माल्दिभ्समा भेटियो ‘रेन्बो रंग’ को नयाँ प्रजातिको माछा

काठमाडौं। छिमेकी देश माल्दिभ्समा विश्वकै सबैभन्दा रंगीन माछा पत्ता लागेको छ। यो माछा यस कारण पनि विशेष मानिएको छ कि यसको पुरै शरीर इन्द्रधनुष जस्तै खुलेको देखिन्छ। यसैले माछाको नाम नै ‘रेन्बो फिस’ बाट विश्वभरी प्रख्यात हुँदैछ।

बैज्ञानिकहरूले आफूले पत्ता लगाएको यो माछाको नाम ‘रोज विल्ड फेयरी रास’ राखेका छन्। यसले माछाको गुलाबी रंगलाई संकेत गरेको छ। तर, यसको बैज्ञानिक नाम भने ‘सिरहीलेब्रस फिनिफेन्मा’ हो। माल्दिभ्सको स्थानीय धिवेही भाषामा ‘फिनिफेन्मा’ को अर्थ गुलाब हुन्छ। माल्दिभ्सको राष्ट्रिय फूल ‘पिंक गुलाब’ हो। यसको प्रतिनिधित्व गर्न माछाको नाम यस्तो राखिएको बताइएको छ।  

fish1

राष्ट्रिय समुन्द्र तथा पर्यावरणीय विभाग (एनओएए) का अनुसार ‘रेन्बो फिस’ पश्चिमी हिन्द महासागरमा भेटिएको हो। यो माछा समुन्द्रको गहिराइमा भेटिने ‘कोरल रिफ’ (मुँगा पत्थर) को बीचमा बसोबास गर्छ। समुन्द्रको यो ठाउँलाई ‘टवाइलाइट जोन’ पनि भनिन्छ। बैज्ञानिकले यो माछालाई एक सय एक्तिसदेखि २२९ फिटको बीचमा भेटेका थिए।

अनुसन्धानबाट भाले तथा पोथी ‘रेन्बो फिस’ को रंग समान नभएको पत्ता  लागेको थियो। भाले माछाको रंगमा सुन्तला, मेजेन्डा र पहेँलो रंगको समिश्रण भेटिएको छ। यस्तै, पोथी माछामा रातो, गुलाबी र निलो रंग बढी छ।

बैज्ञानिकहरूले सन् १९९० मा पनि यस्तै माछाको खोजी गरेका थिए। तर, त्यतिबेला रंगको विषयमा द्विविधा हुँदा यो प्रजातिको माछालाई सबैले ‘रेड भेलवेट फेयरी रास फिस’ मानेका थिए।

‘रेड भेलवेट फेयरी रास फिस’ अर्थात ‘रिहीलेब्रस रुब्रिस्क्वामिस’ पनि रंगीन प्रजातिको माछा हो। यो पश्चिम हिन्द महासागरमै भेटिन्छ। सोधकर्ताले दुवै प्रजातिका माछाहरूको डिएनए टेस्ट गरेपछि पत्ता लागेको थियो, दुवै माछामा आकाश–जमिनको फरक छ। उनीहरूको शारीरिक बनोट र रंगमा पनि अन्तर देखिएको छ।  

माल्दिभ्स मरिन रिसर्च इन्सिच्युटका अनुसन्धानकर्ता अहमद नजीब भन्छन्, माल्दिभ्समा माछाको एक हजारभन्दा बढी प्रजाति पाइन्छ। तर, अहिले फेला परेको माछा पहिलो पल्ट पत्ता लागेको हो। त्यसैले यसको खोजीलाई विशेष मानिएको छ। 

प्रतिक्रिया