काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ नेपालको राजनीतिक इतिहासमा एक ठूलो घटनाको रूपमा हेरिएको छ। आज बिहान भएका यी गिरफ्तारी र त्यसपछिका घटनाक्रमहरू कसरी अगाडि बढे, हेरौं सर्सर्ती विवरण:
गिरफ्तारीको समय र स्थान
रमेश लेखक: पूर्व गृहमन्त्री लेखकलाई शनिबार बिहान करिब ५:०० बजे भक्तपुरको कटुञ्जेस्थित उनको निवासबाट नियन्त्रणमा लिइएको थियो।
केपी शर्मा ओली: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री ओलीलाई बिहान करिब ६:३०-७:०० बजे भक्तपुरको गुण्डुस्थित उनको निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउको मुख्य कारण
गत वर्षको भदौ २३ र २४ गते भएको 'जेन जी' आन्दोलनका क्रममा भएको दमन र सो क्रममा १९ जनाको मृत्यु भएको घटनामा उनीहरूलाई जिम्मेवार ठहर्याइएको छ।
पूर्व न्यायाधीश गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा ओली र लेखकमाथि 'आपराधिक लापरवाही'को आरोप लगाउँदै कारवाहीको सिफारिस गरेको थियो।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै यो कदम चालिएको हो।
गिरफ्तारी पछिका घटनाक्रमहरू
अस्पताल भर्ना: पक्राउ परेलगतै पूर्व प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई हाल प्रहरी निगरानीमा ५०१ नम्बर बेडमा राखेर स्वास्थ्य परीक्षण भइरहेको छ।
प्रहरी हिरासत: पूर्व गृहमन्त्री रमेश लेखकलाई भने महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ।
राजनीतिक प्रतिक्रिया: नेकपा एमालेले यसलाई ुराजनीतिक प्रतिशोधु भन्दै कडा आपत्ति जनाएको छ र आकस्मिक बैठकहरू बोलाएको छ।
गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमार्फत 'कानुनभन्दा माथि कोही छैन, यो प्रतिशोध नभई न्यायको सुरुवात हो' भन्दै सरकारको कदमको बचाउ गरेका छन् ।
कानुनी प्रक्रिया: आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरूलाई अदालतमा उपस्थित गराउन सकिएको छैन। भोलि आइतबार अदालत खुलेपछि म्याद थप र अन्य कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ।
सुरक्षा व्यवस्था
काठमाडौँ उपत्यकाका संवेदनशील क्षेत्रहरू र अस्पताल वरपर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। एमालेका भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता उच्च पारिएको छ।
प्रतिक्रिया