निर्वाचन आयोग र मतदातबीच प्रश्नोत्तर

काठमाडौं। प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सुरु गरेको कल सेन्टरले मतदाता सरोकारवालाका विभिन्न जिज्ञासाको सम्बोधन गरिरहेको छ। माघ ५ गतेदेखि आयोग परिसरमा सुरु भएको कल सेन्टरमा आइतबारसम्म ७९२ जनाले जिज्ञासा राखेका छन्।

आयोगमा प्राप्त प्रश्नमध्ये सबैभन्दा बढी मतदाता नामावलीसम्बन्धी छन्। यस अवधिमा मतदाता नामावलीका विषयमा ४२० जिज्ञासा सम्बोधन भएका छन्। यस्तै निर्वाचन आचारसंहिताका विषयमा ७२ प्रश्नको सम्बोधन भएका छन्।

मतदाता शिक्षासम्बन्धी ३६ र अन्य २६४ प्रश्नको जिज्ञासा सम्बोधन भएका छन्।

निर्वाचनलाई लक्षित गरेर आयोगले कल सेन्टरमार्फत मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइ गरिरहेको छ। हाल बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कल सेन्टर सञचालनमा रहेको छ। यो समय क्रमशः थपिँदै लगिने आयोगले जनाएको छ।

निःशुल्क टोल-फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्न सक्नेछन्। एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा रहनुपर्ने छैन। निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण अवधिसम्म कल सेन्टर सञ्चालनमा रहने छ।

कल सेन्टरमा प्राप्त केही प्रश्न र जवाफहरु

मतदाता परिचयपत्रमा बुवाको नाम फरक परेको थियो। सच्याउनको लागि निवेदन दिइसकेको थिएँ तर हालसम्म नसच्चिएको हुँदा के गर्नेहोला?

उत्तर- यहाँले निर्धारित समयमा नै आवेदन गर्नुभएको भएमा सच्चिनुपर्ने हो। सच्चिएको छ/छैन भन्ने थाहा पाउन www.election.gov.np लगइन गरी आफ्नो मतदाता नामवली हेर्नुहोला। अथवा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्नुहोला।

निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा गएर मतदाता नामावली भन्ने विकल्पमा क्लिक गरी त्यहाँ आवश्यक व्यक्तिगत विवरण भरेर अद्यावधिक भए-नभएको हेर्न सकिन्छ।

२. मतदाता नामावलीमा मृतक व्यक्तिको नाम समेत समावेश भएकोले यसको दुरुपयोग हुनसक्ने हुँदा यस सम्बन्धमा आयोगले के गर्छ?

उत्तर- सम्बन्धित स्थानीय तहमा मृत्यु दर्ता गराएका व्यक्तिको नाम मतदाता नामावलीबाट हटाइएको छ। मृत्यु भएका तर मृत्यु दर्ता नभइसकेका व्यक्तिहरुको मतदाता नामावलीबाट नहटेको हुन सक्छ। मतदान केन्द्रमा फोटोसहितको रङ्गिन मतदाता नामावली पठाइएको हुन्छ। त्यहाँ खटिएका उम्मेदवारका प्रतिनिधि र कर्मचारीले उक्त मतदाता नामावलीसँग मतदान गर्न आउने व्यक्तिको फोटोसहितको सक्कल प्रमाणपत्र र सम्बन्धित व्यक्तिको अनुहारलाई भिडाएर हेरी यकिन गरेर मात्र मतदान गर्न अनुमति दिने हुँदा यस्तो दुरुपयोग हुने सम्भावना देखिँदैन।

३. अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइन्छ कि पाइँदैन?

उत्तर- मतदाता नामावलीमा आफ्नो नाम रहेको स्थानीय तहको सम्बन्धित वडाको तोकिएको मतदान केन्द्रबाट मात्र मतदान गर्न पाइन्छ। अर्को निर्वाचन क्षेत्रबाट मतदान गर्न पाइँदैन।

४. फौजदारी अभियोग लागेर कैद भुक्तान गरेका व्यक्तिले समेत उम्मेदवारी दिएको पाइयो। यसमा आयोगले के गर्छ?

उत्तर- यस विषयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा यथाशीघ्र उजुरी/गुनासो गर्नुहोला। निर्वाचन अधिकृतको कार्यालयले छानविन गर्छ र कानुन अनुसार अयोग्य रहेको देखिएमा निजको उम्मेदवारी खारेज हुन्छ।

५. मतदाता परिचयपत्र नभएमा मत हाल्न पाइन्छ कि पाइँदैन? प्यान कार्डले भोट हाल्न पाइन्छ कि पाइँदैन?

उत्तर- मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य छ। मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया आफूसँग भएको मतदाता परिचयपत्र साथमा लिएर जानुपर्छ। तर कुनै मतदातासँग मतदाता परिचयपत्र नभएको वा नासिएको अवस्थामा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने छ।

६. मतदाता नामावली ट्रान्सफर गर्न के गर्नुपर्छ?

उत्तर- मतदाता नामावली एक स्थानबाट अर्को स्थानमा सार्न सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा रितपूर्वक अनलाइन वा प्रत्यक्ष उपस्थित भएर निवेदन दिनुपर्दछ। प्रतिनिधिसभा निर्वाचन, २०८२ को लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने र स्थानान्तरण गर्ने अन्तिम समयसीमा सकिएकाले हाल यो सेवा बन्द छ। निर्वाचन सम्पन्न भइसकेपछि मात्र सेवा लिनुहोला।

७. निर्वाचनको दिन सार्वजनिक विदा हुन्छ?

उत्तर- यस विषयमा निर्णय भइसकेको छैन। निर्वाचन आयोगको आधिकारिक सूचना हेर्दै गर्नुहोला।

८. अहिले नयाँ दल दर्ता गर्न पाइन्छ कि पाइँदैन?

उत्तर- नयाँ दल दर्ता गर्न पाइन्छ तर अहिले दर्ता भएको दलले आसन्न प्रतिनिधि सभा निर्वाचन, २०८२ मा भाग लिन भने पाइँदैन। प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय सकिएको छ।

९. मरेका व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइएको छ कि छैन ?

उत्तर- तोकिएको मितिसम्म मृत्यु भएका (स्थानीय तहमा मृत्यु दर्ता गराएका) व्यक्तिहरुको नाम मतदाता नामावलीबाट हटाइसकिएको छ।

१०. अस्थायी मतदाता को-को हुन् ?

उत्तर- व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र कानुन बमोजिम दर्ता भएका वृद्धाश्रमा बसेका व्यक्तिहरु अस्थायी मतदाताका रूपमा रहेका छन्।

११. संस्थाको नियमित साधारणसभा गर्न आचारसंहिताले रोक्छ कि रोक्दैन ?

उत्तर- गैरराजनीतिक संस्थाले आफ्नो नियमित साधारणसभा गर्न मिल्छ तर यसले निर्वाचन आचारसंहिता विपरीतका काम हुने आशंका भएमा स्थानीय प्रशासन र जिल्ला आचारसंहिता अनुमगन समितिले रोक लगाउन सक्छ। त्यसले साधारणसभालाई निर्वाचनभन्दा पछाडि सार्न वा गर्नैपर्ने भएमा अनुमतिका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरी वहाँहरुले बताए अनुसार मात्र गर्नुहोला।

१२. मतदाता नामावली कहाँबाट र कसरी पाइन्छ?

उत्तर- तोकिएको शुल्क तिरेर जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावलीको प्रतिलिपि प्राप्त गर्न सकिन्छ। तर कानुनले गोग्य राख्नुपर्ने व्यवस्था गरेका मतदाताका वैयक्तिक विवरण उपलब्ध गराइने छैन।

१३. पहिले नै तय भएको उपभोक्ता समितिको चुनाव गर्न पाइन्छ कि पाइँदैन?

उत्तर- आचारसंहिता लागू भएको हुँदा प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न नभएसम्म उपभोक्ता समितिको चुनाव गर्न पाइँदैन। प्रतिनिधि सभाको निर्वाचन सकिएपछि मात्र उपभोक्ता समितिको चुनाव गर्नुहोला।

१४. मतदानको दिन कति प्रतिशत मत खसेमा आयोगले चुनावलाई आधिकारिकताको मान्यता प्रदान गर्दछ ?

उत्तर- सकेसम्म अधिकतम मतदान हुन सकोस् भन्ने र सबै मतदाता मतदानमा सहभागी हुन भन्ने आयोगको चाहना छ। मौजुदा निर्वाचन कानुनले खस्नुपर्ने मतको न्यूनतम सीमा निर्धारण नगरेकोले जति प्रतिशत मत खसे पनि मतदान वैध हुने र मतगणनाको प्रक्रिया अगाडि बढ्ने गर्दछ।

१५. मतपत्रमा ब्रेल लिपिको व्यवस्था गरिएको छ कि छैन?

उत्तर- मतपत्रमा हाललाई ब्रेल लिपिको व्यवस्था गर्न गरिएको छैन। दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिले आफ्नो एकाघरको आफूले विश्वास गर्ने व्यक्तिलाई साथमा लिएर मतदान गर्न जान अनुरोध छ।

१६. मतदाता परिचयपत्र बनाउन के गर्नुपर्छ?

उत्तर- मतदाता नामावलीमा नाम दर्ता भएका र विगतमा मतदाता परिचयपत्र नपाएका व्यक्तिको लागि आयोगले मतदाता परिचयपत्र उपलब्ध गराउँछ। सम्बन्धित मतदान केन्द्रबाट प्राप्त गर्न सकिन्छ। यदि तपाईंको मतदाता परिचयपत्र हराएको वा नष्ट भएको छ भने नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा मतदान गर्न पाइने व्यवस्था प्रतिनिधि सभा सदस्य निर्वाचन (मतदान) निर्देशिका, २०८२ मा व्यवस्था छ।

१७. आचारसंहिता लागू भएपछि मेला महोत्सव आयोजना गर्न पाइन्छ कि पाइँदैन ?

उत्तर- निर्वाचनका गतिविधिहरुलाई बाधा अवरोध नपुर्‍याउने गरी आफ्नो स्थानीय परम्परा अनुसारका जात्रा, मेला सञ्चालन गर्न पाइन्छ तर निर्वाचन प्रचारप्रसार, मतदानलगायत निर्वाचनका कार्यक्रममा बाधा पुर्‍याउने र दलीय प्रभाव पार्ने खालका मेला महोत्सव आयोजना गर्न पाइँदैन।

१८. अस्पतालको आकस्मिक तथा अत्यावश्यक सेवामा करार सेवाको लागि विज्ञापन सूचना प्रकाशन भइसकेको अवस्थामा कर्मचारी छनोट गरी नियुक्ति दिन मिल्छ कि मिल्दैन ?

उत्तर- अस्पताल अत्यावश्यक सेवा प्रवाह गर्ने संस्था भए तापनि निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा करार सेवामा कर्मचारी छनोट एवम् नियुक्ति गर्न मिल्दैन। कुनै महामारी भएको वा काबु बाहिरको परिस्थिति उत्पन्न भएको अवस्थामा आफ्नो तालुक निकायमार्फत् निर्वाचन आयोगमा सहमतिको लागि पेस गर्न सकिन्छ। आयोगले औचित्य मूल्याङ्कन गरी सहमति प्रदान गर्न सक्छ।

१९. विद्यालयमा करार कर्मचारी नियुक्तिको लागि २०८२ साल पौष २५ गते परीक्षा भइसकेको छ? नियुक्ति दिन मिल्छ कि मिल्दैन?

उत्तर- आयोगलाई जानकारी गराई लोक सेवा आयोग, प्रदेश लोक सेवा आयोग, न्याय सेवा आयोग, शिक्षक सेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा नेपाली सेनाद्वारा नियमितरूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न पाइन्छ त्यसबाहेक नयाँ पद सृजना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्नेलगायतका कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न पाइँदैन।

२०. मैले राष्ट्रिय परिचयपत्र बनाउँदा मतदाता नामावली अद्यावधिक गरेको थिएँ। त्यो अद्यावधिक भए-नभएको कसरी थाहा पाउने?

उत्तर – निर्वाचन आयोगको वेबसाइट www.election.gov.np मा गएर मतदाता नामावली भन्ने विकल्पमा क्लिक गरी त्यहाँ आवश्यक व्यक्तिगत विवरण भरेर अद्यावधिक भए-नभएको हेर्न सकिन्छ।

२१. मतदाता परिचयपत्रमा पति-पत्नीको नाम फरक परेको छ। संशोधन गर्न मिल्छ कि मिल्दैन?

उत्तर- मिल्छ तर हाल निर्वाचन घोषणा भइसकेको हुँदा हाल यो सेवा बन्द छ। प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ सम्पन्न भएपश्चात् मात्र यो सेवा सुचारु हुन्छ। यसका लागि तपाईंले दुवै जनाको नागरिकताको प्रमाणपत्र र विवाह दर्ताको प्रमाणपत्रसहित सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन पेस गर्नुपर्दछ।

२२. मतदाता नामावली स्थानान्तरण गर्न मिल्छ कि मिल्दैन?

उत्तर- हाल निर्वाचन घोषणा भइसकेको हुँदा यो कार्य तत्काल गर्न नसकिए तापनि निर्वाचन सम्पन्न भइसकेपछि बसाइँसराईंको प्रमाणपत्र वा विवाह दर्ताको प्रमाणपत्रसहित जिल्ला निर्वाचन कार्यालय वा तोकिएका अन्य स्थानमा नाम दर्ता गर्ने अधिकारीसमक्ष अनलाइन माध्यमबाट आवेदन पेस गर्नुपर्दछ।

२३. मतदाता परिचयपत्र छ तर मतदाता नामावलीमा नाम छैन। मत दिन पाइन्छ कि पाइँदैन?

उत्तर- मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिहरुलाई मात्र मतदाता परिचयपत्र उपलब्ध गराइने भएकोले मतदाता परिचयपपत्र भएको व्यक्तिको नाम नामावलीमा कायम भएकै हुनुपर्छ। यदि यस्तो समस्या छ भने निर्वाचन आयोगको वेबसाइटमा लगइन गरेर आफ्नो नाम भए-नभएको थप यकिन गर्ने काम गर्नुहोला।त्यसो गर्दा समेत फेला नपरेमा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा यथाशीघ्र सम्पर्क गरी यकिन गर्नुहोला। मतदानका लागि आयोगबाट प्रकाशित मतदाता नामावली नै मतदान गर्न दिने आधार भएको हुँदा उक्त नामावलीमा नाम समावेश नभएमा मतदान गर्न पाइँदैन।

२४. निर्वाचनको दिन सवारी साधन चल्छ कि चल्दैन ?

उत्तर- मतदानको दिन अनुमति प्राप्त गरेका बाहेक अन्य सवारीसाधन चल्दैनन्। यस विषयमा आयोगले केही थप निर्णय गरेमा पछि जानकारी पाउनुहुनेछ।

२५. लोकसेवा आयोगको परीक्षा सर्छ कि सर्दैन?

उत्तर- निर्वाचन आचारसंहिताले लोक सेवा आयोगले लिने परीक्षा सञ्चालनमा रोक नलगाएको हुँदा वार्षिक कार्यतालिका अनुसार नियमित रुपमा सञ्चालन हुने लोक सेवा आयोगका परीक्षा निर्वाचनका कारणले सर्दैनन्। कर्मचारी निर्वाचनमा खटिनुपर्ने, सवारीसाधन नचल्ने र परीक्षार्थीलाई कठिनाइ हुने हुँदा मतदानको दिन र सो आसपासका परीक्षा भने सञ्चालन नहुन सक्छन्। यस विषयमा सम्बन्धित लोक सेवा आयोगका सूचना समेत हेर्नुहोला।

२६. म्यादी प्रहरीमा भर्ना भएको व्यक्तिले मतदानको लागि बिदामा जान मिल्छ कि मिल्दैन?

उत्तर- यस पटकदेखि म्यादी प्रहरीलाई निर्वाचन प्रहरी नामाकरण गरिएको छ। निर्वाचन सुरक्षाको विशिष्ट जिम्मेवारी निर्वाह गर्न निर्वाचन प्रहरीको व्यवस्था गरिएको हो। सामान्यतया: निर्वाचन प्रहरीले मतदानको दिन मतदान केन्द्र र आसपासका क्षेत्रमा सुरक्षा प्रदान गर्नुपर्ने भएकोले उक्त दिन मतदानको लागि आफ्नो मतदान केन्द्रमा जानको लागि बिदा उपलब्ध हुँदैन। स्रोत: निर्वाचन आयोग

प्रतिक्रिया