को होला कांग्रेसको भावी सभापति ? 

Sanjeeb Karkiरफ गरेर टाल्दाटाल्दै पनि च्यातिएको नछोपिने बरु अरु धेरै भ्वाँग देखिने कपडा भएको छ नेपाली कांग्रेसको संवैधानिक र वैधानिक स्थिति । १४औँ महाधिवेशन पटक पटक सरेर बैधानिकताका अनेकन झन्झट खेपेर कांग्रेस जसरी पनि महाधिवेशन तोकेको मितिमा सक्नुपर्ने बाध्यतामा छ । लिमिट क्रस गरेर बोर्डर लाइनमा पुगेका थुप्रै रोगको अवस्था झैं भएको कांग्रेस आफ्नो मुखिया चयन गर्दै महाधिवेशन मार्फत नयाँ नेतृत्व छान्ने सकसमा सकिनसकी घिस्रिने क्रमउपक्रममा छ । पटक पटक महाधिवेशनको मिति सारेर आफ्नो मूल वैधानिकता गुमाएको कांगेस यही मङ्सिर २७ देखि २९ सम्म वैधानिकता जोगाउने छिद्र खोज्दै अधिवेशन सम्पन्न गराउनु पर्ने बाध्यतामा छ कांग्रेस । कैयौं ठाउँमा क्रियाशील सदस्यता विवाद र कति जिल्लामा रहेका बिबादका बाबजुद कांगे्रसलाई महाधिवेशन तोकिएको समयमा सक्ने सीमाले आन्तरिक तयारीमा अस्तव्यस्त छ । 

नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक अभियानको अभियन्ता पार्टीको मूली बन्ने रहर कांग्रेसजनको लागि स्वाभाविक सपना हो । हिंग सकिए पनि कांग्रेस हिंग बोकेको टालोको रुपमा नेपाली राजनीतिमा उपस्थित एक महत्वपूर्ण राजनीतिको खेलाडी पार्टीको रुपमा बिभिन्न आरोह अवरोह छिचोल्दै पुन सत्ताको आरोहणमा छ । आफ्नो लामो इतिहासको दर्वियानमा २०१५,२०४८ र २०५६ मा तीन पटक स्पष्ट बहुमत र २०१५ मा दुई तिहाई जित हासिल गरेको कांग्रेस पुन अर्कोपटक बहुमत सिध्द गर्ने स्थितिमा छ ।

नेपाली कांग्रेस दुई पटक ठूला विभाजनको पीडाबाट गुज्रिएको पार्टी हो । पहिलोपटक कांग्रेस बिभाजन हुँदा २००९मा कांग्रेस सभापतिमा मातृकाप्रसाद कोइराला सभापति थिए भने २०५९ मा कांग्रेस विभाजित हुँदा शेरबहादुर प्रधानमन्त्री थिए । सत्ता र शक्तिको खेलमा पार्टी बिभाजन आम पार्टीको महारोग र व्यवथापकीय क्षमताको अभाव हो । नेकपाको बिभाजन र नेकपा एमालेको बिभाजन पनि सत्ता र शक्तिको उचित व्यवस्थापनको अभावले भएको हो । नेकपा छिन्नभिन्न हुनुको प्रत्यक्ष फाइदा लुट्ने कुनै पार्टी छ भने त्यो नेपाली कांग्रेस हो । 

