काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले सैन्य अधिकारीहरू अवकाश भएको २० वर्षसम्म पुस्तक प्रकाशन गर्न नपाउने भनी भइरहेका अड्कलबाजीहरूलाई अस्वीकार गरेका छन् । उनले यस्तो कुनै पनि प्रस्ताव विचाराधीन नरहेको स्पष्ट पारेका छन् ।
भारतीय सेनाका पूर्व सेनाप्रमुख जनरल एम।एम। नरवणेको पुस्तकलाई लिएर भइरहेको विवादका बीच रक्षामन्त्री राजनाथ सिंहले त्यस्तो कुनै बन्देज नरहेको बताएका हुन् । मन्त्री सिंहले अवकाशप्राप्त सैन्य अधिकारीहरूलाई पुस्तक लेख्न कुनै रोकटोक नरहेको बताउँदै सेनासँग आबद्ध अधिकारीहरूले अवकाश पाएको २० वर्षसम्म कुनै पनि पुस्तक लेख्न अनुमति नहुने भन्ने सबै अड्कलबाजीहरू गलत भएको स्पष्ट पारे।
रक्षामन्त्री सिंहले वरिष्ठ सैन्य अधिकारीहरूले आफ्नो संस्मरण वा पुस्तक प्रकाशन गर्नुअघि २० वर्षको अनिवार्य 'कुलिङ-अफ' अवधि लागू गर्ने कुनै पनि प्रस्ताव नरहेको बताए ।
रक्षामन्त्रीले कुलिङ-अफ अवधिको प्रस्तावबारे मिडियामा आएका हल्लाहरूलाई अस्वीकार गर्दै भने, 'मन्त्रिपरिषद्मा छलफलका लागि यस्तो कुनै पनि प्रस्ताव आएको छैन।' पूर्व सेनाप्रमुख नरवणेको चीनसँगको लद्दाख तनावबारे लेखिएको अप्रकाशित पुस्तक ‘फोर स्टार्स अफ डेस्टिनी’ लाई लिएर सुरु भएको विवादका बीच यो भनाई निकै महत्त्वपूर्ण मानिएको छ। यसै विवादका कारण लोकसभामा कांग्रेस नेता राहुल गान्धी र भाजपा सांसदहरूबीच ठूलो विवाद पनि भएको थियो।
नरवणेको अप्रकाशित पुस्तकमा के छ ?
पुस्तकमा एउटा विस्तृत लेख समावेश गरिएको छ, जसमा लेखिएको छ- ३१ अगस्ट २०२० को राति ८:१५ बजे भारतीय सेनाको उत्तरी कमानका तत्कालीन कमान्डर लेफ्टिनेन्ट जनरल योगेश जोशीलाई एउटा फोन कल आएको थियो। पैदल सेनासहित चारवटा चिनियाँ ट्याङ्कहरू पूर्वी लद्दाखको रेचिन लातर्फ अघि बढिरहेका थिए। ती ट्याङ्कहरू कैलाश रेन्जमा रहेको भारतीय सेनाको चौकीभन्दा केही सय मिटर मात्र टाढा थिए।
लेखमा पुस्तकलाई उद्धृत गर्दै लेखिएको छ- त्यसपछि जनरल नरवणेले देशको राजनीतिक र सैन्य नेतृत्वलाई निरन्तर फोन गर्न सुरु गरे । उनले सबैलाई 'मेरो लागि के आदेश छ' भनेर सोधिरहेका थिए ।
पुस्तकमा उल्लेख भएअनुसार, उनका वरिष्ठ अधिकारीहरूबाट कुनै स्पष्ट निर्देशन प्राप्त भएको थिएन। चिनियाँ ट्याङ्कहरू रोकिएका थिएनन् र ती पहाडको टाकुराबाट मात्र ५०० मिटरको दूरीमा थिए। नरवणेले लेखेका छन्, त्यसबेला उनको अवस्था अत्यन्तै नाजुक बनेको थियो। विवरण अनुसार, राति १०:३० बजे रक्षामन्त्रीको फोन आयो र शीर्ष नेतृत्वबाट केवल एक लाइनको निर्देशन प्राप्त भयो— 'जे उचित लाग्छ, त्यही गर्नुहोस्।'
प्रतिक्रिया