काठमाडौं। केपी शर्मा ओलीको करिस्मेटिक तर नियन्त्रणमुखी नेतृत्वमा दशक बिताएको नेकपा (एमाले) अहिले इतिहासकै गम्भीर मोडमा उभिएको छ। २०८२ को जेन-जी विद्रोह र २१ फागुन २०८२ को संसदीय निर्वाचनमा एमालेले व्यहोरेको ठूलो हार पछि पार्टीको उद्धार युवा पुस्ताले कसरी गर्ला भन्ने प्रश्न निकै पेचिलो बनेको छ। झापा निर्वाचन क्षेत्र ५ जहाँ ओली आफैं वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भए र हाल उनी अनुसन्धानको घेरामा परेका छन्।
एमाले संगठनभित्र अत्यासलाग्दो मानिएको निर्वाचन परिणामको मूल कारण अध्यक्ष केपी शर्मा ओलीको अहंकारलाई मानिएको छ। ओलीकै अहंकारको अग्नीमा जलेर एमाले पिल्सिएको हुनाले वर्तमान संकटको अवस्थामा पुग्नुपरेको एमालेजनको बुझाई छ।
एमालेका लागि ओली एक समय ब्रान्ड थिए, तर पछिल्ला वर्षहरूमा उनको पार्टीभित्रको एकाधिकार र युवाको बदलिँदो मनोविज्ञान बुझ्न नसक्नु नै पार्टीका लागि महँगो साबित हुनपुगेको हो।
७४ वर्षीय ओली र २० वर्षका टिकटक पुस्ता बीचको वैचारिक खाडललाई एमालेले कम गर्न सकेन। सामाजीक सञ्जालमाथि प्रतिवन्ध लगाउने ओली नेतृत्वको तत्कालिन सरकारको निर्णय नै एमाले र कांग्रेस गठबन्धन सरकारका लागि मृत्युतुल्य एम्बुुस बन्न पुगेको कुरा इतिहासमा अभिलेख भैसकेको छ। त्यो सत्ता उन्मादको मूर्खता नै ओली र उनका घनिष्ठ मित्र शेर बहादुर देउवाको राजनीतिक सान्दर्भिकता समाप्त पार्न मुख्य कारण बनेको थियो।
पार्टीभित्र फरक मत राख्नेलाई किनारा लगाउने र हो मा हो मिलाउनेलाई मात्र ठाउँ दिने प्रवृत्तिले सिर्जनशील युवा नेताहरू छायामा परेको पीडा एमाले वृत्तमा चर्चित छ।
एमाले एउटा यस्तो पार्टी हो जसको संगठन गाउँ(गाउँसम्म फैलिएको छ। यो संगठन नै यसको पुनर्जीवनको मुख्य आधार हो। तर संगठनमा आवध्द युवा पुस्ताले समेत सुँइको पाउन नसक्ने गरी गत निर्वाचनमा आफ्ना मतहरु नयाँ पार्टीतिर सरेको कुरा परिणामपछि मात्र थाहा भयो। अनि खोतल्न थालियो कारण र ओलीको नेतृत्व सान्दर्भिकता।
एमालेभित्र अझै पनि बौद्धिक र तार्किक युवाहरूको ठूलो पंक्ति छ। यदि नेतृत्वले जेन-जी आन्दोलनको मर्म बुझेर पार्टीलाई डिजिटल लोकतन्त्र र सुशासनको बाटोमा हिँडाउने हो भने एमाले ब्युँतिन नसक्ने होइन।
युवा नेताहरू अझै पनि माथिल्लो तहका नेताको आशीर्वाद कुरेर बस्ने कि विद्रोह गर्ने भन्ने द्विविधामा देखिन्छन्। यदि युवा पुस्ताले साँच्चै एमालेलाई बचाउने हो भने साहस गर्नैपर्छ। त्यसका लागि सबैभन्दा पहिलो सर्त हो नेतृत्व हस्तान्तरण। वर्षको उमेर हदलाई कडाइका साथ लागू गर्दै ७० कटेका नेताहरूलाई मार्गदर्शक भूमिकामा राखेर कार्यकारी पद युवालाई सुम्पिनुपर्छ।
नयाँ शक्तिहरूसँग सत्रुता होइन, उनीहरूले उठाएका सुशासनका मुद्दाहरूलाई एमालेले आफ्नो एजेन्डा बनाउनुपर्छ। परिवर्तनका एजेन्डा स्वीकार्न हिच्किचाउनु हुँदैन।
बा संस्कृतिको अन्त्य गरी पार्टीलाई नीति र थितिमा चलाउने साहस देखाउनुपर्छ।
ओलीको गिरफ्तारी र चुनावी पराजय एमालेका लागि ट्रयाजेडी मात्र होइन, अपर्चुनिटी पनि हो। यदि दोस्रो र तेस्रो तहका युवा नेताहरूले गुलामी त्यागेर पार्टीको सर्जरी गर्न तयार भए भने एमालेको उद्धार सम्भव छ। अन्यथा, एमाले पनि इतिहासको एउटा पानामा मात्र सीमित हुने जोखिम छ।
सम्भव छ बा पुस्ताको विदाइ ?
