काठमाडौं । सवारी दर्ता अनियमितता मुद्धामा मुछिएका लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना निलम्बित भएका छन् ।
विशेष अदालत काठमाडौंमा ढुङ्गानासहित ३२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गराएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा सिडिओका रूपमा ढुङ्गाना गत पुस १७ गतेदेखि कार्यरत छन् । उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव हुँदा भएको सवारी दर्ता अनियमिततामा मुछिएको आयोगले जनाएको छ ।
यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन आर्थिक लेनदेनमार्फत दर्ता गरिएको उजुरीपछि अनुसन्धानका क्रममा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक प्रतिवादीहरूको मिलेमतोमा भन्सार छली गरी गैरकानुनी रूपमा नेपाल ल्याइएका ‘ब्रेजा’ सवारीलाई सरकारी अभिलेखमा प्रविष्ट गरी वैध बनाइएको पुष्टि भएको आयोगको दाबी छ ।
प्रतिक्रिया