आफैंले थापेको एम्बुसमा प्रचण्ड

काठमाडौं । राजनीतिमा ‘सम्यक’ शब्द बर्जित छ, ‘दाउपेच’ को बोलवाला छ । पहिलो शब्दको प्रभावमा पर्दा चल्दैन राजनीतिको व्यापार । दाउपेच नगरी कसरी हुन्छ सत्ता समुन्द्र वारपार !

‘सन्तुलन’ त चल्नुपर्ने हो । यो पनि टिक्न सक्दैन नेपाली राजनीतिमा । गुट उपगुटले यसलाई ख्वाप्लाक्कै निलिदिन्छ । कसरी हुनसक्छ तब सन्तुलन ? 

छानामुनी एउटा भाषा, मानामुनी अर्कै भाषा बोल्न खप्पिस नेताहरुका ओठमा न ‘सम्यक’ उम्रन्छ न त ‘सन्तुलन’ नै फक्रन्छ ! बरु लटरम्म झुलेको छ तिनका नकच्चरा ओठमा दाउपेच  !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हकमा यो प्रसंग मिल्न सक्छ । उनले हतियार बनाउँदै आएको उपयोगको राजनीतिबाट धेरै नेताहरु सख्त घाईते भएका छन् । नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालालाई ‘पहिलो राष्ट्रपति’ बनाईदिने आफ्नो वचन र बेइमानी प्रचण्ड स्वयंले पत्रकारहरु समक्ष चर्चा गरेका छन् । यो उनीमाथिको कुनै एकांगी आरोप होइन । शान्ति प्रक्रियामा आएपछि आफूले गर्नै नहुने दुइवटा गल्ती गरेको चर्चा गर्दा उनले कोइरालालाई दिएको धोकाको बारम्बार चर्चा गरिसकेका छन् । उनले त्यो ‘बेइमानी’ को इमान्दारिपूर्वक वयान गरिसकेका   छन् । अर्को गल्ती उनले भारतलाई चिढ्याउनुलाई उल्लेख गरेका छन् । 

यसबाहेक पनि प्रचण्डका ढुलमुले व्यवहारबाट अरु नेता समेत प्रभावित बनेका अनेक उदाहरण सुनिन्छन् । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पहिलो संविधान सभाको निर्वाचन गराउने सरकारको प्रधानमन्त्री बन्न फकाएको प्रसंग झन रोचक रहेको जानकारहरु सुनाउँछन् । गिरिजा प्रसाद कोइरालाले निर्वाचनको मिति तोक्न आनाकानी गरेकोले उनलाई हटाएर माधव नेपाललाई प्रधानमन्त्री बनाउन प्रचण्डले बालुवाटारको फूलबारीमा आश्वासन दिएका थिए । तर केहीबेरमै प्रधानमन्त्री कोइरालासँग भेटेपछि माधव नेपालको अनुहारमै नहेरी कोइराला बिना संविधान सभाको निर्वाचन हुनैनसक्ने भन्दै सकेसम्म चाँडो मिति तोक्न अनुरोध गरेको थाहा पाउने केही नेता आजभोलि प्रचण्डसँगै सहकार्य गरिरहेका एक एमाले नेताले बताए ।

