नयाँ भेरिएन्टपछि सीमामा कडाइः छाडा चौपायाका कारण स्थानीयवासीलाई सास्ती

 

कञ्चनपुर, २ माघ : कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेसँगै पुर्नवास नगरपालिकासँग जोडिएका खुला सीमा नाकामा कडाइ गरिएको छ । छिमेकी मुलुक भारतमा दैनिक हजारौँको सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमित देखा परेपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमा नाकामा कडाइ गरेको हो । खुला सीमा नाकाबाट भइरहेको आवतजातलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नगरपालिकाअन्तर्गत डोके बजारबाहेक अन्य सबै नाका पूर्ण रुपले बन्द गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।

डोके बजार सीमा नाकामा पनि उच्च सतर्कता अपनाउनुका साथै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अनुरोध गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज भट्टले बताउनुभयो । उहाँका अनुसार डोकेबजारमा दैनिक रुपमा भारतबाट आउनेको सङ्ख्या धेरै भएका कारण त्यसलाई व्यवस्थित गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालन गराउनका लागि थप सुरक्षाकर्मी उपलब्ध गराइदिनका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सुदूरपश्चिम प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

डोकेबजारमा रहेको हेल्थ डेस्कमा नियमिति रुपमा कोभिड– १९ को जाँच गर्दा देखिएका सङ्क्रमितमध्ये नगरपालिका क्षेत्रका सङ्क्रमितलाई आइसोलेसन र होम आइसोलेसनमा पु¥याउनका लागि नाकामै तयारी अवस्थामा एम्बुलेन्स राखिएको छ । सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुने गरी जुलुस, धर्ना भेला महोत्सव तथा सामाजिक तथा धार्मिक कार्य नगर्न नगराउनका लागि सूचनासमेत नगरपालिकाले जारी गरेको छ ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी गरेको सम्पूर्ण निर्देशन पालना गर्ने गराउने तर्फ नगरपालिकाले आवश्यक कारबाही अगाडि बढाएको छ । नाकामा विदेशी नागरिकको आगमनमा विशेष निगरानी र सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । “विदेशी नागरिकको आगमनलाई विशेष प्राथमिकताका साथ अनुगमन गर्ने गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत भट्टले भन्नुभयो । छाडा चौपायाका स्थानीयवासीलाई सास्ती सामुदायिक छाडा पशु व्यवस्थापनसम्बन्धी कार्यमा चुनौती देखिँदा छाडा चौपायाले निम्त्याउने समस्या पनि बढ्दै गएको छ । गाईले दूध दिन छाडेपछि पाल्न नसक्ने बहाना बनाइ गाईसहित गोरु, बाच्छाबाच्छी छोडिदिने प्रवृत्ति नरोकिँदा छाडा चौपाया व्यवस्थापन कार्य पनि चुनौतीपूर्ण बन्दै गएको हो ।

कञ्चनपुरमा छाडिएका चौपायाको व्यवस्थापन नहुँदा स्थानीयवासीलाई निकै सास्ती खेप्नुपरेको छ । महेन्द्रनगर बजार, बेदकोट, कृष्णपुरसहित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा छाडा चौपायाका कारण स्थानीय बासिन्दाले हैरानी खेप्दै आएका छन् । छाडिएका चौपायाले बालीनाली खाएर नष्ट पार्दा पुग्ने क्षतिबाट किसानसमेत मर्कामा पर्न गएको छ । गाउँबस्तीका किसान छाडाचौपायावाट आ–आफनो बाली जोगाउन रातभर नसुतेरै जाग्राम बस्नुपर्ने बाध्यता रहेको छ । यसैगरी छाडा चौपायाले सडक दुर्घटनासमेत निम्त्याउने गरेका छन् ।

“गाईलाई राष्ट्रिय जनावरका रुपमा राखिएको छ”, विश्वहिन्दू गौरक्षा अभियानका अध्यक्ष चक्रदेव जोशीले भन्नुभयो, “दूध दुहँुदासम्म घरमा राखिन्छ । दूध दिन छाडेपछि सडकमा ल्याएर अलपत्र छाडिन्छ । अलपत्ररुपमा छाडिएका गाईलगायतका चौपायाको व्यवस्थापनमा स्थानीय सरकार उदासिन देखिएका छन् ।” स्थानीय तहले गाईलगायतका चौपाया व्यवस्थापनका लागि ठूलो धनराशी खर्च गरे पनि व्यवस्थापनमा जस्ताको त्यस्तैसमस्या रहेको उहाँले बताउनुभयो । छाडा चौपाया बजार क्षेत्र र राजमार्ग क्षेत्रमा पहिला जस्तै रहेको उहाँको भनाइ छ ।

छाडा चौपाया व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरी र प्रदेश सचिव डा मदनसिंह धाँमीलाई भेटेर ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो । “छाडा चौपाया व्यवस्थापनको भरपर्दो व्यवस्था गरी त्यसबाट उत्पादन र रोजगारी सिर्जना गर्न सकिनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराएका छौँ”, उहाँले भन्नुभयो, “त्यसबारे मन्त्री र सचिव सकारात्मक देखिएका छन् ।” शुक्लाफाँटा नगरपालिकाले भने छाडा चौपाया व्यवस्थापन कार्य विगत चार वर्षदेखि अगाडि बढाउँदै आएको छ । नगरपालिकाले छाडा चौपाया व्यवस्थापन केन्द्र नै स्थापना गरी व्यवस्थापनको कार्य गर्दै आएको बताइएको छ ।

‘‘राष्ट्रिय जनावर गाईको हामी नेपाली लक्ष्मीको रुपमा पूजा गर्छौ”, उनले भने, अध्यक्ष जोशीले भन्नुभयो, ‘‘गाईको मलमूत्र प्रयोग गरेर जैविकबाली उत्पादन गर्न सकिने भए पनि पशुकल्याणमा लापरवाही हुँदा समस्या जटिल बन्दै गएको छ ।”

                                                                                                                                          राजेन्द्रप्रसाद पनेरु

प्रतिक्रिया