यो प्रश्नको उत्तर निकै पेचिलो छ, तर वर्तमान नेपाली राजनीतिको वस्तुगत धरातललाई हेर्दा युवा नेताहरूका लागि यो अहिले नगरे कहिल्यै हुँदैनको अवस्था हो। एमालेका युवाहरूले बा पुस्तालाई चुनौती दिने कि कुर्ने भन्ने विषयमा केही मुख्य अड्चन र सम्भावनाहरू छन्।
पर्ख र हेर को रणनीति कि विद्रोह
अहिलेसम्म एमालेको दोस्रो र तेस्रो तहका नेताहरूमा पालो पर्खने संस्कृति बलियो छ। उनीहरूलाई लाग्छ कि ओलीपछिको नेतृत्व स्वतः उनीहरूकै हातमा आउनेछ। तर, २०८२ को राजनीतिक घटनाक्रमले के देखायो भने, जनता पर्खन तयार छैनन्। पार्टीभित्र नेतृत्व परिवर्तन ढिलो हुँदा समर्थकहरू बालेन वा रवि जस्ता वैकल्पिक शक्तितिर लागिसकेका छन्।
यदि युवाहरूले अहिले हस्तक्षेप गरेनन् भने, उनीहरूले नेतृत्व पाउँदासम्म पार्टी यति कमजोर भइसक्नेछ कि त्यतिबेला नेतृत्व लिनुको कुनै अर्थ रहने छैन।
एमालेका युवा नेताहरूले चाहेर पनि बाटो कोर्न नसक्नुका केही कारणहरू छन्। पार्टीको लेबी, कोष र स्रोतमा अझै पनि संस्थापन पक्ष (पुराना नेता) कै कब्जा छ।
एमालेको लेनिनवादी संगठनात्मक ढाँचामा माथिल्लो कमिटीको आदेश पालना नगर्नुलाई अनुशासनहीनता मानिन्छ, जसले युवाहरूलाई विद्रोह गर्न मनोवैज्ञानिक त्रास पैदा गर्छ।
युवा नेताहरू आफैं पनि विभिन्न गुटमा विभाजित छन्। कसैले ओलीको ओत लागेका छन् त कसैले महासचिव वा अन्य नेताको।
एमालेमा नयाँ बाटो कोर्न अब युवाहरूले व्यक्ति होइन प्रवृत्तिसँग लड्नुपर्ने देखिन्छ। यसका लागि केही सम्भावनाहरू छन्।
युवा नेताहरु योगेश भट्टराई, गोकर्ण विष्ट, पदम गिरी, र ठाकुर गैरे जस्ता नेताहरू एक ठाउँमा उभिएर सामूहिक नेतृत्वको प्रस्ताव ल्याउने साहस गरे भने मात्र बा पुस्ता पछि हट्न बाध्य हुनेछन्।
अब मदन भण्डारीको नाम मात्र जपेर पुग्दैन। युवाहरूले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल इकोनोमी, र जलवायु परिवर्तन जस्ता आधुनिक मुद्दाहरूलाई पार्टीको मूल एजेन्डा बनाउनुपर्छ।
यदि युवाहरूमा आफ्नो गुट सुरक्षित राख्ने लोभ कायमै रह्यो भने उनीहरूले अझै केही वर्ष कुर्नुपर्नेछ। तर त्यो पर्खाइ एमालेका लागि आत्मघाती हुन सक्छ। किनकि २०८४ को निर्वाचन र त्यसपछिको लहरले पुराना दलहरूलाई रूपान्तरण कि विसर्जनको अवस्थामा पुर्याइसकेको छ।
एमालेका युवाहरूले बा पुस्तालाई सिधै अपमान गरेर होइन, तर सम्मानजनक बिदाइ र नीतिगत हस्तक्षेप मार्फत चुनौती दिनुपर्ने देखिन्छ। साहस गर्ने हो भने यो नै उपयुक्त समय हो, किनकि संकटमै नयाँ नेतृत्वको जन्म हुन्छ।
प्रतिक्रिया