आगामी आवधिक निर्वाचनपछि कसैले पूर्ण बहुमत साथ सत्ताको साँचो लिन्छ भने त्यो नेपाली कांग्रेसको हकमा मात्रै दावी गर्दा यथार्थको नजिक हुनजान्छ । भलै कांग्रेस एकतावध्द र अन्तर्घात रहित हुनुको टड्कारो सर्त र अवस्था भने स्वीकार्य छ । आफ्नो पुरानो जनमत जोगाउदै स्विंग मत हल्का आफूतिर आकर्षित गर्न सक्यो भने कांग्रेस पूर्ण बहुमत सहित संघीय संसदमा बहुमत र करिब पाँच प्रदेशमा एकल सरकारको प्रवल दावेदार बन्छ नै । यद्यपि शर्तहरु कांग्रेस नेताहरुको एकतावध्द चुनावी अभियान र जो जिते पनि मन वचन र कर्मले कांग्रेस जिताउने अभिष्टमा केन्द्रित हुँदा मात्रै सम्भव छ । कांग्रेस नेपाली राजनीतिमा पार्टीभित्रको अन्तर्घातको जननी भएको र झन् यतिबेला मजबूत सरकार बनाउने सपनामा आफ्नो आन्तरिक प्रतिस्पर्धीलाई बाटो थुन्ने अभियानमा सरकारको नेतृत्व लिने हैसियत र रहर भएका नेताहरुको कुबुद्धिले घर गर्यो भने कांग्रेस पराजित बन्ने सम्भावना पनि ज्युँकात्यूँ भएको सम्भावित तथ्य पनि सामान्य अनुमान मात्रै होइन ।

कांग्रेसको इतिहास पढेर, कांग्रेसको २०४८ देखि आज पर्यन्त गतिबिधि देखेर आम राजनीतिक मान्छेले गर्ने विश्लेषण हो कांग्रेसका सन्दर्भमा । आज पनि कांग्रेस आफ्नै बुता र तागतले चुनाव जित्ने स्थितिमा छैन । नेकपाको अवन्नति नै कांग्रेसको उन्नतिको जग हो तसर्थ कांग्रेस सुध्रिएर, सप्रिएर, कांग्रेसको जनमुखी नीतिको कारण कांग्रेस जित्दै छैन । माहोल भएर पनि होश पुर्याउन सकेन भने कांग्रेस माछोमाछो भ्यागुतो हुने परिस्थितिबाट टाढा नजान पनि सक्छ ? अहिले पनि कांगेसलाई डिभी परेर सत्ताको बागडोर आइपुगेको हो र भोलि पनि लट्री पर्ने अत्यधिक र सुनिश्चितता भएको कारण कांग्रेस सत्ताको आकांक्षाले आफैंभित्र मारमुंग्री गरेर कसले सत्ता हत्याउने भन्ने होडमा एकले अर्कालाई पछार्ने परम्परागत अभ्यास नगर्लान् भन्ने स्थिति छैन ।

देशका दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमाले यतिबेला आ–आफ्नो महाधिवेशन गरेर आफ्नो मूल नेतृत्व स्थापना गर्ने होडमा भए पनि एमालेको हकमा खड्ग प्रसाद ओली एक मात्र निर्विकल्प अध्यक्षका उमेद्वार र प्रतिस्पर्धा रहित व्यक्तित्व हुन् । सम्भवत उनलाई निर्विरोध पार्टी अध्यक्ष घोषणा गरेर एमालेले आफ्नो अधिवेशन सकाउने छ त्यसैले त्यताको चर्चा आवश्यक  छैन । तर कांग्रेसभित्र सभापतिको प्रतिस्पर्धा गर्ने लर्को देखिन्छ ।

त्यसैले यो आलेखको शीर्षक नै कांग्रेसको सभापति को भन्ने प्रबन्ध गरिएको छ ।  कांग्रेसभित्र १४औं अधिवेशनमा सत्ता प्राप्तिको अभिलाशा सहित यति धेरै नेताले सभापति पदको उमेद्वारी घोषणा गर्ने सिलसिला यसैको कडी हो । जतिसुकै कटु लागे पनि कांग्रेसको सभापति बन्ने स्वाभाविक पात्र शेरबहादुर देउवा र रामचन्द्र पौडेल नै हुन् । यिनै दुईलाई भाले भिडन्त गराएर कांग्रेसजनले आउँदो चुनाव जित्ने रणनीति अवलम्बन गर्नु उचित हुनेछ । अहिले ज–जसले पार्टी सभापतिको दावेदारी प्रस्तुत गरेका छन् ती सबैको दाउमा भोलि सत्ता सयरमा आफ्नो हिस्सा दावी गर्न र शक्ति सन्तुलनमा भूमिका खोज्नुमा लक्षित छ ।