यही दोधारे स्वभाव र व्यवहारको पछिल्लो कडी एमसीसीको चर्चित पत्र भएको जानकार सूत्रहरु बताउँछन् । यही कारण प्रचण्ड अहिले आफैंले थापेको एम्बुसमा परेका हुन् । एमसीसी मुख्यालयलाई पठाएको पत्र सार्वजनिक भएपछि उनको दोहोरो भूमिका उदांग भयो । खण्डन गर्ने साधन स्रोत र सञ्चार समेत उनको साथमा देखिएन । सर्वत्र आलोचना भैरहँदा पनि प्रचण्ड भने कर्मकाण्डी कम्युनिस्ट भाषामा अन्तर्राष्ट्रिय समुदायमाथि दोष थोपरेर पानीमाथिको ओभानो हुन खोजिरहेका छन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कुनैबेला सुनाएका थिए, प्रचण्डको खतरनाक योजना । पहिलो संविधानसभाको निर्वाचनपछि प्रचण्ड पहिलोपटक प्रधानमन्त्री बन्दा आफू तत्कालीन प्रधानसेनापति रुक्माङगत कटवाललाई हटाउन इच्छुक रहेको र त्यस विषयमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालालाई ‘कन्भिन्स’ गरिदिन शेखरसँग अनुरोध गरेका  थिए । शेखरले ‘अहिले नै यस्तो काम गर्नुभयो भने तपाईंलाई अप्ठेरो पर्छ । अहिलेसम्म अराजनीतिक रहेको एउटा संस्था सेना मात्रै हो । त्यसलाई पनि राजनीतिसँग जोडियो भने गाह्रो हुन्छ । तर, तपाईंले भनिसकेपछि म गिरिजाबाबुलाई भन्न त भनुँला । तर, उहाँबाट हुँदैन भन्ने जवाफ आउँछ । म अहिले नै उहाँका तर्फबाट तपाईंलाई जवाफ दिन सक्छु’ भनेर जवाफ दिएका थिए ।

त्यस क्रममा शेखर र प्रचण्डको लामो अन्तरंग छलफल भएको थियो । प्रचण्डले भनेका थिए, ‘हामीले खोजेको एकदलीय शासन व्यवस्था नै हो । तर, दुईतिहाइ बहुमत पार्टीको नआएकाले त्यो सम्भव भएन ।’ 

त्यसपछि नबुझेजसरी कस्तो हो एकदलीय शासन व्यवस्था भनेर शेखरले प्रश्न गर्दा ‘चीनको जस्तो’ भन्ने जवाफ दिएका थिए प्रचण्डले । चीनमा कस्तो शासन व्यवस्था छ त भनेर शेखरले सोधेको प्रश्नको जवाफमा प्रचण्डले चीनमा एउटै कम्युनिस्ट पार्टी छ । त्यसमा प्रतिनिधि हुन र कार्यकारी पदमा को उठ्न पाउने, को उठ्न नपाउने भन्ने निर्णय पार्टीले लिन्छ भनेर जवाफ दिएका थिए । त्यसबेला प्रचण्डको अर्को सम्वेदनशील भनाई थियो, ‘बहुलवाद र बहुल विचार हाम्रो डिक्स्नरीमै छैन र हाम्रो अन्तिम लक्ष्य साम्यवाद नै हो ।’  

शेखरले छलफलकै क्रममा ‘पशुपतिमा मूल भट्ट हटाएको निर्णय फिर्ता लिन बाध्य हुनुभयो, त्यो जस्तै अन्य निर्णय गरेमा पछुताउनुपर्ला, त्यसैले विचार पुर्याएर निर्णय लिनुस्, ताकि पछि आफ्नै निर्णय फिर्ता लिनु नपरोस् भन्ने सुझाव दिएका थिए ।

तर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका हैसियतमा प्रतिनिधिसभा बिघठनको सिफारिस गर्दा माओवादी अध्यक्ष प्रचण्ड त्यसको विरोधमा उत्रिए । बिघठन विरुध्द सर्बोच्च अदालतमा परेको मुद्दाका पक्षमा हस्ताक्षर गर्न उनी अदालतमै लाईन लाग्न गए । त्यसपछि पुनस्थापित प्रतिनिधिसभा र परमादेशबाट बनेको सरकारमा त उनी सत्ताका मुख्य हिस्सेदार नै छन् । अहिले एमसीसी पत्र प्रसंगले भने प्रचण्डलाई ‘कर्डन एण्ड सर्च’ गर्दै एम्बुसमै बन्धक बनाईदिएको राजनीतिक विश्लेषकहरुको बुझाई छ ।

सम्यक दृष्टि र सन्तुलित व्यवहार गर्न नसक्दाको परिणाम धेरै नेताले भोगिसकेकै हुन्, अहिले भोग्दैछन् प्रचण्ड । 
 

प्रतिक्रिया