एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन सक्दैनन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द (विप्लव) समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीका नेता कार्यकर्तालाई माओवादी केन्द्रमा प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले विप्लव माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका हुन् ।

उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको भन्दै मोहन वैद्य किरण, डा.बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।

उनले आराम गर्दै, रमाइलो मान्दै जस्तो गरेर माओवादी क्रान्तिलाई अघि बढाउन नसकिने भन्दै समाजवादतर्फ इमान्दार हुने कम्युनिष्टहरु ढिलोचाँडो पुरानो घरमा फर्किएर आउने बताए ।

उनले भने, ‘ढिलोचाँडो विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु, अलग बसेर होइन, हामीसबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ । कुनै रोमान्स जस्तो गरिकन लैजान सकिँदैन । त्यसकारण मलाई विश्वास छ अहिले कुराकानी पनि चलिरहेको छ, किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकतावद्ध हुनैपर्छ ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले एकै युग र एउटै कालखण्डमा धेरै प्रचण्ड हुन नसक्ने बताए । उनले एउटा समयमा जनता, आन्दोलन, समय र संघर्ष, सही विचार र बलिदानबाट मात्रै प्रचण्ड पैदा हुनसक्ने बताए ।

उनले कोही एक व्यक्तिको चाहनामा र लहर चल्दैमा क्रान्ति नहुने भन्दै प्रचण्ड नेपाली जनताले जन्माएको बताए । उनले प्रचण्ड व्यक्ति नभइ सही विचार, बलिदान, संघर्षको प्रतिक भएको पनि बताए ।

उनले भने,‘प्रचण्ड व्यक्ति होइन, फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैन, थुप्रै लेनिन, माओ हुने हुँदैन,एउटा समय र एउटा कालमा जनताले पैदा गर्ने हो, आन्दोलनले, संघर्षले, बलिदानले प्रदा गर्ने हो, सही विचारले पैदा गर्ने हो, सही निर्णयहरुले पैदा गर्ने हो ।’

प्रतिक्रिया