बाबा रामदेव ठूलो क्रान्तिकारीः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् ।

पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आयुर्वेद औषधि विश्वले नै मानिसकेको र यसको कुनै असरसमेत नभएकाले यो जीवनोपयोगी भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले योग र ध्यान तथा आयुर्वेद औषधि निर्माण र प्रयोगमा योगऋषि स्वामी रामदेव बाबा र आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले गरेको अनुसन्धान, प्रचार र योगदानको सराहना गरे ।

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा आयुर्वेद औषधि प्रशोधन तथा उत्पादनका लागि गैरनाफामूलक उद्योग स्थापना र सञ्चालन गर्न उनीहरुलाई सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले बाबा रामदेव र आचार्य बालकृष्ण नेपाललाई माया गर्ने व्यक्ति भएको भन्दै उनीहरुले नेपाललाई गरेको विभिन्न सहयोगका लागि धन्यवाद दिए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाबा रामदेव र आचार्य बालकृष्णले योगबाट नयाँ क्रान्ति, साधना योगबाट समाजलाई निरोगिता र आरोग्यबाट उद्योगतिर रुपान्तरण गरेकाले उनी ठूलो क्रान्तिकारी भएको बताए ।

अध्यक्ष दाहालले नेपाल जडीबुटीको भण्डार भएको र उनीहरुले नेपालमा त्यसको प्रशोधन र उत्पादनका लागि उद्योग खोल्ने योजना महत्वपूर्ण भएको भन्दै नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा गर्नुभएको योगदानका लागि धन्यवाद दिए ।

विद्यार्थीको पठनपाठन लागि स्थापना गरिएको रत्न सर्राफ भवन, पतञ्जली नेपाल र आस्था नेपाल टिभी तथा स्वदेशी समृद्धि कार्डको उद्घाटनले नेपाली समाजमा नयाँ प्रेरणा प्रदान गर्ने र यस कार्यले सबैमा नयाँ ऊर्जा प्राप्त भएको उनको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आयुर्वेद औषधि र प्राकृतिक चिकित्साको बेग्लै महत्व रहेको उल्लेख गर्दै यो र आधुनिक विज्ञानको संयोजन गरी अघि बढे मानव स्वास्थ्यका क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने बताए । उनले योग गर्न सुरु गरेपछि आफ्नो स्वास्थ्यमा भएको सुधारको स्मरण गर्दै सबैको जीवनमा योग र साधनाको ठूलो महत्व रहेको बताए ।

कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिएका भारत सरकारका केन्द्रीय सडक परिवहन एवं राजमार्ग मन्त्री नितिन गडकरीले कोभिड–१९ बाट विश्व नै आक्रान्त भएका बेला पतञ्जलीजस्ता संस्थाले योगविज्ञान र आयुर्वेदका माध्यमबाट समाजमा गरेको सहयोग र मानिसमा सकारात्मक भावना उत्पन्न गर्नेलगायत काम गरेको भन्दै प्रशंसा गरे । उनले बाबा रामदेव र आचार्य बालकृष्णले नेपाल र भारतका जडीबुटीमा अनुसन्धान, प्रशोसन, उत्पादन, औषधि निर्माण गरी मानव जीवनमा राहतको महत्वपूर्ण काम गरेको बताए ।
 

प्रतिक्रिया