रामेछाप । रोशी खोलामा पानीको बहाव बढेपछि मंगलबार साँझबाट रोकिएका बिपी राजमार्गमा आज बिहानबाट पुन सञ्चालनमा आएको छ ।
साँझदेखि अनिश्चित कालीन रूपमा यातायात सञ्चालन रोकिएको लगाइएको सडक बिहानबाट खोलिएको प्रहरीले जनाएको छ। सुरक्षा जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले हिजो साँझ ७ बजेदेखि राजमार्ग बन्द गरेको थियो । प्रहरीका अनुसार राजमार्गअन्तर्गत भकुन्डे–नेपाल थोक खण्डमा भारी वर्षाका कारण रोशी खोलामा जलस्तर बढेको कारण सडक बन्द गरिएको हो । तर खोलामा पानीको सतह घटेपछि पुन यातायात साधन छाडिएको छ। प्रहरीले खोलामा पानीको सतह बढ्ने बित्तिकै सडक बन्द हुने भएकोले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
यसअघि गत शुक्रबार साँझ परेको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्ग दुई दिनसम्म अवरुद्ध बनाएको थियो। करिब ३६ घण्टापछि आइतबार बिहानबाट मात्रै सवारी सञ्चालन पुन: सुरु गरिएको थियो। शुक्रबारदेखिको वर्षाले रोशी क्षेत्रमा बनाइएको अस्थायी सडकसमेत बगाएको थियो। सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार चौकी डाँडादेखि नेपाल थोकसम्म विभिन्न स्थानमा करिब चार किलोमिटर डाइभर्सन बाढीले क्षति पुर्याएको थियो। त्यसपछि शुक्रबार साँझदेखि नै राजमार्ग ठप्प बनेको थियो। गत वर्ष असोजमा आएको बाढी पहिरोले चौकी डाँडा–नेपाल थोक सडक खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक र डाइभर्सन निर्माण गरेर सवारी सञ्चालन हुँदै आएको थियो।
प्रतिक्रिया