टी-२० विश्वकप २०२६: विश्वको मन जित्न सफल नेपालको ऐतिहासिक प्रदर्शन

काठमाडौं । टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ। यस प्रतिस्पर्धामा नेपालले मात्र ४ रनको हार बेहोर्नु परे पनि, नेपाल जस्तो सानो टोलीले इङ्गल्याण्ड जस्तो विश्वकप च्याम्पियनलाई निकै तनावमा पारिदियो।

टी-२० विश्वकप २०२६ अन्तर्गत आइतबार मुम्बईको वानखेडे स्टेडियममा नेपाल र इङ्गल्याण्डबीच यस्तो खेल भयो, जसले पूरै विश्वको मन जित्यो। नेपाल यो खेल मात्र ४ रनले हार्न पुग्यो, तर उसको जुझारू प्रदर्शनले दक्षिण अफ्रिकाका महान् फास्ट बलर तथा एक समयका विश्व नम्बर १ बलर डेल स्टेनलाई यति प्रभावित गर्‍यो कि उनले सार्वजनिक रूपमै नेपाली टोलीलाई कोचिङ दिने प्रस्ताव राखेका छन्।

डेल स्टेनको खुल्ला अफर

इङ्गल्याण्ड जस्तो दिग्गज टोली विरुद्ध नेपालको निडर प्रदर्शन देखेर डेल स्टेनले आफूलाई रोक्न सकेनन्। उनले सामाजिक सञ्जालमा नेपाली क्रिकेटको प्रशंसा गर्दै लेखेका छन्, 'नेपाल, यदि तपाईंहरूलाई कहिल्यै मेरो आवश्यकता परेमा म आफ्नो सेवा दिन तयार छु ! बस अझै अघि र माथि बढ्दै जानुहोस् ! विश्वका घातक बलरहरूमध्ये एक मानिने स्टेनको यो प्रस्तावले नेपाली क्रिकेट जगतमा उत्साहको लहर ल्याएको छ। यसै विषयमा प्रतिक्रिया दिँदै नेपालका फास्ट बलर नन्दन यादवले भने, 'जुन खेलाडीले १० वर्षसम्म क्रिकेटमा राज गरे, उनले हाम्रो बारेमा ट्वीट गर्नु नै हाम्रा लागि ठूलो कुरा हो।'

नन्दन यादवको सानदार स्पेल

खेलमा नेपालका तर्फबाट नन्दन यादवले उत्कृष्ट बलिङ गरे। उनले आफ्नो ३ ओभरको स्पेलमा मात्र २५ रन दिएर इङ्गल्याण्डका दुई खतरनाक ब्याटर, कप्तान जोस बटलर र ह्यारी ब्रुकलाई पभेलियन फर्काए। नन्दनको धारिलो बलिङकै कारण नेपालले इङ्गल्याण्डलाई १८४/७ को स्कोरमा रोक्न सफल भयो, जबकि एक समय अङ्ग्रेज टोलीले २०० रन कटाउने अनुमान गरिएको थियो। नन्दनले आफ्नो सफलताको श्रेय टोलीको एकता र निडर भएर खेल्ने रणनीतिलाई दिएका छन्।

वानखेडेमा नेपालको सङ्घर्ष

१८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले कहिल्यै हार मानेन। कुशल भुर्तेलले टोलीलाई आक्रामक सुरुवात दिलाए भने कप्तान रोहित पौडेल र दीपेन्द्र सिंह ऐरीबीचको साझेदारीले इङ्गल्याण्डको टोलीमा हलचल पैदा गरिदियो। खेलको अन्तिम बलसम्म रोमान्च कायम थियो। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो र पूरै वानखेडे स्टेडियम 'नेपाल-नेपाल' को नाराले गुञ्जिरहेको थियो। यद्यपि, साम कुरानले अन्तिम ओभरमा बुद्धिमानीपूर्वक बलिङ गरे र नेपाल लक्ष्यभन्दा मात्र ४ रनले टाढा रह्यो।

के स्टेन नेपालको मेन्टर बन्लान् ?

डेल स्टेनको यो प्रस्तावपछि अब सबैको नजर नेपाल क्रिकेट संघमा टिकेको छ। नन्दन यादवलाई स्टेनसँग सम्पर्क गर्ने बारे सोधिएको प्रश्नमा उनले यो पूर्णतया व्यवस्थापनको निर्णय हुने बताए। हालका लागि, नेपालको यो हारलाई पनि क्रिकेट जगतमा ठूलो जितको रूपमा हेरिएको छ, किनकि उनीहरूले पूर्व च्याम्पियन इङ्गल्याण्डलाई हारको संघारमा पुर्‍याएका थिए। स्टेन जस्ता दिग्गजको साथ पाउनु नेपाल जस्तो उदीयमान क्रिकेट राष्ट्रका लागि भविष्यको ढोका खुल्नु सरह हुन सक्छ।

प्रतिक्रिया