पाकिस्तान। उत्तर-पश्चिमी पाकिस्तानको एक प्रहरी चौकीमा भएको कार बम विष्फोट र त्यसपछि घटनास्थलतर्फ जाँदै गरेका प्रहरी टोलीमाथि भएको आक्रमणमा परी कम्तीमा १४ जना अधिकारीहरूको मृत्यु भएको छ। प्रहरीले आइतबार (मे १०) यसको जानकारी दिएको हो।
शनिबार भएको उक्त आक्रमणपछिका तस्बिरहरूमा प्रहरी चौकीको संरचना भग्नावशेषमा परिणत भएको देखिन्छ, जहाँ इँटाहरू, जलेका अवशेषहरू र कच्याककुचुक भएका सवारी साधनहरू जताततै छरिएका छन्।
प्रहरी अधिकारी सज्जाद खानले एक विज्ञप्ति जारी गर्दै ध्वस्त भएको चौकीबाट १४ जना प्रहरीको शव निकालिएको र तीन जना कर्मचारीलाई जीवितै फेला पारी अस्पताल भर्ना गरिएको बताए।
सञ्चारमाध्यमसँग कुरा गर्ने अधिकार नभएका कारण नाम गोप्य राख्न चाहने एक प्रहरी अधिकारीका अनुसार, लडाकुहरूले सुरुमा विस्फोटक पदार्थले भरिएको कार चौकीमा ठोक्काएका थिए र त्यसपछि परिसरभित्र छिरेर बाँकी रहेका अधिकारीहरूमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए।
'सहयोगका लागि अन्य सुरक्षाकर्मीहरू पठाइएको थियो, तर लडाकुहरूले उनीहरूलाई बाटोमै एम्बुसमा पारेर हताहत गराए,' उनले भने।
प्रहरी स्रोतका अनुसार लडाकुहरूले यस आक्रमणमा ड्रोनको समेत प्रयोग गरेका थिए।
उद्धार एजेन्सी र सरकारी अस्पतालका एम्बुलेन्सहरू तुरुन्तै घटनास्थल पुगेका थिए भने बन्नुका सरकारी अस्पतालहरूमा संकटकाल घोषणा गरिएको अधिकारीहरूले बताएका छन्।
इत्तेहाद-उल-मुजाहिद्दीन नामक लडाकु गठबन्धनले यस आक्रमणको जिम्मेवारी लिएको छ।
क्षेत्रीय तनाव र द्वन्द्वको जोखिम
यस्ता लडाकु आक्रमणहरूले अफगानिस्तानसँगको सीमा क्षेत्रमा पुनः लडाइँ चर्काउन सक्ने सम्भावना छ। गत फेब्रुअरीमा, पाकिस्तानले अफगानिस्तानभित्र लडाकुहरूका सुरक्षित ठेगानाहरूलाई लक्षित गर्दै हवाई आक्रमण गरेपछि दुई देशबीच वर्षौँयताकै खराब भिडन्त भएको थियो।
त्यसयता भिडन्तहरू केही मत्थर भए तापनि सीमा क्षेत्रमा बेलाबेला झडपहरू भइरहन्छन् र अहिलेसम्म कुनै आधिकारिक युद्धविराम भएको छैन।
इस्लामावादले काबुलमाथि आफ्नो भूमिमा लडाकुहरूलाई आश्रय दिएको र त्यहीँबाट पाकिस्तानमा आक्रमणको योजना बनाउने गरेको आरोप लगाउँदै आएको छ। यद्यपि, तालिबानले यी आरोपहरूको खण्डन गर्दै पाकिस्तानको लडाकु समस्या उसको आन्तरिक मामिला भएको बताउँदै आएको छ। -एजेन्सी
प्रतिक्रिया