इनिशा घटनाबारे प्रदेशसभा बैठकमा सांसदहरुको प्रश्न : इनिशाको शव कहिले उठ्छ ?

सुर्खेत । फागुन २३ गते वीरेन्द्रनगरको जंगलमा मृत भेटिएकी १६ वर्षीया इनिशा विकको घटनाले कर्णाली प्रदेश सभामा प्रवेश पाएको छ ।

बिहीबारको कर्णाली प्रदेशसभामा भाग लिने अधिकांश प्रदेशसभा सदस्यहरुले इनिशाको घटनामा प्रदेश सरकारको धारणा मागेका छन् । प्रदेश सभामै प्रदेशसभा बैठकमा भाग लिएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा प्रकरणमा आफूलाई जोडिएको घटनाप्रति ध्यानाकर्षण भएको बताए । इनिशाको घटना दुखद भएको र उक्त घटनामा संलग्नलाई कानून अनुसार कारवाही हुनुपर्छ भन्ने बिषयमा सरकार गम्भीर भएको बताए । ‘इनिशाको घटना दुःखद हो यसको निन्दा र भत्र्सना गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘घटनामा संलग्नलाई कानूनले भ्याएसम्म दण्डित गर्नुपर्छ ।’ यसका लागि सरकारले गर्नुपर्ने पहल र प्रयासहरु भईरहेको उनले संसदलाई जानकारी दिए । घटनाका बिषयमा प्रहरीले अनुसन्धान गरिरहेको र विभिन्न प्रमाणहरुको पुष्टिका लागि सम्बन्धित पक्ष लागिरहेको उनले बताए ।

प्रदेशसभा बैठकमा आफ्नो नाम जोडेर आएका टिप्पणीप्रति मुख्यमन्त्रीले दुख व्यक्त गरे । आफूले मृतक इनिशा घटनापछि उनकी आमालाई भेटेको र दोषिको पहिचान गरी छोरीलाई न्याय दिलाउने बिषयमा कुराकानी गरेको भए पनि बाहिर अरु नै बिषय आएको भन्दै दुखेसो पोखे ।

‘घटनाको बिषयमा थाहा पाएपछि आफ्नो कर्तव्य ठानेर मृतकको परिवारलाई भेट्न गएको थिएँ’, मुख्यमन्त्री कँडेलले भने, ‘इनिशाकी आमासंग घटनामा संलग्नहरूलाई तथ्य प्रमाणका आधारबाट कानुनी कारबाही हुन्छ नै, प्रदेश सरकारका तर्फबाट आवश्यक पहलकदमी र सहजीकरण गर्ने कुरा व्यक्त गरेको थिएँ ।’

प्रदेशसभा बैठकमा भाग लिँदै नेकपाका सांसद रणसिंह परियार र उर्मिला बिकले पनि इनिशा विक हत्या प्रकरणमा संलग्नलाई कारवाहीको प्रक्रिया कहाँ पुग्यो भनि सरकारलाई प्रश्न गरेका छन् । कर्णालीको राजधानी प्रदेशकै मुटु वीरेन्द्रनगरमै छोरीहरु दिन दहाडै मारिन्छन्, यसले प्रदेशभित्र शान्ति सुरक्षाको अवस्था कस्तो छ भन्ने देखाउँदैन र रु रणसिंह परियारले प्रश्न गरे । ‘प्रदेशको राजधाानी वीरेन्द्रनगरकै मुटुमा छोरीहरु बलात्कृत भएर मारिन्छन्, मृतकका परिवार न्याय पाउने बिषयमा विश्वस्त छैनन्,’ उनले भने, ‘घटनाको दुई साता बित्न लाग्दा पनि शव अस्पतालमै छ यसको जिम्मा कस्ले लिने हो  ?’

प्रदेश सभा सदस्य उर्मिला विकले सरकार विभेदकारी भएको भन्दै आलोचना गरिन् । कर्णाली प्रदेश सरकारले नै जातीय विभेद गरिरहेको उनको दुखेसो छ । ‘कर्णालीमा २९ प्रतिशत दलितको भोटबाट तपाईं त्यो कुर्चीमा बिराजमान हुनुहुन्छ,’ उनले भनिन्, ‘अनि तपाईंहरुले बनाउने नीति र कार्यक्रम कति दलितमैत्री छन् रु’ दुई साता बित्न लाग्दा पनि इनिशाको शव उठाउनतर्फ सरकार गम्भीर नभएको उनको आक्रोश छ ।

सुर्खेत गुर्भाकोट बडाखाली घर भएकी १६ वर्षीया इनिशा वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । सुर्खेतको उषा बालवाटिका विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशाको घरपरिवार र आफन्तले इनिशा हत्यामा संलग्नलाई कारवाहीको विश्वासिलो वातावरण नभएसम्म शव नबुझ्ने अडान राख्दै आएका छन् । घटनाको दुई साता बित्न लाग्दा पनि इनिशाको शव आफन्तले बुझेका छैनन् । घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको र फरेन्सिक रिपोर्टहरू आउन बाँकी रहेकाले निश्कर्षमा पुग्न नसकिएको प्रहरीको दावी छ ।

प्रतिक्रिया