अनुहार चम्काउने तरिका

सानो चम्चाको दुई चम्चा बेसन,एक चम्चा कागतीको रस,एक चम्चा बदाम वा नरिवलको तेल र एक चम्चा नौनी घ्यू एकै ठाउँमा राखी लेप तयार गर्ने। यो लेप तयार भएपछि अनुहारलाई अलिकति गाईको दूधले सफा गरेर पानीले अनुहार धुने। पानी सुकेपछि सो लेप अनुहारमा लगाउने। लेप सुकेको २० मिनेटपछि मनतातो पानीले अनुहार धुने। यसो गर्दा छाला चाउरिन थाले पनि बिस्तारै हटेर जान्छ।

पुदिनका पातलाई पिसेर बनाएको लेदोलाई अनुहारमा लेप गर्नाले घाउ खटिराका साथै अनुहारमा रहेको दागलाई पनि हटाईदिन्छ।

टमाटरको रस निकालेर अनुहार तथा गर्दनमा दल्ने । सो रस सुकेको २० मिनेटपछि चिसो पानीले अनुहार धुने,छालामा निक्खरोपना आउँछ।

अन्डाको सेतो भागमा एक दुई थोपा मह फिटेर तयार गरिएको फेसमेक हप्तामा एक पटक प्रयोग गर्नाले तैलिय छालाका लागि अत्यन्तै लाभदायक हुन्छ।

अलिकति बेसन र काँचो दूधमा एक दुई थोपा मह फिटेर बनाएको फेसमेकको प्रयोगले जुनसुकै छालालाई पनि फाईदा हुन्छ।

महलाई पानी अथवा कागतीसँग मिलाएर अनुहारमा लगाउँदा अनुहार सुन्दर देखिन्छ।

काँक्रो काटेका बेलामा निस्केको पानीलाई कुनै भाँडामा राखेर सो पानी अनुहारमा दल्ने गर्नोस् । पानी सुकेको १० देखि १५ मिनेटपछि चिसो पानीले मुख धुने गरे अनुहारमा चमक  नरमपना आउँछ।

अलिकति गाईको दूधमा जैतुनको तेल मिसाएर दिनैपिच्छे सुत्नुभन्दा अगाडि अनुहारमा तलतिरबाट माथितिर मालिस गर्ने। मालिस सकेको १५ मिनेटपछि चिसो पानीले मुख धुने गर्दा असमयमै छाला चाउरिन पाउँदैन। यदि चाउरी परेको छ भने पनि सो चाउरिएको  छालामा समेत सुधार हुँदै आउँछ।

रातो या सेतो चन्दन घोटेर निस्केको लेप या मुसुरोको दाल पिसेर बनाएको लेपलाई अनुहारमा दल्ने। लेप सुकेको १० देखि १५ मिनेटपछि चिसो पानीले मुख धुने। यसो गर्दा अनुहारमा देखिएका दागहरु बिस्तारै हटेर गई अनुहारमा चमक बढ्छ।

अनुहारको चाउरीलाई हटाउन अलिकति कागतीको रसमा त्यति नै मह मिसाएर लेप बनाई सो लेप अनुहारमा दल्ने गर्नुहोस्। १५ मिनेटपछि चिसो पानीले मुख धोएपछि जैतुनको तेलले मालिस गर्नोस् । यो क्रम हप्तामा दुई तीन पल्ट गर्दै गए छिट्टै अनुहारमा चाउरी परेको छालामा धेरै प्रगति हुन्छ।

एक दुई चम्चा मकैको पीठोमा एक चिम्टी फिट्किरीको धूलो मिसाएर मुछ्ने र अनुहारमा लगाउने। १० देखि १५ मिनेटसम्म सुक्न दिने र एक दुई लिटर पानीमा तीन थोपा डिटोल घोलेर आँखा जोगाएर धोएमा अनुहार सफा हुन्छ।

राति सुत्ने बेलामा मुख धोएर फिट्किरी रगडेर सुत्ने र बिहान उठेर कागतीको रस पुनःमुखमा लगाउने अनि पाँच साता मिनेटसम्म सुक्न दिई सफा पानीले मुख धुनाले अनुहारको चमक बढ्छ। (स्रोतः लक्ष्मण राजभण्डारीको ‘सरल प्राकृतिक उपचार’ पुस्तकबाट)

प्रतिक्रिया