सर्लाही पुगेका गगन थापाको भब्य स्वागत, बारादेखि सर्लाहीसम्म कार्यकर्ताको उत्साह

काठमाडौं । भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन् ।

सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो । सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन् । कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन् । पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ । सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु ।’

यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले बताए । यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने बताएका छन् ।

सभापति थापाको स्वागतका लागि बारा, रौतहट , पर्सा र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू बिहानैदेखि सिमरा विमानस्थल पुगेका थिए । विमानस्थल ओर्लने क्रममा थापालाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको थियो। कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षणलाई प्रष्ट पारेको देखिन्थ्यो । सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरे पनि कार्यव्यस्तताका कारण उनी मनोनयनका दिन उपस्थित हुन सकेका थिएनन् ।

वारेसमार्फत मनोनयन दर्ता गराएका थापा आज पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न त्यसतर्फ प्रस्थान गरेका हुन । सिमराबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ । नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको पाइन्छ ।

प्रतिक्रिया