प्रचण्डको आँट र साहसबाट मात्रै परिवर्तन सम्भवः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा अर्थमन्त्रीले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताएका हुन् ।

शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्याईलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका सदस्यलाई निर्देशन दिए । उनले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताए ।

उनले भने, ‘नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आइपुग्छन, त्यतातिर नहेर्नुस् ।’ अर्थमन्त्री शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरुको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आवद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने बताए ।


 

प्रतिक्रिया