थाइल्याण्डमा विचल्ली परेका डेढ सय यात्रुको उद्धार

काठमाडौं। थाइल्याण्डको राजधानी बैंककमा अलपत्र परेका डेढ सय नेपालीको ४ दिनपछि उद्धार भएको छ।

गत शुक्रबार नेपाल एयरलाइन्सको आरए–४०२ विमानको चक्का पड्किएपछि देश फर्किन आतुर डेढ सय नेपाली यात्रु बैंककमा अलपत्र परेका थिए। उनीहरूलाई सूवर्णभूमि विमानस्थलको नजिकै रहेको चोरछेर होटलमा राखे पनि विमानका कुनै कर्मचारीले संवाद गरेका थिएनन्। होटलको रिसेप्सनमार्फत संवाद भएको थियो। यस्तो अवस्थामा शुक्रबारदेखि अलपत्र परेका यात्रु अन्यौलमा थिए।

दृश्यटिभीले थाइल्याण्डमा अलपत्र नेपालीको विषयमा यसअघि समाचारमा उल्लेख गरेको थियो। सोमबार साँझ ५ बजे विमान बैंककबाट काठमाडौंका लागि उडान भरेको एक यात्रुले दृश्यटिभीलाई जानकारी दिए। उनले भने, ‘नेपाल एयरलाइन्सको अर्को विमानले अहिले उद्धार गरेको छ।’ नेपाल एयरलाइन्सले सातामा दुई दिन शुक्रबार र सोमबार बैंककका लागि उडान गरिरहेको छ।

कोभिडका कारण थाइ एयरलाइन्सले भने सेवा स्थगित गरेको छ। गत शुक्रबार थाइ समयअनुसार ४ बजेर ४५ मिनेटमा घर फर्किन लाग्दा सूवर्णभूमि विमानस्थलमा आरए–४०२ विमानको चक्का रनवेमा फुटेको थियो। एयरलाइन्स कर्मचारीले राती २ बजे यात्रुहरूलाई होटल पुर्याएका थिए।

 

नेपाल एयरलाइन्सको लापरबाही, ४ दिनदेखि बैंककमा डेढ सय यात्रु अलपत्र

प्रतिक्रिया