समाचार टिप्पणी

निर्वाचन परिणामको सन्देशः जनताप्रतिको चरम उदासिनताको सजाय भोग्दै ठूला दल

काठमाडौं । हिजो २१ फागुनमा सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनको प्रारम्भिक परिणाम र अग्रता हेर्दा नेपाली राजनीतिमा एउटा ठूलो युगान्तरकारी परिवर्तनको संकेत देखिएको छ। 

नवोदित दल राष्ट्रिय प्रजातन्त्र पार्टीको पक्षमा अभिव्यक्त मतले स्थापित दलहरुलाई किनारामा धकेल्दै सबै पुराना किल्लाहरु ध्वस्त पारिरहेको छ । मत गणना जारी छ र यतिबेला के देखिन्छ भने रास्वपाले बलियो बहुमत हासिल गर्दैछ र संसदमा बिपक्षको बेञ्चमा बस्ने कुनै दल पनि निकै कमजोर मत पाएर चित्त बुझाउन वाध्य हुने छ ।

संसदीय निर्वाचन २०८२ को प्रारम्भिक नतिजा र हालको राजनीतिक माहोललाई हेर्दा निर्वाचन आयोगको पछिल्लो तथ्याङ्क र मतगणनाको प्रवृत्तिलाई आधार मान्दा केही महत्वपूर्ण पक्षहरू देखिएका छन् ।

शक्तिको नयाँ केन्द्र रास्वपाको उदय

यसपटकको निर्वाचनमा सबैभन्दा ठूलो धक्का स्थापित दलहरूलाई लागेको छ। प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी उल्लेख्य स्थानमा अगाडि देखिएको छ। जसमा बालेन शाहको प्रभाव यो दलको अग्रतामा मुख्य कारण देखिएको छ । रास्वपाका वरिष्ठ नेता बालेन शाहले झापा- ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पार्नु र चितवनमा रवि लामिछानेको अग्रताले परम्परागत राजनीतिक किल्लाहरू भत्किएको स्पष्ट पार्छ।

यसको खास कारण के देखिएको छ भने यो जनमत विकास र एजेन्डा भन्दा पनि पुराना दलहरूप्रतिको चरम वितृष्णा र परिवर्तनको तीव्र भोक को परिणाम हो।

गम्भीर संकटमा वामपन्थी दल

वामपन्थी राजनीति विशेषगरी नेकपा एमाले र माओवादी केन्द्रका लागि यो निर्वाचन अस्तित्वको लडाइँ जस्तो देखिएको छ।

एमाले र माओवादीका विगतमा बलियो संगठन भएका स्थानहरूमा पनि यसपटक वामपन्थी उम्मेदवारहरू नयाँ अनुहारसँग संघर्ष गरिरहेका छन्। विभाजन, आन्तरिक कलह र सत्ताको खिचातानीले गर्दा वामपन्थी मतदाताहरू तितरबितर भएको देखिन्छ।

साबिकको माओवादी केन्द्र अर्थात् नयाँ नामको नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको दलले यसपटक ठूलो क्षति बेहोर्ने संकेत छ। विचारभन्दा सत्ता केन्द्रित राजनीतिको सजाय यसपटकको मतपत्रमा प्रतिविम्बित भएको छ। यो दलले हरेक निर्वाचनमा क्षति बेहोर्दै आएको देखिन्छ ।

नेपाली कांग्रेसमा नेतृत्व परिवर्तनको प्रभाव देखिन सकेन । शेरबहादुर देउवाको सट्टा गगन थापाले पार्टी सभापतिको रूपमा नेतृत्व सम्हालेपछि कांग्रेसले केही हदसम्म आफ्नो साख जोगाउने प्रयास गरेको छ। यद्यपि, कांग्रेस पनि पूर्ण बहुमतबाट धेरै नै टाढा रहने देखिन्छ। केही सहरी क्षेत्रमा कांग्रेसलाई पनि रास्वपाले कडा टक्कर दिएको छ। कांग्रेसका पुराना स्थापित किल्लाहरु र नेताहरु अस्तित्व रक्षाको चुनौति सामना गरिरहेका छन् ।

सम्भावित परिदृश्यस् को सरकारमा, को विपक्षमा ?

अहिलेसम्मको मत गणनाको रुझान हेर्दा स्पष्ट बहुमत आउने सम्भावना देखिन्छ र त्यो अवसर रास्वपाले नै पाउने स्पष्ट अंकगणित प्रकाशमा आईरहेको छ । तैपनि अन्तिम नतिजा अघि नै यसबारे ठोकुवा गरेर भनिहाल्न सम्भव छैन ।

त्यसकारण भावी संसदमा फेरि पनि सत्ता समीकरणको खेल बन्द हुने सम्भावना देखिँदैन । यदि रास्वपा सबैभन्दा ठूलो वा निर्णायक शक्ति बनेमा, नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सम्भावना रहन्छ। गगन थापा र बालेन शाहररवि लामिछाने बीचको सहकार्य नै आगामी सत्ताको मुख्य आधार हुन सक्छ।

अब प्रश्न उठ्छ विपक्षमा को । एमाले र केही साना दलहरू मुख्य प्रतिपक्षी भूमिकामा पुग्न सक्छन्। यदि एमालेले आफ्नो हार स्वीकार गरी विपक्षमा बस्ने निर्णय गरेमा नेपालको संसदीय अभ्यासमा एउटा नयाँ मोड आउनेछ।

यो निर्वाचनले नेपाली मतदाताको मनोविज्ञानमा आएको परिवर्तनलाई प्रष्ट पारेको छ। मतदाताले अनुभव भन्दा डेलिभरी र आश्वासन भन्दा एक्सनलाई रोजेका छन्।

यो निर्वाचनले पुराना दलहरूका लागि यो एउटा अन्तिम चेतावनी दिएको छ कि त आफूलाई पूर्णतः रुपान्तरण गर्ने, कि त इतिहासको पानामा सीमित हुने। अबका दिनहरुमा राष्ट्रिय राजनीतिले समझदारी र सहकार्यको संस्कृतिलाई कसरी अगाडि बढाएर लिएर जान्छ । नयाँ नेताहरुमा कत्तिको परिपक्व सुझबुझपूर्ण र दूरदर्शिता देखिन्छ त्यसले नै उनीहरुप्रतिको विश्वास, भरोसा र आशाको जग बसाउन सक्नेछ । 

प्रतिक्रिया