-राजन काफ्ले
न्यूयोर्क । न्यूयोर्क सिटीसहित अमेरिकाको उत्तर–पूर्वी क्षेत्रमा आइतबार ठूलो हिमआँधीले जनजीवन प्रभावित भएको छ ।
शनिबार रातिदेखि सुरु भएको भारी हिमपातका कारण न्यूयोर्क र न्यू जर्सी राज्यले आपतकाल घोषणा गरेका छन् भने न्यूयोर्क सिटीका सबै सार्वजनिक विद्यालयहरू सोमबारका लागि बन्द गरिएका छन् भने कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन हुने जनाइएको छ ।
न्यूयोर्कको सेन्ट्रल पार्क, म्यानहटनलगायतका क्षेत्रमा बाक्लो हिउँ जमेको छ । अत्यधिक चिसोका कारण कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तापक्रम शून्यभन्दा तल करिब माइनस १० डिग्री सेल्सियससम्म झरेको छ भने चिसो हावाका कारण अनुभूत तापक्रम माइनस १५ डिग्रीसम्म पुगेको छ ।
आइतबार साँझ ४ बजेपछि हिमपातको मात्रा केही घटे पनि पानी मिसिएको हिउँ सोमबारसम्म जारी रहने पूर्वानुमान गरिएको छ । न्यूयोर्क, न्यू जर्सी, म्यासाचुसेट्स, पेन्सिल्भेनिया, कनेक्टिकट र न्यू ह्याम्पशायरमा दैनिक जीवन कठिन बनेको छ । सडकमा हिउँ पगाल्न नुन छर्किने तथा सफाइ सवारीसाधनहरू दिनभर सञ्चालनमा रहे पनि आपतकालका कारण सवारीसाधन र मानिसहरूको आवागमन न्यून देखिएको छ ।
धेरै पसल तथा फास्ट–फुड सेवा पनि बन्द रहेका छन् । सरकारी अधिकारीहरूले आगामी एक हप्ता तापक्रम अझै घट्ने चेतावनी दिँदै नागरिकहरूलाई सतर्क रहन र न्यानो रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया