कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा माओवादी ‘गुलाव’ चुनावचिन्ह लिएर प्रचारप्रसारमा व्यस्त छ ।

नेकपा माओवादीले प्रचारप्रसार, जनपरिचालन र आफ्ना वैचारिक प्रस्तावहरू जनतामाझ पुर्याउने अभियान तीव्र बनाएको हो । माओवादीका महासचिव विप्लवका अनुसार माघ ६ गतेपछि नै चुनावी गतिविधि औपचारिक रूपमा सुरु भइसकेको बताए । विप्लवले भने, ‘हामीले प्रचारप्रसार, जनपरिचालन र हाम्रा विषय तथा प्रस्तावहरू जनतामा सम्प्रेषण गर्ने काम सुरु गरिसकेका छौँ। यो निर्वाचनलाई हामीले केवल चुनावका रूपमा मात्र होइन, जनताका मुद्दा उठाउने माध्यमका रूपमा लिएका छौँ।’

सडक आन्दोलन, वैचारिक संघर्ष र वैकल्पिक राजनीतिक धारबाट चिनिएका विप्लव संसदीय व्यवस्थाप्रति कडारुपले आलोचना गर्दै आइरहेका थिए । लामो समयदेखि संसदीय प्रणालीको आलोचना गर्दै आएको माओवादी अहिले निर्वाचन प्रक्रियामा सहभागी हुनुको कारण स्पष्ट भएको विप्लव बताउँछन् ।

‘संसदीय व्यवस्था सही छ भनेर स्वीकार गर्दै पार्टी निर्वाचनमा गएको होइन,’ उनले भने, ‘हामीले संसदीय व्यवस्था गलत छ र यसलाई जनताको व्यवस्थामा बदल्नको लागि संसदबाट जनताका मागहरू, मुद्दाहरू उठाउनका लागि हामी सहभागी बन्दैछौँ।’ निर्वाचन घोषणापत्र लगभग तयार भइसकेको र हाल अध्ययन तथा अन्तिम छलफलको चरणमा रहेको उनले बताए । घोषणापत्रमा शासकीय स्वरूप, प्रतिनिधिसभाको भूमिका, आर्थिक प्रणाली, समाज र राज्यको सम्बन्ध, अन्तर्राष्ट्रिय सम्बन्ध, वातावरण, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका विषय समेटिएको उनको भनाई छ ।

उनले भने, ‘खासगरी शासकीय स्वरूप अनि प्रतिनिधि सभाको विशेषता, आर्थिक प्रणाली, समाज, राज्य, त्यसको अन्तर्राष्ट्रिय सम्बन्ध, पर्यावरण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सबै विषयहरूलाई त्यहाँ समेटेर प्रस्तुत गरेका छौँ ।’ माओवादीको मुख्य उद्देश्य संसदीय व्यवस्थालाई सुधार मात्र होइन, समाजवादी व्यवस्थामा रूपान्तरण गर्नु रहेको उनले स्पष्ट पारे । ‘शक्तिअनुसार संसद बदल्ने हो । सुधार पनि गर्ने हो, तर मुख्यत: हाम्रो उद्देश्य संसदीय व्यवस्थालाई समाजवादी व्यवस्थामा बदल्नुपर्छ, रूपान्तरण गर्नुपर्छ भन्ने प्रस्ताव छ । त्यो कुरा हामी संसदमा पनि राख्छौँ,’ उनको भनाई छ ।

पार्टीको चुनाव चिन्ह ‘गुलाब’लाई लिएर समाजमा देखिएको चासोबारे उनले फरक ढंगले व्याख्या गरे। ‘एउटा गीत नै छ नि, फुलको आँखामा फुलै संसार, गुलाब पनि शान्तिको प्रतीक हो, प्रेमको प्रतीक पनि हो । यो रातो छ, क्रान्तिको प्रतीक पनि हो,’ उनले थप भने ‘यो भित्र धेरै अर्थहरू छन्, तर मुख्यतः गुलाब भनेको अहिले एउटा जनताको भावना, देशको आवश्यकतासँग जोडिएको चिन्ह बनेको छ ।’ विप्लवले घर–घरमा गुलाब चुनाव चिन्ह लिएर जाँदा सकारात्मक प्रतिक्रिया पाइरहेको अनुभव पनि सुनाए ।

नेकपा माओवादी र पुष्प कमल दाहाल ‘प्रचण्ड’ नेतृत्वबीच एकता हुने–नहुने विषय पछिल्लो समय राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रह्यो । समाजवादी मोर्चामार्फत लामो समय छलफल र गृहकार्य भए पनि अन्तत: दुवै पक्षबीच तत्काल एकता सम्भव नहुने निष्कर्षमा समेत पुगे । प्रचण्डले नेतृत्व गरिरहेका पाटी बीच एकता हुने–नहुने विषयमा चलेका चर्चाबारे पनि विप्लवले खुलेर बोले ।उनका अनुसार केही सैद्धान्तिक र वैचारिक विषय नमिलेका कारण तत्काल एकता सम्भव नभएको हो ।

नेपाली कम्युनिष्ट पार्टीसँग एकतागर्ने सन्दर्भमा प्रारम्भमा भएका छलफलहरु र एजेन्डाबारे प्रचण्ड पछि हटेपछि अहिले एकता हुन नसकेको सुनाए । ‘माक्र्सवाद, लेनिनवाद, माओवाद, आर्थिक नीति, जीवनशैली, संस्कार, आन्दोलनको शैली र संगठनात्मक प्रणालीजस्ता विषयमा हाम्रो मत मिलेन,’ उनले भने। उनले अहिलेको कम्युनिस्ट अभ्यासलाई ‘चुनाव जित्न मान्छे थुपार्ने’ मात्र भएको आरोप पनि लगाए ।

‘कम्युनिस्ट पार्टीहरुको संगठनात्मक ढाँचा हेर्दा पार्टीको कुनै मूल्य मान्यता पनि नभइ केवल मान्छे थुपार्ने र चुनाव जित्नको लागि प्रयास गर्ने जस्तो मात्रै देखिन्छ । त्यो एकता खास एकता जस्तो पनि छैन, त्यसैले हामीले हतार गरेनौं । विषयहरूलाई राम्रोसँग पार लगाएर गरौँ भन्ने हाम्रो कुरा हो,’ उनले स्पष्ट पारे । उनले एकताको विषय नसकिए पनि अहिले तुरुन्तै यो चुनावसम्म सम्भव नभएको बताए । वर्तमान सरकारको कार्यशैलीप्रति महासचिव विप्लवले कडा टिप्पणी गरे।

‘नेपालमा सरकार छ कि छैन भन्ने जस्तो अवस्था छ । एकप्रकारले यो कुसको पण्डित जस्तो हो । जनताले सरकार भएको अनुभूति नै गरेका छैनन्,’ उनले भने। उनले निष्पक्ष निर्वाचन हुने–नहुने विषयमा पनि नागरिकमा गहिरो चिन्ता रहेको बताए । ‘चुनावै पनि निष्पक्ष हुन्छ कि हुन्न भन्ने मामिलामा नागरिकहरूमा ठुलो चिन्ता छ,’ उनले भने ।

माओवादीले परिकल्पना गरेको नेपाल स्वाधीन, स्वतन्त्र र आत्मनिर्भर हुने उनको दाबी छ । ‘युवाले रोजगारी पाउने, सबैले शिक्षा र स्वास्थ्य पाउने, खुशीसाथ बाँच्न सक्ने नयाँ समाज र राज्य हाम्रो लक्ष्य हो,’ उनले भने। उनले नेपाली जनतालाई विगत १२ वर्षको संघर्ष स्मरण गर्न आग्रह गरे। ‘हामी जेल बस्यौँ, प्रतिबन्ध झेल्यौँ, घाइते भयौँ, सहिद भयौँ। यो सबै देश र जनताका लागि हो,’ उनले भने।

उनले आसन्न निर्वाचनमा नेकपा माओवादीका उम्मेदवारलाई माया मात्र होइन, जिम्मेवारी पनि दिन मतदातासँग अपिल गर्दै जनताको विश्वास बोकेर देश र जनताको सेवामा लाग्ने प्रतिबद्धता व्यक्त गरे। (नेपाल न्यूज बैंक)

प्रतिक्रिया