मुटुको स्वास्थ्य रक्षा गर्न थाहा पाउनैपर्ने जानकारी

हरेक उमेरमा मुटु र रक्तनलीहरूमा परिवर्तन भइरहन्छ, त्यसैले डाक्टरहरू उमेर अनुसार मुटुको स्वास्थ्यमा ध्यान दिन सल्लाह दिन्छन्। गलत जीवनशैली, मोटोपना र शारीरिक गतिविधिको कमीले मुटु रोगको जोखिम बढाउँछ। उमेर अनुसार खानपानको बानी, व्यायाम र तनावलाई नियन्त्रणमा राखेर मुटुको रोगबाट बच्न सकिन्छ।

बढ्दो उमेरसँगै मुटुको कार्यक्षमता पनि सुस्त हुन थाल्छ। मुटुका मांसपेशीहरू केही बाक्ला र धमनीहरू कडा हुँदै जान्छन्, जसले गर्दा मुटुलाई रगत पम्प गर्न बढी मेहनत गर्नुपर्छ। युवाहरूको तुलनामा ८० वर्षका मानिसहरूको रगत पम्प गर्ने क्षमता करिब आधा हुन्छ।

अमेरिकन हार्ट एसोसिएसनको रिपोर्ट अनुसार, ४० वर्षभन्दा कम उमेरका वयस्कहरूमा मुटुको रोग तीव्र रूपमा बढिरहेको छ। गलत जीवनशैली र मधुमेहका कारण युवाहरूमा हृदयाघातका घटनाहरू बढ्दै छन्। बढ्दो उमेरमा मुटुलाई स्वस्थ राख्न व्यायाम, स्वस्थ आहार, पर्याप्त निद्रा, चुरोट(रक्सीबाट परहेज, तनावबाट टाढा रहने र नियमित जाँच गराउनु आवश्यक छ।
 
मुटु स्वस्थ राख्ने ७ तरिकाहरू (हरेक उमेर समूहका लागि)

स्वस्थ आहार

रक्तचाप, कोलेस्ट्रोल र सुगर लेभल नियन्त्रण गर्न स्वस्थ खाना खानुहोस्। फलफूल, तरकारी, कम चिल्लो भएका दुग्धजन्य पदार्थ र साबुत अनाज मुटुका लागि फाइदाजनक हुन्छन्। नुन र बढी सोडियम भएका खानेकुरा, चिनी र गुलियो पेय पदार्थ, रिफाइन्ड कार्बोहाइड्रेट, रक्सी, रातो मासु, फास्ट फुड, चिप्स र बेकरी उत्पादनहरू नखानुहोस्।

सक्रिय रहनुहोहोस्
 
दैनिक कम्तीमा ३० देखि ६० मिनेट शारीरिक गतिविधिको लक्ष्य राख्नुहोस्। नियमित व्यायामले मुटु रोगको जोखिम कम गर्छ। यसले तौल नियन्त्रणमा राख्छ र उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल तथा मधुमेहको जोखिम घटाउँछ।

चुरोटबाट परहेज

सुर्तीजन्य पदार्थमा हुने रसायनले मुटु र रक्तनलीलाई क्षति पुर्‍याउन सक्छ। चुरोटको धुवाँले रगतमा अक्सिजनको मात्रा कम गरिदिन्छ, जसले रक्तचाप र मुटुको धड्कन बढाउँछ।

तौल नियन्त्रण

शरीरको तौल बढ्दा मुटु रोगको सम्भावना बढ्छ। मोटोपनाले उच्च रक्तचाप र मधुमेह जस्ता समस्याहरू निम्त्याउँछ।

राम्रो निद्रा

पर्याप्त ननिदाउने मानिसहरूमा मोटोपना, उच्च रक्तचाप, हृदयाघात र डिप्रेसनको खतरा बढी हुन्छ। राम्रो निद्राका लागि बेलुकाको खाना चाँडै खानुहोस् र सुत्ने बेला मोबाइल टाढा राख्नुहोस्।

तनाव व्यवस्थापन

निरन्तरको तनावले उच्च रक्तचाप बढाउन सक्छ। तनावका बेला धेरै खाने बानीबाट बच्नुहोस्। योग र ध्यानको माध्यमबाट तनाव व्यवस्थापन गर्नुहोस्।

नियमित स्वास्थ्य परीक्षण

१८ वर्षको उमेरपछि कम्तीमा दुई वर्षमा एक पटक रगत जाँच गराउनुहोस्। परिवारमा मुटु रोगको इतिहास भएकाहरू अझ बढी सतर्क रहनुपर्छ।

उमेर समूह अनुसार स्वस्थ बानीहरू

जोन्स हप्किन्स मेडिसिनले हरेक उमेरका लागि निम्न सुझावहरू दिएको छ-

२०-३० वर्षको उमेर समूह

चुरोट र रक्सी सेवन नगर्ने।
खेलकुद र व्यायाममा सक्रिय रहने।
योग र ध्यानबाट तनाव नियन्त्रण गर्ने।
सानोतिनो कुरामा रिसाउने बानी त्याग्ने।
स्वस्थ क्यालोरी र प्रोटिनयुक्त आहार लिने।

४० वर्षको उमेर समूह

शारीरिक रूपमा सक्रिय रहने र वर्कआउटका लागि समय निकाल्ने।
घरमा बनेको कम क्यालोरी भएको खाना खाने।
रक्तचाप, कोलेस्ट्रोल र सुगर नियमित चेक गर्ने।
बडी मास इन्डेक्स जाँच गर्ने र तौल बढ्न नदिने।

५० वर्षको उमेर समूह

स्वस्थ जीवनशैली अपनाउने र वर्कआउटमा लापरबाही नगर्ने।
महिलाहरूले रजोनिवृत्तिपछि मुटुको स्वास्थ्यमा विशेष ध्यान दिने।
शरीरमा कुनै असामान्य लक्षण देखिएमा तुरुन्त डाक्टरलाई देखाउने।
निद्राको तरिकामा ध्यान दिने।

६० वर्षको उमेर समूह

नियमित रूपमा स्वास्थ्य जाँच गरिरहने।
आहारमा फलफूल र तरकारीको मात्रा बढाउने।
कार्डियोका साथै हल्का वेट ट्रेनिङ गर्ने।
कुनै स्वास्थ्य समस्या भएमा समयमै औषधि सेवन गर्ने।

७० वर्ष र सोभन्दा माथि

आफ्नो स्वास्थ्यमा पूर्ण ध्यान केन्द्रित गर्ने।
स्वास्थ्य अनुकूल आहार लिने र सबै औषधि समयमै खाने।
आफ्नो मेडिकल हिस्ट्रीको रेकर्ड राख्ने।
फ्लू वा निमोनिया जस्ता रोगहरू विरुद्धको खोप लगाउने।
 

सानो बानीको ठूलो फाइदा

नेशनल इन्स्टिच्युट अफ हेल्थका अनुसार, २० वर्षको उमेरदेखि नै मुटुको हेरचाह सुरु गर्दा लामो समयसम्म स्वस्थ रहन सकिन्छ। सुत्ने-उठ्ने बानी सुधारेर र जंक फुडबाट टाढा रहेर हामी आफ्नो मुटुलाई बलियो बनाउन सक्छौं।

प्रतिक्रिया