घोषित उमेद्वार सबैलाई आफू पार्टी सभापति जित्छु भन्ने पूर्ण विश्वास पनि छैन तर पार्टी राजनीति र सत्ता राजनीतिमा आफ्नो जबर्जस्त उपस्थिति उनीहरुको अभिष्ट छ । राजनीतिमा यसलाई स्वाभाविक मानिन्छ पनि । संस्थापनको लिगेसी हुने दुई पात्र फरक फरक खेमा भए पनि शेरबहादुर र रामचन्द्र नै हुन् भन्ने कुरामा द्वीविधा नगर्दा हुन्छ । शशांक, सुजाता, प्रकाशमान र बिमिलेन्द्र नेता पुत्रपुत्रीहरु क्रमशः विश्वेश्वरप्रसाद, गिरिजाप्रसाद, गणेशमान, महेन्द्रनारायण र शेखर, कोइराला वंशका उत्तराधिकारीको रुपमा आफ्नो दावी प्रस्तुत गर्दैछन् भने अव्वल र चतुर नेताको छविमा कृष्ण प्रसाद सिटौलाको आफ्नो दावी पाइन्छ । कांग्रेसमा सभापति बन्न लायक अरु थुप्रै नेताहरु र तेश्रो पुस्ताका नेतासमेत तयार छन् तर संरचनात्मक लाभ र मनोविज्ञानका हिसाबले उपर्युक्त नेताहरु नै अगाडि आउने सामथ्र्य राख्छन् ।

यही कारण उनीहरु आफ्नो उमेद्वारी घोषणा गरिरहेछन् । पौडेल, देउवा र सिटौला १३औं अधिवेशनका प्रत्याशी भएका कारण स्वाभाविक उमेद्वार हुन् भने पौडेल र देउवाले अघिल्लोपटक आफू जित्न दिएको आश्वाशनको बाइप्रोडक्ट सभापतिका बग्रेल्ती अभिलाशी छन् । सिटौला सभापति पदमा चुनाव जित्ने हैसियत राख्दैनन् तर हिजो चुनाव जिताउने हैसियत राख्नेगरि चुनाव लडेर शक्ति संचय गरेको अनुभवको सदुपयोग गर्दै च्याँखे खान पल्किएका सहायक जुवाडे हुन् भन्दा अतिशयोक्ति हुँदैन । सुजाता कोइरालाले गिरिजा प्रसादकी छोरी भएको नाताले उमेदवार घोषणा गरेकी तर क्षमता नभएकी केवल गिरिजाप्रसादको लाड प्यारले हुक  लगाएर कांग्रेसको नेतृत्व र उपप्रधानमन्त्री समेत बनेकी भाग्यमानी महिला हुन् ।

कांग्रेस केन्द्रीय सदस्य नारी भएको कारण जिताउनुपर्ने बाध्यतामा परेर जिते मात्रै अन्यथा त्यतातिर पनि उनको लागि ढोका खुल्नु आवश्यक छैन । आफ्ना बाबु विश्वेश्वरप्रसादका फोटो कपीको रुपमा कार्यकर्ताले महामन्त्री जिताएका विश्वेश्वरका कान्छा छोरा शशांक कोइराला कांग्रेस केन्द्रिय सदस्य बाहेक अरु भाइटल पदका हकदार हुन सक्दैनन् भन्ने कुरा उनको निर्वाचित महामन्त्री पदको कार्यकालले प्रस्ट पारेको छ । केही अघिसम्म हिन्दु धर्म र नेपालललाई हिन्दु राज्य घोषणाको मुद्दाले कांग्रेस सभापति जित्न सकिन्छ भन्ने शशांकलाई लागेको थियो तर यो प्रत्युत्पादक बन्ने र आफ्ना पिताको आदर्श धर्म सम्बन्धिको दृष्टिकोण प्रतिकूल हुने खतरा देखेर हाल शशांक व्याक भएका छन् । तरपनि शक्ति आर्जनको अन्धताले आँखा टालेर शशांकले अन्तिम अश्त्रको रुपमा हिन्दु धर्मको कुरा गरेर हिन्दु बहुल राज्यको सहानुभूति क्यास गर्ने धृष्टता नगर्लान् भन्न सकिन्न ।

