कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा ठप्प, बिरामीलाई सास्ती

मुगु । कर्णाली प्रदेशको प्रमुख स्वास्थ्य सेवा केन्द्रका रूपमा चिनिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्सरे सेवा लामो समयदेखि ठप्प हुँदा बिरामीहरू समस्यामा परेका छन् । अस्पतालमा रहेको एकमात्र एक्सरे मेसिन बिग्रिएपछि सेवा अवरुद्ध भएको हो ।

एक्सरे सेवा बन्द हुँदा कर्णाली प्रदेशका विकट जिल्लाबाट उपचारका लागि आउने बिरामीहरू विशेष रूपमा प्रभावित भएका छन् । दैनिकजसो हुने चोटपटक, दुर्घटना तथा हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीले आवश्यक परीक्षण गर्न नपाउँदा सास्ती खेप्नुपरेको छ ।

जुम्ला जिल्लाका सबै पालिका तथा छिमेकी जिल्लाबाट आउने बिरामीहरू सामान्य चोटपटक, हाडजोर्नी समस्या, छाती तथा फोक्सोसम्बन्धी रोगको परीक्षणका लागि एक्सरेमा निर्भर रहने गर्छन् । तर अस्पतालमै सेवा उपलब्ध नभएपछि उनीहरू निजी मेडिकलहरू धाउन बाध्य भएका छन् । स्थानीय नागरिकहरूले अस्पताल प्रशासनले समस्या समाधानतर्फ गम्भीरता नदेखाएको गुनासो गरेका छन् । एक्सरे मेसिन लामो समयदेखि बिग्रिएको भए पनि मर्मत तथा नयाँ उपकरण व्यवस्थापनका लागि ठोस पहल नगरिएको उनीहरूको आरोप छ ।

प्रतिष्ठानका एक्सरे विभागका रेडियोग्राफर सतल रउलेका अनुसार फागुन १९ गते रातिदेखि एक्सरे मेसिन अचानक बिग्रिएको हो । मेसिनको केबिमिटरमा समस्या आएपछि मर्मतका लागि जिल्ला बाहिर पठाइएको उनले बताए ।

“एक्सरे मेसिन बिग्रिएको र चुनाव बिदा पनि सँगै परेकाले मर्मत प्रक्रियामा केही ढिलाइ भएको हो,” रउलेले भने, “अब करिब चार–पाँच दिनभित्र एक्सरे सेवा पुन: सञ्चालनमा आउनेछ ।” यता प्रतिष्ठानका निर्देशक डा. कमल थानीले मेसिन मर्मतका लागि पठाइएको पुष्टि गर्दै कर्मचारी वा बिरामीबाट औपचारिक गुनासो भने नआएको बताए । उनका अनुसार एक्सरे मेसिनको एक पार्ट बिग्रिएपछि मर्मतका लागि पठाइएको हो । “मेसिन मर्मत भएर नआउँदासम्म यहाँ सिएम प्रविधिबाट जटिल खालका एक्सरे गरिरहेका छौं,” उनले भने, “इमर्जेन्सी केसहरूको उपचार पनि भइरहेको छ । मेसिन बिग्रिने र चुनाव बिदा एकै समयमा परेकाले केही ढिलाइ भयो, अब चाँडै सेवा सुचारु हुन्छ ।” तर स्थानीय नागरिक र बिरामीहरूले भने स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उपकरण बिग्रिँदा लामो समय सेवा बन्द हुनु गम्भीर विषय भएको भन्दै तत्काल स्थायी समाधान खोज्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रतिक्रिया