजेन्द्र महतो केपी ओलीको टाङमुनी छिरेपछि को मधेशको पक्षधर रहेछ भन्ने प्रष्ट भएको बताएका हुन् । उनले वर्तमान संविधान पूर्ण नभएको र संशोधनमार्फत जनताका हक अधिकार स्थापित गर्दै जाने बताए ।

उनले आफूले मधेसी जनताको हक अधिकार स्थापित गर्न दुई दुई पटक संविधान संशोधनका लागि संसदमा प्रस्ताव दर्ता गरेपनि केपी ओलीका कारण पारित हुन नसकेको बताए । प्रतिगमनविरुद्धको आन्दोलनले जालीफटाहाहरुको सेटिङ भत्काएको भन्दै उनले प्रचण्ड सिद्धियो भन्ने भ्रममा नपर्न चेतावनी दिए ।

उनले नेकपा एमालेप्रति लक्षित गर्दै उसले महाधिवेशन माओवादी सिध्याउन चितवनमा गर्न लागेको बताए । उनले भने, ‘खलनायकहरु आतंकित भएका छन् अहिले । खलनायकहरुले चितवनमा महाधिवेशन गर्दैछन् उनीहरुलाई भन्देको छु, प्रचण्डलाई माया गरेकोमा । तर उनीहरु माओवादी सिध्याउन चितवन गएका हुन् । जसले जहाँ महाधिवेशन गरेपनि अब माओवादीलाई कसैले रोक्न सक्दैन । आगामी निर्वाचनमा ६४ सालको जस्तै पहिलो बन्ने सम्भावना छ । कायरहरुप्रति आक्रामक ढंगले प्रस्तुत हुनुस् । मर्न परे पहिलो हामी मरौंला मुकाबिला गर्नुस्।’

प्रतिक्रिया