आजको भागदौडपूर्ण जीवनमा चिल्लोमा तारिएका, भुटिएका र 'प्रोसेस्ड' खानेकुराहरू मानिसको दैनिक आहारको हिस्सा बनिसकेका छन्। खानपानले शरीरको साथसाथै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्रभाव पार्छ। जो मानिसहरू बढी मात्रामा तारिएका वा भुटिएका चीजहरू खान्छन्, उनीहरूमा एन्जाइटी (छटपटीरचिन्ता) को समस्या देखिन थाल्छ। यसको असर उनीहरूको मुडमा पनि पर्छ। खानपानमा परिवर्तन गरेर यो समस्याबाट बच्न सकिन्छ।
यदि तपाईंलाई पनि पकौडा, चिप्स, फ्रेन्च फ्राइज जस्ता चिल्लो खानेकुरा मनपर्छ भने, यो बानीले तपाईंको एन्जाइटी अर्थात् चिन्ता, घबराहट र बेचैनी बढाउन सक्छ। धेरै मात्रामा यस्ता खानेकुरा खाँदा मुडसँग सम्बन्धित समस्याहरू निम्तिन सक्छन्।
यहाँ हामीले भुटेकारतारिएका खानेकुराले गर्दा हुने समस्या र तिनका समाधानबारे चर्चा गरेका छौँ।
चिल्लो-चाप्लो खाँदा एन्जाइटी किन बढ्छ ?
भुटेका वा तारिएका खानेकुरामा ट्रान्स फ्याट, रिफाइन्ड कार्बोहाइड्रेट र अक्सिडाइज्ड आयलको मात्रा बढी हुन्छ। यसको नियमित सेवनले शरीरमा 'क्रोनिक इन्फ्लेमेसन' बढाउँछ। यो सुजनले मस्तिष्कका न्यूरोट्रान्समिटरहरू जस्तै सेरोटोनिन र डोपामाइनको सन्तुलन बिगार्न सक्छ, जसले हाम्रो मुड र भावनात्मक स्थिरतालाई नियन्त्रण गर्छन्।
यस्ता खानेकुराले गट माइक्रोबायोम (आन्द्रामा हुने राम्रा ब्याक्टेरिया) लाई पनि नोक्सान पुर्याउँछन्। शरीरको करिब ९० प्रतिशत सेरोटोनिन आन्द्रामा बन्ने गर्छ, त्यसैले पेटको स्वास्थ्य बिग्रँदा एन्जाइटी बढ्ने सम्भावना उच्च हुन्छ। यसलाई चिकित्सकहरू ‘गट-ब्रेन एक्सिस इम्ब्यालेन्स’ भन्छन्।
सुगर लेभलको उतारचढावले पनि एन्जाइटी गराउन सक्छ। चिल्लो-चाप्लो खाँदा सुगर लेभल तीव्र गतिमा बढ्छ र फेरि अचानक घट्छ, जसले गर्दा झर्को लाग्ने, बेचैनी र घबराहट जस्ता लक्षणहरू महसुस हुन सक्छन्।
कुन खानेकुराले एन्जाइटी बढाउँछन्
एन्जाइटी बढाउने चिल्लो खानेकुरामा पोषक तत्वको कमी हुन्छ। लामो समयसम्म यस्ता खानेकुरा खाँदा मस्तिष्कको कार्यक्षमतामा नकारात्मक असर पर्छ। एन्जाइटी निम्त्याउन निम्न खानेकुराहरूको मुख्य भूमिका हुन्छ:
-समोसा, पकौडा, फ्रेन्च फ्राइज जस्ता 'डीप-फ्राइड' स्न्याक्स।
-फास्ट फूड जस्तै फ्राइड चिकेन, बर्गर र चिप्स।
-प्रोसेस्ड फूड जसमा प्रिजर्भेटिभ र आर्टिफिसियल एडिटिभ्स हुन्छन्।
-पटक-पटक प्रयोग गरिएको तेलमा बनाइएका स्ट्रिट फूड, जसमा हानिकारक तत्वहरू बढी हुन्छन्।
कुन उमेरका मानिस बढी प्रभावित छन्
खानपानसँग जोडिएको एन्जाइटी जुनसुकै उमेरमा हुन सक्छ, तर १८ देखि ३५ वर्षका युवाहरू यसबाट सबैभन्दा बढी प्रभावित छन्। यो उमेरका मानिसहरू व्यस्त जीवनशैलीका कारण फास्ट फूडमा बढी निर्भर हुन्छन्।
किशोर-किशोरीहरूमा पनि जंक फूड खाने बानी तीव्र रूपमा बढिरहेको छ। मध्य उमेरका मानिसहरू, विशेषगरी मोटोपना, मधुमेह वा हर्मोनल समस्या भएकाहरूमा खराब खानपानले गर्दा एन्जाइटीका लक्षणहरू बढ्न सक्छन्।
एन्जाइटीबाट कसरी बच्ने?
खानपानमा सुधार गरेर धेरै हदसम्म एन्जाइटीबाट बच्न सकिन्छ। यसका लागि:
-भुटेका, तारिएका र प्रोसेस्ड फूडको सेवन कम गर्ने।
-समयमा सन्तुलित भोजन गर्ने।
-नियमित व्यायाम गर्ने।
-ध्यान र लामो सास फेर्ने अभ्यासबाट तनाव कम गर्ने।
एन्जाइटी कम गर्न के खाने ?
स्वस्थ र मस्तिष्क-मैत्री आहारले एन्जाइटीमा राहत दिन्छ। निम्न कुराहरूले सहयोग पुर्याउन सक्छन्:
-एन्टी-अक्सिडेन्टले भरिपूर्ण ताजा फलफूल र तरकारी।
-सग्लो अन्न जस्तै ओट्स र ब्राउन राइस।
-ओमेगा-३ फ्याट्टी एसिडका लागि ओखर, आलस र माछा।
-पेटको स्वास्थ्यका लागि दही र फर्मेन्टेड (अमिलो बनाइएको) खानेकुरा।
-भिटामिन र मिनरल्सका लागि नट्स र बीउहरू।
-निर्जलीकरणबाट हुने एन्जाइटीबाट बच्न पर्याप्त पानी पिउने।
बानी परिवर्तन
चिल्लो-चाप्लो कुरा कहिलेकाहीँ खाँदा ठूलो नोक्सान हुँदैन। तर, यदि यसलाई नियमित बानी बनाइयो भने बिस्तारै यसको असर मानसिक स्वास्थ्यमा पर्न थाल्छ। एन्जाइटीका कारण काम गर्ने इच्छा नहुने, निद्राको कमी र तनाव बढ्ने जस्ता समस्या हुन सक्छन्।
तपाईं जे खानुहुन्छ, त्यसको सीधा असर तपाईंको मस्तिष्क र भावनामा पर्छ। सही मात्रामा स्वस्थ खाना खानाले शारीरिक र मानसिक रूपमा स्वस्थ रहन सजिलो हुन्छ।
एन्जाइटी एउटा बहुआयामिक समस्या हो, जसमा खानपान एउटा कारण मात्र हो। यदि लगातार घबराहट, बेचैनी वा प्यानिक अट्याक जस्ता लक्षणहरू देखिइरहेका छन् भने खानपान सुधार गर्नुका साथै चिकित्सकको परामर्श लिनु पनि जरुरी छ। (नवभारत टाईम्सबाट)
प्रतिक्रिया