राजनीति सरल रेखामा होइन बक्रतामा विश्वाश गर्दछ । काठमाडौँका लोकप्रिय नेता प्रकाशमान गणेशमान पुत्र हुनुको गर्व बोध गर्छन् तर कांग्रेसको महामन्त्री भैसकेर पनि काठमाडौं खाल्डो बाहिर पहुँच विस्तार गर्न नसकेका हुनाले यो पटक नै कांग्रेस सभापति उनको लागि आकाशकै फल सावित हुने कुरा भन्न ज्योतिष नै हुनुपर्दैन । तथापि भोलिका दिनमा थुप्रै संयोगले प्रकाशमानलाई कांग्रेसको मुखिया बन्न स्वागत नै गर्नेछ ।

शेखर कांग्रेसका अहिले पनि प्रवल दावेदार र लोकप्रिय नेताको रुपमा चिनिन्छ्न । आफ्ना भाइ र बैनीको (सुजाता र शशांक) साथ लिने शौभाग्य पाए र उपर्युक्त महामन्त्री गगन र विश्व प्रकाश मध्ये एकलाई खडा गरेर समानुपातिक प्रतिनिधित्वको प्यानल बनाउन सके कांग्रेस सभापति हुने ल्याकत राख्छन् । पार्टीको क्रियाशील राजनीतिमा ढिलो प्रवेश गरेर पनि स्थापित अरु नेतालाई लोकप्रियतामा पछि पार्ने कोइरालालाई काँध दिने उनका समकालीन छैनन् । कार्यकर्ता माझ भने यिनको पकड बलियो भएको कांगेसकै कार्यकर्ताको निचोड छ । रामचन्द्रलाई प्रधानमन्त्री र आफू पार्टी सभापति बन्ने आन्तरिक सहमति जुटाउन सके भने शेर बहादुर देउवालाई प्रतिस्थापन गर्ने व्यक्ति शेखर नहोलान् भन्न सकिन्न ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सभापति बनिसकेको कारण राष्ट्रिय रुपमा स्थापित नेता भए पनि बिमलेन्द्र निधिको मधेशी अरु नेताहरुसँग सामिप्य अभावले सभापति बन्ने सम्भावना क्षीण छ । प्रकाशमान सिंहलाई प्रधानमन्त्री र आफू पार्टी सभापति बन्ने सहमति गरेर महाधिवेशनको मैदानमा गए यिनी पनि अहिले भन्दा बलियो उमेद्वार बन्न चै सक्छन् । प्राय सभापतिका उमेदवारलाई महामन्त्री छान्ने सकसले पनि हैरान पारेको छ ।

आज सभापतिका जो जो उमेद्वार जुन जुन स्थितिमा छन् भनियो सो स्थितिमा फेरबदल हुने सम्भावना पनि उत्तिकै देखिन्छ । सभापति पछि महामन्त्री, सहमहामन्त्री र उपसभापति चयनमा नेताहरुको बुध्दिमता, सन्तुलन र समावेशिताले धेरै कुराको अर्थ राख्छ । आज जे शक्ति सन्तुलनको विवेचन गरियो त्यसमा भिन्नता आउँछ तर तात्विक अन्तर र आकाश पातालको अवस्था भने निम्तिने शक्ति सन्तुलन बन्ने छैन ।

थुप्रै एतिहासिक राजनीतिक कालखण्ड र घटनाको नेतृत्व गरेको कांग्रेस पार्टीको सभापति बन्ने होडमा संलग्न सबैलाई शुभकामना ! 
 

प्रतिक्रिया