माओवादी केन्द्रद्वारा विधान संशोधन, प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी विधान संशोधन गरेको छ । शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले संशोधन गरेको विधानअनुसार प्रदेश र पालिकामा सात सदस्यीय पदाधिकारी रहने निर्णय गरेको छ ।

जसअनुसार पदाधिकारीमा एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, एक सहसचिव र एक कोषाध्यक्ष रहनेछ । साविकको विधानअनुसार सो समितिमा पाँच पदाधिकारी रहने व्यवस्था थियो । कार्यालय सचिव श्रीराम ढकालका अनुसार संशोधित विधानमा पाँच सदस्यीय वडा पदाधिकारी रहने व्यवस्थासमेत गरिएको छ । त्यसैगरी बैठकले सङ्गठित सदस्यता नवीकरणका लागि समय नथप्ने निर्णय गरेका छ ।

अहिले सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ गतेसम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ ।
 

प्रतिक्रिया